कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको विषयमा गरिएको नयाँ रिपोर्ट सार्वजनिक भएको छ । हङकङ युनिभर्सिटीका वैज्ञानिकले कोरोनाको मूल रुप र डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट शरीर भित्र ७० गुणा तीब्र गतिमा फैलिन्छ । यसले मानिसको सास नलीमार्फत् फोक्सोसम्म पुग्ने गर्छ । यद्यपि, यसले फोक्सोलाई बढी हानी गर्ने खतरा पछिल्ला भेरियन्टको तुलनामा कम छ ।

यसरी भयो अनुसन्धानः

हङकङ युनिभर्सिटीका अनुसन्धानकर्ताले ओमिक्रोनका बिरामीमाथि अनुसन्धान गरे । अनुसन्धानमा पाइए अनुसार ओमिक्रोनले मानिसको सास नलीमा आक्रमण गर्छ । यो फोक्सोसम्म पुग्ने बाटो हो । २४ घण्टाभित्र नै ओमिक्रोन यहाँ तीब्र रुपमा बढिसकेको थियो । यो कोरोनाको मूल रुप र डेल्टा भेरियन्टको तुलनामा ७० गुणा तीब्र थियो ।

अनुसन्धानमा बताइए अनुसार ओमिक्रोन भेरियन्टले फोक्सोलाई बढी हानी गर्दैन । सास तन्त्रमा यसको प्रभाव अन्य भेरियन्टभन्दा १० गुणा कम छ । यसले गम्भीर रुपमा बिरामी हुने खतरा कम छ ।

प्राध्यापक माइकल चेन ची–वाईलाई विश्वास गर्ने हो भने ओमिक्रोन खासै घातक छैन तर यसको संक्रमण फैलने गतिले मानिसलाई तनावमा पार्न सक्छ । यसका कारण हुने मृत्युको खतरा अझै रोकिएको छैन । माइकलका अनुसार यसले भ्याक्सिनलाई पनि झुक्याउन सक्छ ।

ओमिक्रोनको लक्षण कस्तो हुन्छ ?

दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन भेरियन्टका केही लक्षण कोरोनाको मूल रुप जस्तै छ । यसमा बिरामीलाई सुख्खा खोकी, घाँटी खसखस हुने, मांसपेशीमा दुखाई, अत्यधिक थकान, टाउको दुख्ने र ज्वरो आउने हुन्छ । साथै, स्वाद र गन्ध हराउनु पनि ओमिक्रोनको सबैभन्दा पहिलो लक्षण हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS