काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अब आफूले हिन्दी लगायत विदेशी गीतमा टिकटक नबनाउने बताएकी छन् । नेपाली भाषा, संस्कृतिको जगेर्नाका लागि भएपनि कलाकारले यो अभियान चलाउनुपर्ने उनको भनाइ छ । काठमाडौंमा आयोजना गरिएको ‘नेपाली संस्कृति बचाऔं महाअभियान-२०७८’को घोषणा कार्यक्रममा बोल्दै दीपाले भनिन्, ‘अहिलेको पुस्ताले नेपाली भाषा नै बिर्सिन थालेका छन् । हिन्दी र अंग्रेजीमै बोल्ने, यिनै भाषाका चलचित्र हेर्ने गर्छन् । यसैले यो अभियानको थालनी कलाकारबाट नै गर्नुपर्छ भन्ने लागेर मैले शुरु गरेकी हुँ ।’

दीपाले आफ्नो टिकटक एकाउण्टबाट अब दर्शकले विदेशी गीतमा भिडियो नदेख्ने पनि बताइन् । उनले अगाडि भनिन्, ‘कुनै विदेशी रियालिटी शोमा हाम्रो देशका भाइबहिनीहरु पुग्दा उनीहरुले नेपाली हुँ भन्दा हामीलाई गर्व लाग्छ । यसैले सबै ठाउँमा हाम्रो भाषालाई गर्व गर्नलायक बनाउन आवश्यक छ ।’

सोमबारबाट यो अभियानको शुरुआत गरेको बताउँदै दीपाले अनलाइनखबरसँग भनिन्, ‘आज एउटा कार्यक्रममा पुग्दा केही भाइबहिनीहरुले हिन्दी गीतमा टिकटक बनाउन आग्रह गरेका थिए । मैले हिन्दी गीतमा नबनाऔं भनेर आग्रह गरें ।’ परिवर्तन नेपाल नामक संस्थाले यो अभियान शुरु गरेको हो । अभियान अन्र्तगत नाटक मञ्चनदेखि चलचित्र निर्माण समेत हुने बताइएको छ ।

यस महाअभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने बताए । यस्तै उपत्यकाका विभिन्न स्थानमा अभियन्ताहरुले मौन प्रदर्शन र अपील गर्ने, समाजका विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम राखिएको निरौलाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । यो अभियानमा संयोजक मोहन निरौला छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणि घिमिरे सदस्य छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS