दक्षिण अफ्रिकामा कोरोनाभाइरसको ‘नयाँ भेरियन्ट’ देखिएको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रामक रहेको मानिएको छ। यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा यो पाँच गुणा संक्रमण बढी संक्रामक रहेको वैज्ञानिकहरूको दाबी छ। कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा कार्यरत् अधिकारीहरूका अनुसार अहिले भारतले दक्षिण अफ्रिका तथा आसपासबाट भित्रिनेहरूलाई कडाइ थालिसकेको छ।

भारतमा दुई जना त्यस्ता बिरामी देखिएसँगै भारतले जमिनको सीमा तथा हवाई उडानमा कडाइ गरिसकेको छ। यो भेरियन्ट नेपालमा भित्रिने खतरा बढिसकेको छ। तर, नयाँ भेरियन्टको कोरोना रोकथामबारे सरकारको तयारी भने छैन।  अधिकारीहरू अहिले ओमिक्रोनबारे छलफलमात्रै गरिरहेका छन्। सिसिएमसी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमातहत छ। पहिले प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सिसिएमसी हटिसकेको छ।

पहिले पूर्वरथी बालानन्द शर्मालाई सिसिएमसीको संयोजक तोकिएको थियो। गत वर्ष जेठमा कोरोना कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको अवधि सकिएसँगै गत असोजयता केन्द्र निष्क्रिय छ।

केन्द्रमा रहेका शर्मा असोजदेखि हटिसकेका छन्। त्यसयता केन्द्रको जिम्मेवारी प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई दिइएको छ।

हाल सिसिएमसीका संयोजक रहेका न्यौपानेका अनुसार आइतबार पनि बैठक बसेको थियो। बैठकले कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको विषयमा समीक्षा गरेको छ।

‘अहिले अफ्रिकाबाट आउनेहरूलाई निगरानी राख्ने, क्वारेन्टाइनमा पठाउनेलगायत कडाइ जारी राखिएको छ,’ उनले भने।

उनका अनुसार हाल अहिले अफ्रिका सात वटा देश, युरोपका चार पाँच वटा देशसँगै इजरायल र हङकङसम्म नयाँ भेरियन्ट आएको जानकारीमा आएको छ।

‘भारतमा पनि यो भेरियन्ट भित्रिएको जानकारी समाचारबाट आएको छ, तर पुष्टि हुन सकेको छैन,’ न्यौपानेले भने।

उनका अनुसार हङकङ र इजरायलबाट भइरहेका उडान जारी भए पनि यात्रुहरू निगरानीमा छन्।

अहिले तत्कालै के गर्ने भन्ने विषयमा सिसिएमसीले आफ्नो कार्यविधि बनाएर मन्त्रिपरिषदबाट निर्णय गराएमात्र ठोस निचोड निस्कने उनले बताए।

‘अन्तर्राष्ट्रिय उडानको विषयमा के निर्णय गर्ने भन्ने विषय हामीले निर्णय गर्न सक्दैनौं, भोलिको सिसिएमसी बैठकबाट मन्त्रिपरिषदलाई सुझाव दिन्छौं,’ न्यौपानले भने।

अरू देशबाट हुने उडान तथा त्यहाँबाट फैलन सक्ने नयाँ भेरियन्टबारे पनि मन्त्रिपरिषदले नै निर्णय गर्नुपर्ने उनले बताए।

‘कार्यविधि बनाउने वा कुनै आदेश दिनुपर्ने भन्नेबारेमा सिसिएमसीको बैठकले तय गर्छ,’ न्यौपानले भने।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार सोमबार कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बोलाइको छ।

त्यसले एउटा कार्यादेश बनाएर प्रधानमन्त्री कार्यालयलाई प्रतिवेदन बुझाइने भनिएको छ। ‘हामी भोलि बैठक बस्दैछौं, त्यसले कार्यविधि बनाउने छ,’ कोइरालाले सेतोपाटीलाई भने।

अध्यागमन विभागले पनि अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने नेपालीहरूलाई निगरानीमा राख्ने गरेको बताइएको छ। विशेषगरी नयाँ भेरियन्टको संक्रमण भित्रिन नदिनका लागि अहिले संक्रमित देखिएका देशबाट आउने नागरिकलाई प्राथमिकतामा राखेर निगरानी गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए।

‘हामीले जोखिमयुक्त देशबाट आउने नागरिकलाई निगरानीमा राख्ने, क्वारेन्टाइन र आइसोलेसनमा पठाउने लगायतका कडाइ गरिरहेका छौं,’ भट्टराईले भने, ‘जोखिमयुक्त देशबाट आउने नागरिकलाई पूर्ण प्रतिबन्ध लगाउने काम सरकारको हो, सरकारले निर्णय गरेपछि मात्र हामी रोक्न सक्छौं।’

सिसिएमसीका पूर्वसंयोजक बालानन्द शर्माले नयाँ भेरियन्टलाई रोकथाम गर्न सुरूमा हवाइजहाजलाई नै नियन्त्रण गर्नुपर्ने र त्यसपछि स्थलबाट हुने प्रवेशमा कडाइ गर्नुपर्ने बताए।

उनले नयाँ भेरियन्त्र भारतमा भित्रिसकेको जानकारी आएकाले तत्कालै हवाइ र स्थलमार्ग (सीमा)मा कडाइ गर्नुपर्ने बताए।

त्यसका साथै अहिलेको भेरियन्टले खोपलाई पनि चुनौती दिने बताइएकाले सरकार नयाँ खोपको तयारीमा लाग्नुपर्ने उनले बताए।

‘आएका मान्छेहरू सबैको कभिड र एन्टिजेन परीक्षण गर्ने छँदैछ, अहिले लगाएको खोपले थेग्दैन भन्ने कुरा आएको छ। त्यसको लागि पनि नयाँ खोपको पनि तयारी गर्नुपर्छ,’ उनले भने, ‘सकभर प्रवेश नै नहोस् भनेर कडाइ गर्नुपर्छ, त्यसका लागि नाका र हवाइजहाजको इन्ट्रीलाई कडाइ गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS