अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा पढ्दै आएका करिब सात हजार नेपाली विद्यार्थी नेपालबाटै अनलाइन शिक्षा लिइरहेका छन्। कोरोनाको कारण अष्ट्रेलियाको सिमा बन्द भएको २२ महिना नाघिसक्यो। लामो समयको बन्दाबन्दीपछि अष्ट्रेलिया सरकारले डिसेम्बर १ बाट सबैलाई सिमा खुला गर्ने निर्णय गरेको थियो। तर अचानक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको लक्षण अस्ट्रेलियामा देखिएपछि केन्द्रिय सरकारले पुनः १५ दिन सिमा नखोल्ने निर्णय गर्‍यो।

सरकारको पछिल्लो निर्णयबाट अष्ट्रेलिया आउन आतुर भएका हजारौंको टिकट रद्द भएको छ। कतिपय नयाँ मिति र उडानको पर्खाईमा बसेका छन्। यसैबीच नेपालबाट पनि डिसेम्बर एकदेखि पन्ध्रसम्म करिब तीन हजार नेपाली विद्यार्थीले अस्ट्रेलियाका बिभिन्न शहर आउन हवाइ टिकट काटेका थिए। तर अचानक सरकारको नयाँ निर्णयले उनीहरूले काटेको टिकट रद्द गर्नुपर्‍यो। ‘अस्ट्रेलियन सरकारले बोर्डर खोल्ने समय अन्तिम समयमा आएर पन्ध्र दिनपछि सार्दा टिकट रद्द गर्नुपर्‍यो। मंहगो दाम हालेर किनेको टिकट पछि सार्न वा रद्द गर्न ट्राभलले आफ्नो गल्ती नभएको भन्दै तीसदेखि पचास हजारसम्म काटिदियो’, रूपन्देहीका सौरभ शर्माले भने।

अहिले नेपालबाट अस्ट्रेलिया आउन हवाइ उडानको चाप र थोरै उडान भएकाले केही मंहगो र यहाँ आउन आतुर विद्यार्थीलाई यसवाट समस्या परेको सिड्नीका ट्राभल व्यवसायमा संलग्न इर्शाद अहमदले बताए। बोर्डर खोल्दा एकैपटक सबैखाले यात्रुको ओइरो लाग्ने र थोरै उडान भएकाले पनि काठमाडौं-सिड्नीको भाडा महङ्गो भएको एनआरएनका पूर्व युवा संयोजकसमेत रहेका इर्शाद अहमदले भने।

‘अहिले काठमाडौं-सिड्नीको भाडा पनि एक लाखदेखि दुई लाखसम्म पर्छ। सिमा खुल्नासाथ एकैपटक धेरै आउन खोजेकाले टिकट महङ्गो परेको हो’, उनले भने।

केहि अघि टिकट काट्नेले सस्तोमा पनि पाएका छन् र विशेष गरी डिसेम्बर महिना नयाँ वर्षको बिदा मनाउनेको पनि भिडभाड हुने हुँदा केही मंहगो हुने इर्शादको ठहर छ । उनले सरकारको निर्णयको प्रभाव भएकोले ट्राभल एजेन्सीहरूले थप शुल्क लिन नहुने बताए।

डेढ लाख तिरेर एकतर्फी टिकट किनेकी काठमाडौं अनामनगरकी मेघना शर्मा केही हतार गर्दा पछुताउनु परेको बताउँछिन्। ‘लामो समयपछि बोर्डर खुलेको समाचारले फुरूङ्ग भएर टिकट किनिहालेँ। फेरि पन्ध्र दिन सिमा बन्द हुँदा टिकटकै लागि मोटो रकम थप्नुपर्‍यो,’ उनले भनिन्।

यसैबीच प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट अस्ट्रेलियाको सिमा नीतिमा कुनै परिवर्तन नहुने बताइसकेका छन्। ओमिक्रन भेरिएन्टका कारण केही कडा प्रतिबन्धहरू लागू हुनसक्ने हल्ला चलिरहेको बेला प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर पन्ध्रमा बोर्डर खुला हुने बताएका हुन्।

प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट अस्ट्रेलिया नडराएको बताएका छन्।

ओमिक्रन भेरिएन्टका कारण अब फेरि लकडाउनलगायतका कडा प्रतिबन्धका अष्ट्रेलियामा नहुने स्पष्ट पार्दै प्रधानमन्त्री मोरिसनले सावधानी अपनाउन र अध्ययन गर्नका लागि दुई साता मात्र सिमा नखोल्ने निर्णय गरेको बताए। प्रधानमन्त्रीको भनाईपछि अस्ट्रेलिया आउन आतुर विद्यार्थीले राहतको सास फेरेका छन्।

अस्ट्रेलियामा पनि कोरोनाको नयाँ संक्रमण देखिइसकेकाले कम्तीमा दुई साता यसको अवस्थाबारे बुझ्न र प्रभाव हेर्न समय लाग्ने हुनाले मिति सारिएको मोरिसनको भनाइ थियो। ‘लकडाउन फेरि हुनसक्ने सम्भावनालाई न्यून गर्न यो समझदारीपूर्ण कदम चाल्नु परेको हो,’ प्रधानमन्त्रीले भने।

करिब दुई वर्ष अस्ट्रेलियाको बोर्डर बन्द हुँदा तीन लाख विद्यार्थी उच्च शिक्षाका लागि आउन पाएका छैनन्। यसको प्रभाव शैक्षिक उद्योग र यससँग जोडिएका धेरैखाले व्यवसायमा परेको छ।

अस्ट्रेलियन सरकारको बोर्डर खोल्ने योजना र अन्तर्राष्ट्रिय विद्यार्थीको आगमन शैक्षिक उद्योगका लागि निकै ठूलो सकारात्मक पक्ष रहेको शैक्षिक परामर्श केन्द्र टिम कन्सल्टका कार्यकारी बुद्धी डल्लाकोटीले बताए।

अब सरकारको यो निर्णयसँगै सबैखाले वातावरण सामान्य बन्दै जाने हुनाले विद्यार्थीले धैर्य गरेर जानीबुझी मात्र निर्णय गर्न डल्लाकोटीले आग्रह गरेका छन्।

यसअघि डिसेम्बर एकदेखि अस्ट्रेलियामा झन्डै दुई लाखको हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश दिइने भएको थियो।

तपाईको प्रतिक्रिया

RELATED POSTS