चारजना राष्ट्रिय क्रिकेट खेलाडीलाईपदमुक्त गरेपछि चौतर्फी दबाबमा परेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले खेलाडीहरूसँग वार्ता गर्ने तयारी सुरु गरेको छ । वार्ताका लागि क्यानले खेलाडीहरूसँग सम्पर्क गरिरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले रातोपाटीलाई जानकारी दिए ।

गत मङ्सिर २९ गते क्यानले अनुशासन उल्लङ्घन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सहभागी नगराउने निर्णय गरेको थियो । तर, क्यानको उक्त निर्णय विवादित बन्न पुग्यो । खेलाडीमाथि गरिएको कारबाहीप्रति उद्योगी÷व्यवसायी, कलाकार, पूर्व खेलाडी, राजनीतिक दलका नेता तथा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरे । उनीहरूले सामाजिक सञ्जालमार्फत क्यानलाई तत्काल आफ्नो निर्णयबाट फिर्ता हुनुपर्ने माग राखेका थिए ।

आलोचना बढ्न थालेपछि प्रधानमन्त्री र खेलकुद मन्त्रीदेखि सत्तारुढ दल नेकपा माओवादी (केन्द्र)का अध्यक्षसमेतले चासो देखाए । क्यानले खेलाडीलाई कारबाही गरेको जानकारी पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर यसबारे सोधिखोजी गरेका थिए । प्रधानमन्त्रीले फोनमा भनेका थिए, ‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुस् है ।’ नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटमा क्यान विवादबारे सोधिखोजी गरेपछि प्रधानमन्त्री देउवाले चन्दलाई फोन गरेर विवाद सुल्झाउन निर्देशन दिएका थिए ।

यस्तै, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले समेत यस विषयमा असन्तुष्टि पोखिसकेका छन् । उनले पुस २ मा क्यानका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर विवाद तत्काल सुल्झाउन समेत भनेका थिए । मन्त्री गहतराजले भनेका थिए, ‘नेपाललाई खेलमार्फत विश्वसामु चिनाएका खेलाडीलाई दुरुत्साहित हुने गरी कारबाही गरिनु गलत हो ।’ मन्त्री गहतराजले खेलाडीको वर्गीकरण प्रक्रियामा समेत चासो राख्दै यसबारे बुझ्ने प्रयास गरेको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS