बागलुङ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले डा. गोविन्द केसीले अब अनशन बस्नु नपर्ने बताएका छन् । उनले नेपालको शिक्षा र चिकित्सा क्षेत्रको सुधारमा काम थालिएको दाबी गरे । डा. केसीसँग भएको सम्झौताअनुसारको शिक्षा नीति तयार भए पनि केही प्राविधिक विषयको समस्याले कामको परिणाम नदेखिएको उनको भनाइ थियो ।

‘अब ऐन छिट्टै आउँछ, संसद् बैठक सुरु भएलगत्तै ऐन पाइन्छ,’ प्रेस सेन्टर बागलुङले आइतबार गरेको पत्रकार भेटघाटमा उनले भने, ‘विश्वविद्यालयले ३ सय बेडको अस्पताल बनाउन नसक्ने, नर्सिङ कलेजले पनि १ सय बेड बनाउन नसक्दा फेरि विद्यार्थी विदेश जानुपर्ने बाध्यता भयो । संख्या घटाएर भए पनि व्यवस्थापन गर्नुपर्छ भनेर छलफलमा छौं ।’

शिक्षालाई लिएर जिल्ला र स्थानीय तहमा भएका अन्योल पनि हटाउने प्रयास भइरहेको उनले जनाए । ‘संघअन्तर्गतको शिक्षा विकास तथा समन्वय इकाइ र गाउँ/नगर शिक्षा शाखाबीचको अधिकारको लडाइँ पनि छिट्टै अन्त्य हुनेछ । ऐनले भूमिका प्रष्ट पारेपछि यी सबै समस्या सुल्झिनेछन्,’ उनले भने ।

अर्को प्रसंगमा उनले तीनै तहको निर्वाचन एकैपटक गर्न सरकारले तयारी गरिरहेको बताए । ‘पहिला संघीय निर्वाचन भएपछि मात्रै स्थानीय तहको हुनुपर्छ भन्ने मान्यता हो,’ उनले भने, ‘यसअघि उल्टो प्रक्रिया हुँदा ऐन नियम नबनेका हुन् ।’

तपाईको प्रतिक्रिया

RELATED POSTS