तेलुगू भाषामा निर्माण गरी हिन्दीमा डब गरिएको अल्लु अर्जुनको ‘पुष्पा: द राइज’ शृंखलाबद्ध फिल्म हो। यसको पहिलो भाग गएको शुक्रबार रिलिज भएको छ। यसले प्रदर्शनको छ दिनमै भारत लगायत संसारभरि १८९ करोड भारू कमाएर बक्स अफिसमा नयाँ तरंग ल्याएको छ। यस आधारमा भोलि शुक्रबारको समेत व्यापार जोड्दा पुष्पाले सात दिनमै २०० करोड कारोबार गरेर रेकर्ड राख्न लागेको बलिउड गतिविधिबारे रिपोर्टिङ गर्ने पिंकभिला डटकमले जनाएको छ।

यही गतिमा अगाडि बढे यो फिल्मले यसै वर्षभित्र वा अर्को वर्ष पहिलो महिनाको आधाआधीमै ‘सूर्यवंशी’ को रेकर्ड तोड्ने अनुमान छ। कोरोना महामारी र लकडाउनका कारण शिथिल हुन पुगेको बलिउड बक्स अफिसलाई अक्षय कुमार अभिनीत ‘सूर्यवंशी’ ले धमाकेदार ओपनिङ दिएको थियो। नाेभेम्बर ५ मा रिलिज यो फिल्मले ४५ दिनमै झन्डै तीन सय करोड भारूको व्यापार गरिसकेको छ।

बलिउडका ‘हिट मसिन’ रोहित सेट्टीको सूर्यवंशीले डेढ महिनामा जति कारोबार गर्‍यो, त्यसको रेकर्ड सन् २०२१ मा रिलिज हुने कुनै फिल्मले सायदै तोड्ला भनेर बलिउड बक्स अफिसका विश्लेषकहरूले भनेका थिए। उनीहरूको अनुमान गलत साबित गर्ने गरी तीव्र रफ्तारका साथ अगाडि बढ्दैछ, पुष्पा। तेलुगू फिल्मका सुपरस्टार अल्लु अर्जुनको यो फिल्मको ओपनिङ नै धमाकेदार भयो। शुक्रबार रिलिजकै दिन यसले ४५ करोड भारू कारोबार गर्‍यो। यो रकम कुनै सुपरहिट हिन्दी फिल्मले गर्ने व्यापारको दाँजोमा कम होइन।

दोस्रो दिन अलिकति कम (३४ करोड) भएको पुष्पाको व्यापार आइतबार फेरि उकालो लागेर साढे ३८ करोड भारू पुग्यो। त्यसपछि सोमबार, मंगलबार र बुधबार पनि यसले हिन्दी, तेलुगू लगायत अन्य सबै भाषाको संस्करणमा लगभग १५ देखि २० करोड हाराहारी व्यापार गरेको थियो।

पुष्पाले यति ठूलो व्यापार गर्नु दुइटा कारणले महत्वपूर्ण रहेको बलिउडका व्यापार विश्लेषकहरू बताउँछन्। पहिलो, कुनै पनि दक्षिण भारतीय फिल्मले भारतका सबै स्टेसनमा एकछत्र उम्दा व्यापार गर्ने घटना विरलै हुन्छ। यसअघि एसएस राजामौलीको ‘बाहुबली’ यसैगरी भारतभरि एकछत्र सुपरहिट भएको थियो। राजामौलीकै सुझावअनुसार पुष्पा पनि दक्षिण भारतीय स्टेसनमा मात्र केन्द्रित नभई भारतभरि विभिन्न भाषामा एकैचोटि रिलिज गरिएको यसका निर्देशक सुकुमारले कोईमोई डटकमलाई बताएका छन्।

‘एसएस राजामौलीले मेरो फिल्म हेरेपछि बाहुबलीजस्तै अल-इन्डिया रिलिज गर्न सुझाव दिए। सुरूमा म हच्किएको थिएँ। बाहुबलीकै दाँजोमा देशभरि रिलिज गर्दा पुष्पाले त्यति ठूलो सफलता पाउन सक्छ कि सक्दैन भन्नेमा मलाई शंका थियो,’ सुकुमारले भनेका छन्, ‘राजामौलीले मेरो हौसला बढाइदिए। उनकै सुझाव मानेर हामीले अल-इन्डिया रिलिज गर्ने निर्णय गर्‍यौं जसको नतिजा आज देशभरिको बक्स अफिसमा देखिँदैछ।’

अल-इन्डिया मात्र होइन, ‘पुष्षा’ नेपाली सिने बजारमा पनि सँगसँगै रिलिज भएको छ। पछिल्लो समय काठमाडौं लगायत नेपालका प्रमुख सिने बजारमा दक्षिण भारतीय फिल्मप्रति बढ्दो चासो र रूचि हेरेर यो फिल्म अल-इन्डियाका रिलिजका साथ यहाँ पनि प्रदर्शन गरिएको यसका वितरकहरूले बताएका छन्। काठमाडौंमा दक्षिण भारतीय फिल्म यसरी विरलै रिलिज हुने गर्छ।

रिलिज भएको छ दिनमै व्यावसायिक रूपले धूम मच्चाइरहेको यो फिल्मले अक्षय कुमारको ‘सूर्यवंशी’ लाई मात्र होइन, हलिउडको ‘स्पाइडरम्यान’ लाई पनि टक्कर दिइरहेको छ।

दक्षिण भारतबाट आएको पछिल्लो हटकेक सिनेमा ‘पुष्पा’ मा आखिर के छ? के यो प्रेम कहानी हो? के यसमा बाहुबलीजस्तै हुरूक्कै पार्ने कल्पनाशीलता छ?

झट्ट नाउँ सुन्दा ‘पुष्पा’ प्रेम कहानी हो कि भन्ने लाग्न सक्छ। जसरी यसलाई बाहुबलीकै शैलीमा अल-इन्डिया रिलिज गरियो, त्यस आधारमा यो फिल्ममा पनि बाहुबलीजस्तै भरपुर कल्पनाशीलताको स्वाद लिन पाइन्छ कि भन्ने पनि लाग्न सक्छ।

तर यो फिल्मले दुवै कल्पना पूरा गर्दैन।

पुष्पामा प्रेम त छ तर पूरा फिल्म प्रेममा आधारित छैन। बाहुबलीमा जस्ता अद्भूत पात्रहरू पनि यसमा छैनन्।

यो फिल्मको विशेषता भनेकै यसका साधारण पात्र हुन्। गाउँमा दाउरा काटेर गुजारा गर्ने मान्छे र त्यो दाउरा तस्करी गर्ने आपराधिक गिरोह वरिपरि फिल्म घुमेको छ।

पुष्पाको मुख्य पात्र अर्थात् अल्लु अर्जुनले हाम्रो समाजको त्यो वर्गको प्रतिनिधित्व गर्छ जो समाजबाट हेपिएको छ, पिछडिएको छ। उसले समाजमा आफ्नो पहिचान प्राप्तिको निम्ति गर्ने लडाइँ नै फिल्मको मुख्य कथावस्तु हो।

अर्थात्, ‘पुष्पा’ फिल्म आफ्नो नामजस्तो पुष्पै पुष्पले भरिएको छैन, बरू यसले पुष्प वरिपरि उम्रेको समाजका काँडाहरूको धार उजागर गर्छ।

यो फिल्मको कथा रक्तचन्दन तस्करीमा आधारित छ। रक्तचन्दन तस्करीको विषय हामी नेपालमा पनि धेरै सुन्ने गर्छौं। चिनियाँ बजारमा तस्करी हुँदै गरेका ठूला परिमाणका रक्तचन्दन बरामद भएका समाचार हामी बेलाबेला सुन्छौं। यो फिल्मले दक्षिण भारतको एउटा जंगलबाट चेन्नईको समुद्री बन्दरगाह हुँदै चीन र जापानसम्म तस्करी हुने रक्तचन्दनको कथा भन्छ।

गाउँका जमिनदारको ‘अवैध’ सम्बन्धबाट जन्मिएका पुष्पराज (अल्लु अर्जुन) र उनकी आमा परिवारभित्रै हेपिएका छन्। बाबुको पारिवारिक इतिहास गौरवपूर्ण भए पनि उनलाई त्यो इतिहासको हिस्सेदार बन्नबाट वञ्चित गरिन्छ। उनी साना-मसिना काम गर्दै आफ्नो गुजारा चलाउँछन्। यही क्रममा रक्तचन्दन तस्करी गर्ने ठूलो गिरोहसँग उनी जोडिन पुग्छन् र त्यहीँबाट आपराधिक दुनियाँमा उनको प्रवेश हुन्छ।

सर्सर्ती सुन्दा फिल्मको कथावस्तुमा नयाँपन छैन। यो ‘नयाँ बोतलमा पुरानो रक्सी’ नै हो। तर तीन घन्टा लामो प्रस्तुतिमा निर्देशक सुकुमारले यस्तरी कथा बुनेका छन्, दर्शकलाई कहीँ पनि झिँझो लाग्न पाउँदैन। पुष्पालाई सुपरहिट बनाउने मुख्य पक्ष यही हो।

यसको पटकथा एकदमै कसिलो छ। एकपछि अर्को सनसनीपूर्ण घटनाले दर्शकलाई सिटमा बाँधेर राख्छ। त्यसमाथि अल्लु अर्जुनको प्रभावशाली अभिनयले फिल्ममा ज्यान भरेको छ। यति भन्दाभन्दै पूरै फिल्मको बोझ एक्ला अल्लु अर्जुनमाथि मात्र बोकाउनु पटकथाको एउटा कमजोरी हो।

पटकथाकारले अल्लु अर्जुनको भूमिकालाई वजनदार बनाउनमा जति धेरै काम गरेका छन्, त्यसको दाँजोमा अन्य पात्रहरू गौण बनेका छन्। यसले अन्य पात्रहरूमाथि न्याय गर्न नसकिएको प्रतीत हुन्छ।

कसिलो पटकथालाई सजीव ढंगले छायांकन गरेर पर्दामा उतार्न पनि सुकुमारले कुनै कसर छाडेका छैनन्। उनले ती सबै फर्मुला प्रयोग गरेका छन्, जसले फिल्मलाई भव्य बनाउन एकपछि अर्को इँटा थप्छ। चाहे त्यो नायकको धमाकेदार ‘इन्ट्री’ होस् या प्रहरी अधिकारीलाई छक्याउनमा उनले खेलेको चाल। जंगलका दृश्य जसरी छायांकन गरिएका छन्, त्यसले पनि दर्शकलाई सनसनी अनुभव गराउँछ।

समग्रमा ‘पुष्पा’ एउटा सामान्य कथालाई भव्यताका साथ प्रस्तुत गरिएको मसालेदार मनोरञ्जनपूर्ण फिल्म हो। बलिउडमा बढी बिक्ने भनेकै मसला हो। त्यही मसलाको स्वाद चखाउँदै सूर्यवंशीले बक्स अफिसमा रेकर्ड राख्यो। अब त्यही रेकर्ड पछ्याउन दक्षिण भारतीय मसला लिएर आएको छ- पुष्पा।

तपाईको प्रतिक्रिया

RELATED POSTS