अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाहको खबर सुरुमा गसिपसरह फैलिएको थियो। उनीहरुको बिहेबारे हो कि हैन जसरी हप्तौं खबरहरु आएका थिए। सबैलाई चकित पार्दै यो जोडीले सुरु गरेको वैवाहिक यात्राबारे आउने दिनहरुमा पनि चर्चा भइरहने निश्चित छ। कट्रिना-विक्कीको बिहेका तस्बिर सार्वजनिक नहुन्जेल उनका प्रशंसकहरु ‘श्वास रोकेर’ कुरिरहेको अवस्था थियो। अब विवाह समारोहका तस्बिरहरु सार्वजनिक भएपछि भने धेरैलाई एउटै प्रश्नले सताइरहेको छ। विक्की र कट्रिनाले हालसम्म फिल्ममा सँगै काम गरेका छैनन्। आखिर यो जोडीबीच बिहेको पृष्ठभूमि बन्यो कसरी?

यसको जवाफका लागि करण जोहरको च्याट शो ‘कफी विथ करण’ को फ्ल्यासब्याकमा पुग्नु पर्छ। कफी विथ करणको एउटा भागमा करणले कट्रिनालाई उनको अर्को प्रोजेक्टमा कोसँग काम गर्ने चाहना छ भनेर सोधेका थिए।
कट्रिनाले जवाफमा विक्कीको नाम लिएकी थिइन्। शोमा कट्रिनाले विक्कीसँग आफ्नो जोडी सुहाउने बताएकी थिइन्। पछि, जब विक्की र आयुष्मान खुराना शोमा अतिथिका रूपमा आए, करणले विक्कीलाई कट्रिनाको भनाइ सुनाए। त्यसबेला विक्की छक्क पर्दै र बेहोस भएको अभिनय गरेका थिए।

कट्रिनाले त्यस बेला दिएको जवाफ उनीहरुबीचको प्रेमको संकेत थियो त?

भारतीय मिडियामा आएका खबरअनुसार कट्रिना र विक्की एकसाथ पहिलो पटक फिल्म कम्प्यानियन टेप कास्टको अन्तर्वार्ताक्रममा देखिएका थिए। यही नै उनीहरुको पहिलो प्रत्यक्ष भेट मानिएको छ। शोमा उनीहरुले एकअर्कालाई आफ्नो परिवार, साथीभाइ र सिनेमा क्षेत्रमा काम गरेको अनुभवबारे प्रश्न सोधेका थिए।

फिल्म कम्प्यानियनले कहिल्यै सँगै काम नगरेका वा एकअर्कालाई राम्ररी नचिनेका कलाकारहरूबीच ‘आइस ब्रेकर’ को रूपमा काम गर्ने लक्ष्य राखेको छ। कट्रिना-विक्कीको बिहेको खबर चलेसँगै उनीहरुको त्यो अन्तर्वार्ता सामाजिक सञ्जालमा धेरैले सेयर गरेका थिए।

त्यसपछि, यो जोडी बिस्तारै विभिन्न अवार्ड समारोहमा देखिन थाल्यो। तर उनीहरूले कहिल्यै आफ्नो सम्बन्ध स्वीकार गरेनन्। केही पटक विक्कीले कट्रिनासँग स्टेजमा फ्लर्टसमेत गरेका थिए। एक पटक कट्रिनालाई राम्रो विक्की कौशल खोजेर विवाह गर्न पनि भनेका थिए।

शेरशाहको स्क्रिनिङमा सँगै उपस्थित भएका कट्रिना र विक्की निजी रुपमा पहिलो पटक एक जना साथीको दिवाली पार्टीमा सँगै देखा परेका थिए।

तपाईको प्रतिक्रिया

RELATED POSTS