नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका हुन्।

अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाए।

अध्यक्ष प्रचण्डले शेयर बजारप्रति लक्षित गर्दै पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताए। उनले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आइएमएफ, विश्व बैंक र एसियाली बैंकमा हुने गरेको बताए।

‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनु हो। उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ। अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आइएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ। हामीले यी बैंकले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं,’ अध्यक्ष प्रचण्डले भने,‘तर, त्यस्तो होइन। यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विकसित रूप हुन्। यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो।’

अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरूरी भएको बताए। उनले यस प्रकारमा विकृतिको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादी आएको बताए। यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि नआउने बताए।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS