क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गर्दा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा युनाइटेडले घरेलु मैदानमा आर्सनलमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्यो। ओल्ड ट्राफोर्डमा बिहीबार राति खेलको १३औं मिनेटमा मोहम्मद इलानेको पासमा इमिल सिथ रोवीले गोल गर्दै आर्सनललाई सुरूआती अग्रता दिलाएका थिए।

खेलको ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई पहिलो हाफमा १–१को बराबरीमा ल्याए। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको युनाटेडका लागि ५२औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेलमा २–१ को अग्रता दिलाए। तर त्यसको दुई मिनेटपछि मार्टिन ओडेगार्डले गोल गर्दै खेललाई पुनः२–२ गोलको बराबरीमा ल्याए। खेलको ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ को रोमाञ्चक पुनरागमन जित दिलाए ।

आर्सनलविरुद्ध दुई गोल गरेका पोर्चुगिज सुपरस्टार रोनाल्डोले आफ्नो व्यवसायिक खेल करिअरमा ८ सय गोलको आँकडा पुर गरेका हुन्। ३६ वर्षिया रोनाल्डोले करिब दुई दशक पहिले स्पोर्टिङ सिपीका लागि पहिलो व्यवसायिक गोल गरेका थिए। रोनाल्डोले क्लब र राष्ट्रिय टिमका १ हजार ९५ खेलमा ८०१ गोल गरेका हुन् ।

रोनाल्डोले म्याचेस्टर युनाइटेडका लागि आफ्नो पहिलो बसाइमा २९२ खेलमा ११८ गोल गरेका थिए । अहिले उनले १६ खेलमा १२ गोल गरिसकेका छन् ।

यस्तै उनले स्पोर्टिङका लागि ३१ खेलमा पाँच तथा रियल मड्रिडका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् । युभेन्टसका लागि १३४ खेलमा १०१ गोल गरेका रोनाल्डोले पोर्चुगलका लागि १८४ खेलमा ११५ गोल गरेका छन् ।

जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। पराजित आर्सनल २३ अंक जोडेर पाँचौ स्थानमा छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS