काठमाडौं । गायिका रेखा शाहले व्यावसायिक प्रयोजनका निम्ति आफ्ना गीत प्रयोग नगरिदिन आग्रह गरेकी छन् । उनले आफ्नो अनुरोधलाई बेवास्ता गरी प्रयोग गरेमा कानूनी कारबाहीमा जाने चेतावनी समेत दिएकी छन् । झण्डै तीन दशकअघि सार्वजनिक रेखाको गीत ‘सिमसिमे पानीमा’ निकै चर्चित छ । उनकै शब्द, लय र स्वर रहेको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । रेखाले रेडियो नेपालमा गाएर स्वर्णपदक पाएको यो गीत उनको पर्याय नै बनेको छ ।

रेखाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मसँग प्रतिलिपि अधिकार सुरक्षित रहेको मेरो गीत मेरो अनुमतिविना विभिन्न रियालिटी शोमा गाइएका छन् । प्रतिभा पहिचान गर्ने हो भनेर मैले कुनै आयोजकलाई कुनै प्रतिक्रिया दिइनँ । अहिले आएर त्यही प्रतियोगिताहरूमा विजेता बनेका भाइबहिनीहरूले व्यावसायिक प्रयोजनका निम्ति गाइने स्टेज शोहरूमा गाउँदै पैसा कमाइरहेको देखिरहेकी छु ।’

रेखाले यस्ता कार्यले सर्जकमाथि अन्याय भएको महसुस भएको बताएकी छन् । उनले अगाडि भनेकी छन्, ‘अझै मेरो अनुमतिविना म्युजिक ट्रयाक बनाइ गाएकाले एउटा स्रष्टा र सर्जकमाथि अन्याय र हेपाहा प्रवृत्ति देखा परेको मलाई महसुस भएको छ ।’

रेखाले आगामी दिनमा व्यावसायिक प्रयोजनका लागि आफ्ना गीत प्रयोग नगरिदिन अनुरोध गर्दै यसलाई बेवास्ता गरेमा प्रतिलिपि अधिकार सम्बन्धी कानूनअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएकी छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS