एजेन्सी । पछिल्लो समय पाकिस्तानको रुपैयाँ डलरको तुलनामा रेकर्ड स्तरमा निकै कमजोर बनेको छ । शुक्रबार (हिजो) मात्रै पाकिस्तानी रुपैयाँ ०.०६ प्रतिशत घटेर १७७.७१ प्रति डलर पुगेको छ । डलरको बढ्दो माग र पर्याप्त आपूर्तिको कमीका कारण पाकिस्तानी रुपैयाँ रेकर्ड तल्लोस्तरलाई पनि पार गरिसकेको छ । पछिल्लो सात महिनादेखि पाकिस्तानी रुपैयाँ लगातार कमजोर बनिरहेको छ ।

मे १४ मा पछिल्लो २२ महिनाकै सबैभन्दा कम १५२.२७ रुपैयाँ प्रति डलर पुगेको थियो । हालसम्म यसमा १६.७ प्रतिशत अर्थात् २५.४४ रुपैयाँ गिरावट आइसकेको बताइएको छ ।

त्यस्तै पाकिस्तानको केन्द्रीय बैंकका अनुसार १ जुलाई २०२१ देखि सुरु भएको वित्तीय वर्षमा पाकिस्तानी रुपैयाँ १२.८० प्रतिशत अर्थात् २०.१७ रुपैयाँसम्म घटेको छ । साथै २०२२ को अन्त्यसम्म पाकिस्तानको रुपैयाँ डलरको तुलनामा १८०–१८५ रुपैयाँसम्म घट्ने टपलाइन सेक्युरिटीजले गरेको एक सर्वेक्षनले देखाएको छ ।

केही समय अगाडि मात्रै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएको र कर्जा बढिरहेको बताएका थिए, भने गत शनिबार मात्रै साउदी अरबले पाकिस्तानलाई तीन अर्ब डलरको कर्जा दिएको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS