रणवीर कपुर र आलिया भट्ट दुई वर्षदेखि रियल-लाइफ रोमान्समा छन्। उनीहरूको अफेयर चलिरहेको जगजाहेर छ। धेरै पत्रपत्रिकाले उनीहरूको रोमान्सका किस्सा-कहानी छापेका छन्। उनीहरू सँगसँगै घुम्न गएका तस्बिर पनि सार्वजनिक भएका छन्। रणवीर र आलियाले नै धेरै अन्तर्वार्तामा आफूहरू एकअर्कासँग डेट गरिरहेको स्वीकार गर्दै छिट्टै बिहे गर्ने संकेत दिइसकेका छन्। तर बलिउडको यो मायालु जोडी अब एकसाथ एकै समारोहमा सँगसँगै देखिने छैनन्।

यसको मतलब के रणवीर र आलियाको ब्रेकअप भएको हो?

होइन, उनीहरू सार्वजनिक समारोहमा सँगसँगै नदेखिनुको कारण ब्रेकअप होइन। उनीहरूलाई अबदेखि कुनै पनि कार्यक्रममा सँगसँगै नजानू भनेर कसैले उर्दी जारी गरेका छन्। र, यी दुवै अभिनेताले त्यो उर्दी मान्ने सहमति जनाइसकेका छन्।

फेरि प्रश्न उठ्छ, कतै कपुर परिवारले त उनीहरूलाई बिहे अगाडि सँगसँगै हिँडडुल गर्न पाबन्दी लगाएन?

त्यस्तो त किन होस्! बलिउडकै सबभन्दा ठूलो पारिवारिक घरानाले यतिसम्म संकुचित विचार किन राख्थ्यो!

त्यसो भए के आलियाको परिवारले उनलाई बन्धनमा बस्न उर्दी लगायो?

त्यो पनि कसरी सम्भव होला! महेश भट्टजस्ता उदार बाबु र पूजा भट्टजस्ती उदार दिदीले परिवारकी कान्छी सदस्यमाथि यो हदसम्मको रोकतोक लगाउला भन्नु त कल्पनाभन्दा टाढाको कुरा!

त्यसो भए के कारण हो त जसले रणवीर र आलिया अबदेखि सँगसँगै बाहिर निस्कन, हिँडडुल गर्न वा कम्तीमा सार्वजनिक समारोहमा देखिन पाउने छैनन्?

उनीहरूलाई यो उर्दी दिएका हुन् निर्देशक आयान खानले जसको बहुप्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ सन् २०२२ सेप्टेम्बर ९ मा रिलिज हुँदैछ।

‘ब्रह्मास्त्र’ मा रणवीर र आलियाले पहिलोचोटि सँगसँगै अभिनय गर्दै छन्। रियल लाइफको यो जोडीलाई बलिउडमा पहिलोपटक रिल लाइफमा सँगसँगै खेलाउन लागेकाले निर्देशक आयान यो जोडीको ‘फ्रेसनेस’ कम नहोस् भन्ने चाहन्छन्।

फिल्म रिलिज हुनुअघि नै उनीहरू सार्वजनिक समारोहमा धेरै देखिन थाले उनीहरूको तस्बिर जतासुकै सार्वजनिक हुने र यसले जोडीको ‘फ्रेसनेस’ गुम्ला भन्ने आयनलाई डर छ।

खासमा भन्ने हो भने निर्देशक आयान रणवीर र आलियाको रियल लाइफ रोमान्सबाट आफ्नो फिल्मलाई व्यावसायिक लाभ होस् भन्ने चाहन्छन्। फिल्मको सम्पूर्ण बोझ आफ्नो काँधमा बोक्ने निर्देशकले यस्तो अपेक्षा राख्नु गलत पनि होइन। त्यसैले उनको उर्दी वा आग्रहलाई रणवीर र आलियाले खुसीसाथ स्वीकार गरिसकेको बलिउड गतिविधिहरू प्रकाशन गर्ने बलिउड हंगामा डटकमले जनाएको छ।

आयान मुखर्जीले यसअघि ‘यह जवानी है दिवानी’ र ‘वेक अप सिद’ बनाएका थिए। यी दुवै फिल्ममा रणवीरले मुख्य भूमिका निर्वाह गरेका छन्।

बलिउड हंगामा डटकमका अनुसार निर्देशक आयानले केही दिनअघि हैदराबादमा आयोजित ‘ब्रह्मास्त्र’ को पोस्टर रिलिज समारोह क्रममा रणवीर र आलियालाई सँगै राखेर आफ्नो प्रस्ताव सुनाएका थिए।

रणवीरसँग निकट सम्बन्ध रहेका आयानले भने, ‘मैले चार वर्षअघि जब तिमीहरूलाई यो फिल्मको निम्ति अनुबन्ध गरेको थिएँ, रियल लाइफमा तिमीहरूबीच रोमान्टिक सम्बन्ध थिएन। मैले फिल्मको कथावस्तुसँग मिल्दोजुल्दो देखेर तिमीहरूलाई लिएको हुँ। तर यो चार वर्षमा तिमीहरूको अफेयर भयो, तिमीहरू एकअर्कासँग डेट गर्न थाल्यौ। तर अब जबसम्म यो फिल्म रिलिज हुँदैन, तबसम्म दर्शकहरूको निम्ति तिमीहरूको जोडीलाई म फ्रेस राख्न चाहन्छु।’

उनले अगाडि भने, ‘तिमीहरू सार्वजनिक समारोहमा जति धेरै सँगसँगै देखिन्छौ, तिमीहरूको जोडी उति धेरै सामान्य हुँदै जान्छ। तिमीहरूको रियल लाइफ रोमान्सबारे सबैलाई थाहा भइसकेकाले अब तिमीहरूको जोडी एकैचोटि पर्दामा सँगै देखियोस् भन्ने म चाहन्छु। ‘ब्रह्मास्त्र’ रिलिज हुनुअघि तिमीहरूको जोडीलाई सार्वजनिक रूपमा कसैले पनि कहीँ पनि नदेखोस् भन्ने मेरो आग्रह छ।’

फिल्मको व्यावसायिक सफलतासँग जोडिएको आयानको यस्तो आग्रह रणवीर र आलियाले स्वीकार गरे।

यसअनुसार अब यो जोडी गुपचुप रूपमा त भेट्छन् तर उनीहरूलाई सार्वजनिक रूपमा फिल्म रिलिज नभएसम्म देख्न पाइने छैन।

‘ब्रह्मास्त्र’ रिलिज हुन झन्डै १० महिना बाँकी छ। यसअनुसार अबको १० महिना सार्वजनिक रूपमा सँगै नदेखिनु वा कम्तीमा क्यामराको लेन्सले पछ्याइरहेको ठाउँमा सँगसँगै उपस्थित नहुनु रणवीर र आलियाको निम्ति चुनौतीपूर्ण हुनेछ।

यसबारे टिप्पणी गर्दै बलिउडका अर्का चर्चित निर्देशक करण जौहरले भनेका छन्, ‘आयान यो जोडीलाई बचाएर राख्नमा एकदमै गम्भीर छन्। तर मेरो विचारमा उनको फिल्म केही वर्षअघि रिलिज भइदिएको भए त्यति बेला उनको यो फर्मुला उपयुक्त हुन्थ्यो होला। अहिले आएर रणवीर र आलियाको जोडीलाई गोप्य राख्नु व्यर्थको कुरा हो। सबैलाई थाहा भइसकेको प्रेमकथा लुकाउनुको अर्थ के?’

‘ब्रह्मास्त्र’ मा अमिताभ बच्चन, नागार्जुन लगायतले पनि अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS