काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले एउटा नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु राम्रो नभएको बताएका छन् । सोमबार बिमा समितिको नयाँ भवनको शिलान्यास कार्यक्रममा शर्माले यस्तो बताएका हुन् । यसअघि शनिबार पार्टीको प्रदेश सम्मेलनका क्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीवादको विकासले जनताको हित नगर्ने बताएका थिए । कुनै नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु भनेको समग्र पुँजी बजारको संरचना र स्थायित्वमा प्रश्न उठेको शर्माले बताए । एउटा मन्त्रीले सेयर बजार बढाउने वा घटाउने काम नगर्ने भन्दै उनले थपे, ‘हाम्रो सेयर बजार नीति निर्देशनबाट भन्दा पनि हल्लाको भरमा चलेको देखियो । बजारलाई यस्ता गतिविधिले प्रभावित गर्न नसक्ने बनाउनुपर्छ ।’

त्यस्तै उनले कोरोना बिमामा सरकारले तिर्नुपर्ने दायित्व छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए । मापदण्ड अनुरुप सरकारले दिनुपर्ने रकम नदिएकै कारण विगत एक वर्ष देखि बिमितले दाबी भुक्तानी नपाइरहेको अवस्थामा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । बिमा समितिले हचुवाको भरमा कोरोना बिमा पोलिसी ल्याएकाले भुक्तानीमा सरकारलाई ठूलो आर्थिक भार परेको उनले आरोप लगाए । कोरोना बिमा पोलिसीलाई लक्षित गर्दै उनले भने, ‘अब कुनै पनि पोलिसी ल्याउँदा त्यसको असरबारे २० पटक सोच्नुस् ।’ यद्यपि कोरोना बिमाको रकम भुक्तानीबारे अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको उनले दोहोऱ्याए ।

सोही क्रममा लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुखको नियुक्ति प्रक्रिया पनि अन्तिम चरणमा रहेको उनले बताए । यस्तै, नेपाली कम्पनीमा मात्र पुनर्बीमा गर्नुपर्ने बिमा समितिको पछिल्लो निर्देशन सम्बन्धमा पनि अर्थमन्त्रालयले अध्ययन गरिरहेको शर्माले जानकारी दिए । बिमा समितिले ललितपुरको कुपण्डोल अत्याधुनिक भवन निर्माण गर्न लागेको छ । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास तथा भवन निर्माणमन्त्री रामकुमारी झाँक्रीले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् । १० रोपनी क्षेत्रफलमा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा उक्त भवन बनाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS