झापा । नेपाली भाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपाली भाषालाई विश्वसामु चिनाउन सबै नेपाली भाषी एक भएर लाग्नु पर्ने बताउनु भएको छ ।

सिक्किमको राजधानी गान्तोकस्थित मनन भवनमा शुक्रबार हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम साहित्य उत्सव २०२१ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम, दार्जिलिङ, कालिम्पोङ र नेपालमा मात्र नभई नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई विश्वमा चिनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री गोलेले नेपाली भाषीको विश्वमा आफ्नो छुट्टै पहिचान रहेको स्मरण गराउदै त्यसलाई जीवन्त राख्न सबै नेपाली भाषी आ–आफ्नो क्षेत्रबाट कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय नेपाली भाषीले नै नेपाली भाषालाई अपहेलना गर्ने गरेको दुखेसो गर्दै उहाँले भन्नुभयो‚ ‘हामी कुनै आवेदन पत्र लेख्नुप¥यो भने अंग्रेजी भाषामा लेख्छौँ, नेपाली भाषामा लेख्दैनौँ, हामीले नै नेपाली भाषालाई अपहेलना गरिरहेका छौं ।’ आफ्नो भाषालाई आफैंले बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

भारतको संविधानको आठौँ अनुसूचीभित्र नेपाली भाषाले मान्यता पाएको स्मरण गराउँदै मुख्यमन्त्री गोलेले भारत देशको संसद्मा पनि सिक्किम र दार्जिलिङका लोकसभा सांसदले नेपाली भाषामा बोल्न पाइरहेको बताउनुभयो ।

त्यस्तै सिक्किम साहित्य उत्सवको प्रमुख आकर्षकका रुपमा नेपालका चर्चित युवा कवि नवराज पराजुली रहेका थिए । कवि पराजुलीले सिक्किमेली दर्शक श्रोतामाझ ‘जो मान्छे तिमीबाहेक अन्त सुरक्षित छैन’, म बटुवा होइन बाटो हुँ, हेप्पी बर्थडे मेरो छोरा, म एक्लै एक्लो छैनलगायतका संगीतमय कविता वाचन गरेका थिए ।

दार्जिलिङकी कवि पवित्र लामा, कालिम्पोङका कवि मनोज बोगटी र सिक्किमका प्रवीण राई (जुमेली)लगायतले पनि साहित्य उत्सवमा आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले मारुनी, भोटिया, लेप्चा नृत्य समेत प्रस्तुत गरेका थिए भने दुवै हात नभएका विक्रम भट्टराईले खुट्टाले चित्रकला प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS