खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टीकरण सोधेको छ। कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीले खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै आफ्नो अभिव्यक्ति दिएका थिए। त्यसपछि क्यानले उनीहरूसँग स्पष्टीकरण मागेको हो।

आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन क्यानले समय दिएको एक खेलाडीले बताए। ‘खेलाडी वर्गीकरणको विषयमा मिडियामा बोलेको कारण खोज्दै हामीसँग स्पष्टीकरण माग गरिएको छ,’ उनले भने, ‘हामी स्पष्टीकरण पेश गर्ने विषयमा छलफल गर्दैछौं।’ यसअघि गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले भिडिओमार्फत् राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि प्रकट गरेका थिए। अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि गरिएको खेलाडी वर्गीकरणमा खेलाडीहरूले प्रश्न उठाएका थिए।

क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न भनेको र उक्त सम्झौताको विषयमा खेलाडीहरूलाई स्पष्ट नपारेकोमा कप्तान ज्ञानेन्द्रसहितका खेलाडीको असन्तुष्टि थियो। वर्गीकरणमा खेलाडीको श्रेणी निर्धारणमा भेदभाव भएको भन्दै केही खेलाडीले सम्झौतामा हस्ताक्षर गर्नसमेत अस्वीकार गरेका थिए।

क्यानले सन् २०२१ को सम्झौता वर्षको सुरूमै गर्नु पर्नेमा वर्ष सकिन लाग्दा गरेको थियो। ‍यो अवधिमा उत्कृष्ट खेलेका खेलाडी नै वर्गीकरणमा नपरेपछि खेलाडी असन्तुष्ट बनेका थिए।

खेलाडीहरूले यस्तो भनेका थिए, हेर्नुहोस् भिडिओ :-

खेलाडीलाई स्पष्टीकरण सोध्नुअघि क्यानको कुनै बैठक बसेको छैन। क्यानको फेसबुक च्याट ग्रुपमा भने कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीलाई स्पष्टीकरण सोध्न लागिएको जानकारी गराएका थिए। फेसबुक च्याट ग्रुपमा मल्लले स्पष्टीकरणको विषयमा पठाएको सन्देश प्राप्त भएको छ।

‘वर्गीकरणको सम्बन्धमा क्याप्टेन ज्ञानेन्द्र मल्लले असन्तुष्टि जनाई मलाई सम्पर्क गरेकोमा उनलाई स्पष्ट रूपले यो वर्गीकरण हामीले जेठ अन्तिमतिरै गरेको र पूर्ण रूपले न्यायसंगत गरेको सम्झाउँदा-सम्झाउँदै क्याप्टेन मल्ललगायत केही खेलाडीहरू जो नेपाल क्रिकेट संघको सम्झौताभित्र रहेका छन् उनीहरू सम्झौताविपरित नेपाल क्रिकेट संघको मान मर्दन हुने गरी मिडियामा गएकोमा क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यवाहक सचिव मल्लले क्यानको च्याट ग्रुपमा पठाएको लामो सन्देशको भनिएको छ।

‘सम्झौतामा रहेका खेलाडीहरू संघलाई नै कमजोर बनाउने किसिमले आफूखुसी यसरी हिँड्नुलाई गम्भीर रूपले लिँदै अध्यक्षज्यू र सबै बोर्डका सदस्यहरूको सल्लाह सुझावअनुसार नेपाल क्रिकेट संघले खेलाडीहरूलाई कडा स्पष्टीकरण सोध्ने र अगाडिको कारबाही प्रक्रिया बढाउने भएको जानकारी गराउन चाहन्छु।’

यो सन्देशपछि केही सदस्यले स्पष्टीकरण प्रक्रिया रोक्न सुझाव दिएका थिए। कोषाध्यक्ष रोशन सिंहले खेलाडीको असन्तुष्टिलाई नाटकको संज्ञा दिएका थिए। ‘क्यानभन्दा ठूलो खेलाडी होइन, खेलाडीको लागि सबैको लागि राम्रो प्रयास छ, तर नाटक किन?’, उनले प्रतिक्रिया दिएका छन्।

खेलाडी वर्गीकरणको विषयमा गत वर्ष पनि गल्ती भएको थियो। पछि क्यानले गल्ती स्वीकार गर्दै श्रेणी निर्धारणमा हेरफेर गरेको थियो। गत वर्ष पनि खेलाडीले असन्तुष्टि जनाएपछि क्यानले श्रेणी निर्धारणमा पुनरावलोकन गरेको थियो।

वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक ५० हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक ४० हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउँदै आएका छन्।

महिलातर्फ ‘ए’ श्रेणीमा रहेका क्रिकेटरले मासिक १५ हजार, ‘बी’ श्रेणीका क्रिकेटरले मासिक १२ हजार र ‘सी’ श्रेणीका क्रिकेटरले मासिक १० हजार रुपैयाँ पाउँछन्।

सुरूमा वर्गीकरणमा ढिलाइ र अहिले खेलाडीको असन्तुष्टिका कारण राष्ट्रिय क्रिकेटले गत मार्चपछिको मासिक तलब पाएका छैनन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS