भारतमा चर्चित निर्देशकका रुपमा चिनिने यश चोपडाले थुप्रै राम्रा फिल्म बनाएका छन्। तीमध्ये उनको निर्देशनमा बनेको एउटा परिचित फिल्म हो ‘सिलसिला’। सन् १९८१ मा रिलिज भएको यस फिल्ममा बलिउडका ठूला कलाकार शषि कपुर, अमिताभ बच्चन, जया बच्चन र रेखाको मुख्य अभिनय थियो। सिलसिला तीन मुख्य पात्रबीचको प्रेम कथामा आधारित छ। कयौंले यो फिल्म अमिताभ, जया र रेखाको वास्तविक जीवनको सम्बन्ध झल्काउने फिल्म पनि भन्ने गरेका छन्। किनकी, त्यसबेला अमिताभ र जया वैवाहिक सम्बन्धमा रहे पनि अमिताभ रेखासँग प्रेममा रहेको हल्ला थियो। यो हल्लाले अमिताभ र जयाको सम्बन्धमा खटपटसमेत आएको भनिन्छ।

अमिताभ, जया र रेखाको सम्बन्धको लफडाबारे बलिउडमा व्यापक चर्चा भइरहेको बेला निर्देशक चोपडाले कसरी यी तीन कलाकारलाई सँगै अभिनय गर्न मनाए होलान् त? निर्देशक चोपडाको उद्देश्य दर्शकको मनमस्तिष्कमा रहिरहने फिल्म सिर्जना गर्नु थियो। सुरुमा उनले सिलसिलामा अमिताभ बच्चनसँगै अभिनेत्री परवीन बाबी र स्मिता पाटिललाई चुनेका थिए जुन उनी आफैंलाई चित्त बुझेको थिएन। त्यसैले उनले ती दुई अभिनेत्रीलाई हटाएर जया र रेखालाई अभिनय गराउने योजना बनाए।

जया र रेखालाई फिल्मको प्रस्ताव राख्नुअघि उनले अमिताभसँग यसबारे कुरा गरेका थिए। दुई अभिनेत्रीलाई सँगै अभिनय गराउने सोचमा निर्देशक चोपडा डराएका पनि थिए।  ‘मैले जया र रेखालाई सँगै अभिनय गराउने कुरा राख्दा अमिताभ केहीबेर चुप लागेर बस्नुभयो,’ बिबिसीसँगको अन्तर्वार्तामा निर्देशक चोपडाले भनेका थिए, ‘पछि उनी यो कुरामा सहमत भए, तर यसको लागि जया र रेखालाई सम्झाउनु पर्ने बताए। यी तीनको वास्तविक जीवनको कथा मेरो फिल्ममै झल्किने सोचले म अलिकति डराएको थिए। त्यसैले सुटिङको बेला केही समस्या नआओस् भनेर मैले जया र रेखा दुबैसँग कुरा गरे।’

सुरुमा जयाले सिलसिलाको प्रस्ताव अस्वीकार गरेको भनिन्छ, तर फिल्मको क्लाइमेक्सले उनको सोच परिवर्तन गरेको र अन्तिममा उनी फिल्म खेल्न मानेको कोइमोइले लेखेको छ।

निर्देशक चोपडाको सन् २०१२ मा निधन भएको थियो। उनको निर्देशनमा बनेको अन्तिम फिल्म ‘जब तक हे जान’मा साहरुख खान, कट्रिना कैफ, अनुष्का शर्मा, ऋषि कपुर र नितु सिंहको अभिनय थियो।

अभिनेत्री जया करण जोहरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’मा देखिँदै छिन्। यो फिल्ममा रनवीर सिंह, आलिया भट्ट र धर्मेन्द्रको पनि मुख्य अभिनय देख्न पाइने छ।

तपाईको प्रतिक्रिया

RELATED POSTS