दाहिने आँखामा प्रेम, देब्रे आँखामा आँसु — ‘महानती’ फिल्मभित्र फिल्मकै छायांकन भइरहेको छ। निर्देशक फिल्मकी अभिनत्री सावित्रीका आँखामा यसरी नै प्रेम र आँसु चित्रण गर्न चाहन्छन्। उनी यो दृश्य यस्तरी देखाउन खोज्दै छन्, मानौं दुई आँखाबीच प्रतिस्पर्धा चलिरहेको होस्।
निर्देशकलाई लाग्छ, ग्लिसरिन प्रयोग गरेर अभिनेत्रीको देब्रे आँखामा मात्र आँसु देखाउन सके दृश्य गज्जबको हुन्थ्यो।

त्यही बेला उनका सहायक सेटमा भएको ग्लिसरिनको बोतल फुटेको जानकारी दिन्छन्। निर्देशक रिसले मुर्मुरिँदै छायांकनको काम अर्को दिनलाई सार्ने निर्णय गर्छन्। फिल्मकी अभिनेत्री सावित्री भने आफू ग्लिसरिनबिनै आँखामा आँसु ल्याउन सक्ने दाबी गर्छिन्। निर्देशक उनलाई सम्झाउन खोज्छन्, ‘मलाई दुवै आँखामा होइन, एउटा आँखामा मात्र आँसु देखाउनुछ। त्यो पनि देब्रे आँखामा मात्र। त्यसैले ग्लिसरिनबिना धेरै टेक लिनुपर्छ। भोलि गरौंला।’

सावित्री भने आफूमाथि विश्वास गर्न आग्रह गर्छिन् र भन्छिन्, ‘तपाईं निश्चिन्त हुनुहोस्, म एक टेकमै गर्न सक्छु।’ सावित्रीको हठ देखेर आजित निर्देशकले सर्त राख्छ्न्, ‘यदि एक टेकमा ओके भएन भने तिमीले क्यामरासामु उभिएर सबैका अगाडि माफी माग्नुपर्छ।’ सावित्री राजी हुन्छिन् र उल्टै सोध्छिन्, ‘तपाईंलाई कति थोपा आँसु चाहिन्छ?’

सावित्रीको प्रश्नले निर्देशक लगायत सेटमा भएका सबैलाई हैरान बनाउँछ। योभन्दा हैरानी त तब हुन्छ, जब सावित्री ग्लिसरिनबिना एक टेकमा दृश्य दिन सफल हुन्छिन्। त्यसपछि निर्देशकले भन्छन्, ‘आउने दस पिँढीसम्म जब तेलुगू फिल्म इन्डस्ट्रीमा अभिनेत्रीको नाम लिइन्छ, तिम्रो मात्र नाम लिइने छ।’

यो दृश्य ‘महानती’ फिल्मको एउटा अंश मात्र होइन, यसले महानती फिल्म जसका बारेमा बनाइएको हो, ती अभिनेत्रीको आत्मविश्वास, अभिनय क्षमता र हठको झलक पनि दिन्छ।

नाग अश्विनद्वारा निर्देशित महानती तेलुगू र तमिल फिल्मकी महान अभिनेत्री सावित्रीको जीवनमा आधारित छ। कीर्ति सुरेशले सावित्रीको भूमिका निर्वाह गरेकी छन्।

फिल्ममा दुलकर सलमान सावित्रीका प्रेमी तथा श्रीमान जेमिनी गणेशनको भूमिकामा देखिन्छन्। सामन्था र विजय देवरकोडाजस्ता चर्चित कलाकार महत्वपूर्ण सहायक पात्र बनेर आउँछन्। मूलकथा भने सावित्रीकै वरिपरि केन्द्रित छ।

सावित्री सन् १९५० र ६० दशकमा तेलुगू र तमिल भाषाका फिल्ममा एकछत्र राज गर्न सफल अभिनेत्री हुन्। उनलाई दक्षिण भारतीय सिनेमा जगतकी पहिलो महिला सुपरस्टार भनिन्छ। महानतीको अर्थ पनि महान अभिनेत्री नै हुन्छ।

सिनेमा क्षेत्रमा अझै पनि महिला कलाकारले सशक्त भूमिका र समान पारिश्रमिकका लागि संघर्ष गर्नुपर्ने अवस्था छ। सावित्रीको स्टारडम भने यस्तो थियो, उनीसँग काम गर्न त्यस बेलाका सफल निर्माता, अभिनेता, निर्देशकहरू पालो कुरेर बस्थे। उनी आफ्नो समयकी सबभन्दा महँगो पारिश्रमिक लिने कलाकार थिइन्।

बाल्यकालदेखि नै जिद्दी र स्वाभिमानी सावित्रीलाई एक दिन गाउँमा नृत्य सिकाउने गुरूले ‘तैंले नाच्न सक्दिनस्’ भनेका हुन्छन्। त्यही इखले उनी स्वअभ्यासबाट नाच्न सिक्छिन् र नाचेरै नाम कमाउँछिन्। मानिसहरू पैसा तिरेरै उनको उत्कृष्ट हाउभाउसहितको नाच हेर्न आउँछन्। यही पृष्ठभूमिले उनलाई फिल्म क्षेत्रसँग जोड्छ। सामान्य परिवारकी सावित्री बिस्तारै फिल्ममा पनि सफलताको उत्कर्षमा पुग्छिन्।

सन् १९५२ को तेलुगू फिल्म ‘पेली चेसी चोडो’ उनको मुख्य भूमिका भएको पहिलो फिल्म थियो। त्यसपछि माया बजार, देवदासु, पासामलार, पाभा मन्निप्पु, चिभाराकु, आराधना, काथिरुन्द कंगाल आदि उनका चर्चित र सफल फिल्म हुन्।

रूप र कलाकी धनी सावित्रीको निजी प्रेम र वैवाहिक सम्बन्ध पनि त्यस बेला चर्चाको विषय बनेको थियो। उनको प्रेम सम्बन्ध, उनको ठाँटबाटसहितको जीवनशैली र रक्सी पिउने बानी फिल्मी क्षेत्रमा गसिपको विषय बन्थे। उनको सफल जीवनप्रति त मानिसहरू आकर्षित थिएन नै, सँगसँगै गरिबलाई सहयोग गर्ने उनको उदार स्वभावले पनि धेरैको मन जितेको थियो।

सावित्रीले आफ्नो समयका चर्चित अभिनेता जेमिनी गणेशनसँग गोप्य विवाह गरेकी थिइन्। गणेशन सावित्रीलाई भेट्नुअघि नै विवाहित र दुई सन्तानका बुबा थिए। सावित्रीको प्रेमले त्यस बेलाको सामाजिक मान्यतालाई समेत चुनौती दिएको थियो जसको उनले ठूलै मूल्य चुकाउनुपर्‍यो।

महानतीमा सावित्रीको कला र निजी जीवनका अनेक उतारचढाव चित्रण गरिएको छ। बाल्यकालदेखि उनको अन्तिम दिनसम्मलाई सारमा देखाइएको यो फिल्मले १९४० देखि १९८० सम्मको समय समेटेको छ।

फिल्ममा सावित्रीको कथा सोझो रूपमा देखाइएको छैन। यो कथा भन्न पत्रकार बनेकी सामन्था र फोटोग्राफर बनेका विजय देवरकोडालाई माध्यम बनाइएको छ। यही कारण फिल्म लामो लाग्छ। सावित्रीको योगदानलाई अहिलेका दर्शकसमक्ष पुर्‍याउन निर्देशकले यस्तो शैली अपनाएको देखिन्छ।

कुनै पनि बायोपिक बनाउँदा पुरानो समय चित्रण गर्न कलाकारको उचित छनौट महत्वपूर्ण हुन्छ। कीर्ति सुरेशले सावित्रीको चुनौतीपूर्ण भूमिकामा प्राण हालेकी छन्। यो फिल्ममा गरेको अभिनयबाट उनले राष्ट्रिय फिल्म अवार्ड, फिल्मफेयर अवार्ड लगायत धेरै पुरस्कार जित्न सफल भएकी थिइन्। बक्स अफिसमा समेत ‘महानती’ वर्षकै सफल फिल्ममा दरिएको थियो।

खासगरी सावित्रीका पुराना र चर्चित फिल्मका दृश्य ‘रिक्रिएट’ गर्ने क्रममा कीर्ति सुरेशको अभिनयलाई समीक्षकहरूले समेत सराहना गरेका थिए। सावित्रीका श्रीमान जेमिनी गणेशनको भूमिकामा दलकर सलमानले पनि प्रभावशाली अभिनय गरेका छन्।

पुरानो समयको कथा भन्ने फिल्ममा सेट डिजाइन, संगीत, पहिरन र भेषभूषाको विशेष महत्व हुन्छ। ‘महानती’ का यी सबै पक्षले दर्शकलाई पुरानो समयमा लैजान्छ। डानी सान्चेज लोपेजको छायांकन र फिल्मको सम्पादन अब्बल छ।

सन् २०१८ मा फिल्म सार्वजनिक भएपछि ‘महानती’ का रूपमा चर्चित अभिनेत्री सावित्रीको जीवनका लुकेका र बिर्सिएका अनेक पाटाबारे बहस भएका थिए। फिल्मको सफलता पनि यही हो।

नाम, दाम र प्रतिभाले सम्पन्न सावित्रीको व्यावसायिक जीवन र निजी जीवनको कथा सिनेमाको भन्दा कम थिएन। उतारचढावले भरिएको सावित्रीको कथामा बनेको ‘महानती’ मार्फत् तपाईं एउटा रोचक कथा र इतिहासको साक्षी बन्न पाउनु हुनेछ।

(फिल्म हेर्न तल Watch on YouTube मा क्लिक गर्नुहोस्)

तपाईको प्रतिक्रिया

RELATED POSTS