एजेन्सी । तश्वीरमा हेडफोन लगाएका व्यक्ति अब यस दुनियाँमा छैनन् । २६ वर्षे झोउ पेङ नामका यी व्यक्तिको हत्यापछि लैङ्गिक मान्यताको विवाद चुलिएको छ । केटीजस्ता देखिने यी युवकले लैङ्गिकताकै कारण हिंसाको शिकार हुनुपरेको बताइन्छ । ‘केटाहरु बदमास हुनुपर्छ, झगडा गर्ने र धमास दिने उनीहरुको स्वभाव हो । केटाहरु धेरै शान्त छन् भने उनीहरुलाई कायर भन्ने गरिन्छ ।’ –पूर्वी झेजियाङ प्रान्तका झोउले आत्महत्या टिपोटमा लेखेका छन् । यस प्रकारको भावना व्यक्त गरेको भोलिपल्ट उनको लास फेलापरेको छ ।

उनी बसाइँसराइ गर्दै त्यहाँ पुगेका बाबुआमाको सन्तान भएको र उनले आफूलाई परित्यक्त किशोरका रूपमा हेरेको पनि आत्महत्या टिपोटमा उल्लेख छ । उनले आफूमाथि सबैले हेपाहा व्यवहार गरेको र यसका पछाडिका कारण उनले आफू आम युवकजस्तो नभएकाले नै हो भनेका छन् ।

‘म सायद केही मात्रामा केटीजस्तै देखिन्छु, सानै हुँदादेखि नै मैले आफूलाई सामान्य देखिने पहिरन लगाएँ, केटीले जस्तो व्यवहार त गर्दै छैन भनेर सतर्क भएँ ।’ –झोउ पेङले लेखेका छन् । उनले लुडाओसेन उपनामका फोटोग्राफरले खिचेको यस तश्वीरका साथ अनलाइनमा विवरण दिँदै भनेका छन्– ‘मैले आफूलाई सामान्य राख्ने प्रयास गर्दागर्दै पनि विद्यालयमा मलाई मौखिक अपमान, बहिष्करण, धम्की… सबै प्रकारका दुव्र्यवहारको शिकार हुनुपर्यो ।’

झोउको मृत्युका सम्बन्धमा स्थानीय प्रहरीले थप जानकारी नदिए पनि ‘यो अरूबाट भएको हत्या होइन’ भनेको छ । ५ हजार शब्दको उनको पीडादायी पत्र लाखांै सामाजिक सञ्जालका प्रयोगकर्ताले सार्वजनिक गरेका छन् । संसारमा आत्महत्या गर्नेहरुको विश्लेषण गर्दा उनीहरुको मानसिक स्वास्थ्य र दबाबको अवस्थालाई कारणका रूपमा देखिने, यस घटनालाई पनि लैङ्गिकताभन्दा आम रूपमा हेरिनुपर्ने तर्क पनि दिएको देखिन्छ, तर चिनियाँ समाजमा पुरुष कस्तो हुनुपर्छ, सामाजिक मान्यताका विषयमा बहस चलेको छ ।

‘झोउ नरम स्वभावका भद्र व्यक्ति देखिन्छन्, यी सबै राम्रा गुण हुन्, तर पनि उनी आक्रमणमा परे, किनभने उनमा परम्परागत पुरुषत्वका गुण थिएनन् ।’ –सामाजिक सञ्जाल विबोका एक प्रयोगकर्ताले लेखेका छन् ।

‘झोउको नरम बोली र स्वभाव देखेर कति केटाहरु हाँसे होलान्, तर हामी को हौं, यो सही र यो गलत भन्ने ।’ –अर्का व्यक्तिको टिप्पणी छ । हाम्रो मान्यतालाई ‘लज्जाजनक’ भन्ने सामाजिक सञ्जालका प्रयोगकर्ता धेरै देखिएका छन् ।

‘मलाई पछाडि फर्केर हेर्दा आफ्नै विगतको व्यवहारसँग लाज भइरहेछ, म पनि कतिलाई उपहास गर्थें, हाँस्थें तर त्यसको परिणाम यति भयानक होला भन्ने मैले सोचेकै थिइनँ ।’ –अर्का व्यक्तिको आत्मालोचना पनि छ ।

यसबीच एक बालबालिका तथा युवासँग सम्बन्धित संस्थाले दादागिरीपूर्ण व्यवहारका विषयमा सर्वेक्षण गरेको छ, ३ हजार सहभागीमा गरिएको सर्वेक्षणको परिमाणले ३५ प्रतिशतभन्दा बढी उत्तरदाताले परम्परागत हेपाहा प्रवृत्तिको शिकार भएको जनाएका छन् भने ३१ प्रतिशतभन्दा बढीले ‘साइबर बुलिङ’ को शिकार हुनुपरेको जनाएका छन् ।

सर्वेक्षणको निष्कर्ष छ– बोर्डिङ स्कुलमा पढ्ने केटाहरु जसको पढाइ कमजोर छ र आफ्ना बाबुआमासँग राम्रो सम्बन्ध पनि छैन, उनीहरु बढी हेपाहा प्रवृत्तिको शिकार भएका छन् ।

चीनमा खेलकुदलगायतका कतिपय क्षेत्रमा ‘कमजोर पुरुष’ लाई अवसर छैन भनेर आधिकारिक रूपमै उल्लेख गरिने कारणले पनि समाजमा परम्परागत पुरुषत्व हावी छ । राष्ट्रपति सी जिन पिङले बाह्य कतिपय मुलुकमाथि हेपाहा प्रवृत्तिका साथ दिने अभिव्यक्तिले पनि समाजमा नकारात्मक पुरुषत्व हावी रहेको टिप्पणी पनि सामाजिक सञ्जालका प्रयोगकर्ताको छ ।

तर, लु हाजजस्ता सार्वजनिक क्षेत्रमा लोकप्रिय व्यक्तिले परम्परागत महिलाको जस्तो कुण्डल लगाएर र कपाल मिलाएर चिनियाँ परम्परागत पुरुषत्वको मान्यतालाई चुनौती दिइरहेका छन् । सार्वजनिक सञ्चारमाध्यममा आउने उनीहरुको व्यक्तित्वका कारण क्रमशः परम्परागत पुरुषत्वमाथि आवाज उठिरहेको छ । बीबीसी

तपाईको प्रतिक्रिया

RELATED POSTS