नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले आसन्न राष्ट्रिय सम्मेलनका प्रतिनिधिले विश्वास गरे आफू महासचिवका लागि योग्य रहेको बताएका छन्। शर्माले बिहीबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै आफू अहिले संगठन विभाग प्रमुख भएकाले कार्यकारी पदमा काम गर्न खोज्नु स्वाभाविक रहेको बताए। आफूले चाहेरभन्दा पनि पार्टीले चाहे मात्र यो पूरा हुने उनको भनाइ छ।

‘अहिले संगठन विभाग प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाए हुन्थ्यो भन्ने मेरो चाहना होला तर मेरो चाहनाले मात्रै निर्धारण गर्दैन,’ उनले भने, ‘यो कार्यकर्ताको र प्रतिनिधिहरूको चाहनाले पनि निर्धारण गर्छ। आउने प्रतिनिधिहरू अनि निर्वाचित केन्द्रीय कमिटीले जहाँ राख्छ, म त्यहीँ बस्ने हो। मलाई त संगठनकै जिम्मा दिए हुन्थ्यो भन्ने लाग्छ।’ संगठनको जिम्मेवारी लिन सक्ने आफूजस्तै अन्य नेताहरू पनि भएकाले सबै कुरा आमकार्यकर्ताको निर्णयमा भर पर्ने उनले बताए।

‘मजस्तै धेरै साथीहरू हुनुहुन्छ। आमकार्यकर्ताले मभन्दा अर्को झन् योग्य देख्न सक्नुहुन्छ,’ उनले भने, ‘मलाई नै योग्य मान्न पनि सक्नुहुन्छ। यो सबै उहाँहरूको हातमा छ, मेरो हातमा छैन। दिए पूरा गर्न सक्छु भन्ने आत्मविश्वास हुने नै भइहाल्यो।’ शर्माले माओवादीमा नेतृत्व पुस्तान्तरणको सुरूआतसमेत भएको बताए।

‘यसपटक हामीले सुरू गर्‍यौं। वडादेखि पालिकामा हस्तान्तरण भइसकेको छ। प्रदेश कमिटीमा नयाँ टिम आएको छ।प्रदेश भनेको केन्द्रीय कमिटीको उत्तराधिकारी हो,’ उनले भने, ‘२० प्रतिशत युवालाई हामी निर्वाचित गर्दैछौं। महिलाहरू ३५ प्रतिशत निर्वाचित गर्दैछौं। दलित १५ र मुस्लिमबाट ५ प्रतिशत निर्वाचित गर्दैछौं। जो प्रतिस्पर्धामा आउन सक्दैनन् भन्ने लागेको छ, त्यस्तोलाई हामी ल्याउँदैछौं। यो पुस्तान्तरणकै कुरा हो।’

पार्टीको जगबाट नेतृत्व हस्तान्तरण हुँदै आएको उनले बताए। पुस ११ देखि १३ गतेसम्म हुन लागेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेर हामीले स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री शर्मासँग गरेको भिडिओ कुराकानीका मुख्य अंश यस प्रकार छन्:

– राष्ट्रिय सम्मेलनले माओवादीलाई नयाँ विचार दिन्छ। अहिलेसम्म माओवादीले खेलेको भूमिका, देश र समाजका लागि गरेको योगदान, त्यसबाट प्राप्त उपलब्धि रक्षा गर्ने र त्यो उपलब्धिमा टेकेर संविधानले निर्दिष्ट गरेअनुसार समाजवादको बाटोमा अगाडि बढ्ने एउटा मार्गनिर्देशन गर्ने गरी त्यसले विचार निर्माण गर्छ।

– हिजो बलिदानको भावना, संगठनको केन्द्रीकरण र देशलाई राजतन्त्रबाट अन्त्य गर्ने एउटा विचार थियो जसलाई हामीले प्रचण्डपथ भनेका थियौं।

– राष्ट्रिय सम्मेलन आइरहँदा विगतको समीक्षा आवश्यक पर्छ। हाम्रा गल्ती दुई ठाउँमा भए भनेर मैले भन्ने गरेको छु। एउटा, विकल्पसहित प्रचण्डपथ हटाउनुपर्थ्यो र दोस्रो, शान्ति प्रक्रियामा आउँदा चुनाव र विद्रोह भन्ने विवाद थियो। हामीले दुवै कुरा भन्यौं जसले अलमल भयो।

– माओवादीले विकास र समृद्ध समाज रूपान्तरण कसरी गर्छ, आफ्नो पार्टी निर्माण कसरी गर्छ, उत्पीडित वर्ग, जाति र क्षेत्रबारे संविधानमा उल्लिखित व्यवस्था कसरी कार्यान्वयन गर्छ भन्ने छ। सामाजिक न्यायसहित समाजवादमा कसरी जाने भनेर स्पष्ट पार्नुपर्ने भएको छ।

– शान्ति प्रक्रियामा आउनासाथ हामी यसरी जाने हो है भनेर ठोस योजना बनाएनौं। स्पष्ट विचार निर्माण गरेनौं।कार्यकर्ताहरू देशैभरि छरिए। मूल नेतृत्व शान्ति प्रक्रिया र संविधान निर्माणमा लाग्दा ग्याप भयो। सरकारमा बस्ने र गाउँमा बस्नेहरू, सांसद हुने र नहुनेबीच अन्तर पनि देखियो। यसले अलिकति निराशा देखियो।

– यो देशमा राजतन्त्र अन्त्य गर्न, समावेशी लोकतन्त्र र संघीयता ल्याउन आन्दोलन गरेको पार्टी अहिले मुर्झाएजस्तो देखियो। संगठनमा अस्थिरता देखियो। प्रचण्डले ल्याएको मुद्दामा देश अगाडि बढ्दा पनि माओवादी कमजोर भएको छ भन्ने कारण यस्तै देखियो। अबको बाटोसहितको विचार स्पष्ट रूपमा जनतामा ल्याउनु नै हाम्रो उद्देश्य हो।

– हामीलाई संसदवादी भन्ने होइन। यो अहिलेको परम्परागत संसद पनि होइन। यो समानुपातिक समावेशी लोकतन्त्रभित्रको संसद हो। त्यसैले यसलाई जनताको पक्षमा भरपुर प्रयोग गर्नुपर्छ। यसमा माओवादीको पहलकदमी कमजोर भएको भनेर जनताले गरेको टिप्पणी स्वाभाविक हो। त्यसलाई सशक्त रूपमा प्रयोग गरेर अगाडि जानुपर्छ।

– माओवादीको स्पिरिट के हो भने यो परिवर्तनको पक्षधर हो। परिवर्तन रक्षा गर्ने कुरामा संकट पर्दा माओवादी नै उभिएको छ। पछिल्लोपटक प्रतिगमन हुँदा माओवादी नै उभियो। अध्यक्ष प्रचण्ड उभिएर आह्वान गर्दा आन्दोलन भयो। त्यो माओवादीले आफ्नो ठाउँबाट गरेकै छ। यति हुँदाहुँदै जनताले लगाएको आरोप सही छ। आरोप स्वीकार गर्दै आफ्ना विधि, संगठन र व्यवहार सच्याउनु नै हाम्रो मक्सद हो।

– हामीले उठाएका मुद्दा र परिणाम स्थापित गराउने क्रममा माओवादी कमजोर बन्यो। संघीयता, धर्मनिरपेक्षता, समानता र समावेशिताका जुन मुद्दा आएका छन्, त्यसलाई स्थापित गराउनमा माओवादी कमजोर भयो।

– हामी आफ्नै खुट्टामा उभिएर पहिलो पार्टी बनाएर जाने अभियानमा छौं। चुनाव या विद्रोह भन्ने ढुलमुले नीतिले हामी पछि पर्यौं। अब समाजावादको बाटो तय गरेर शान्तिपूर्ण रूपमा जान्छौं।

– अहिले हामी संगठन व्यवस्थित गर्दैछौं। त्यही कुरा सच्याएर हामीले वडाबाट निर्वाचित कमिटीहरू बनाएका छौं। अब त्यो स्थायित्वमा जान्छ। हामीले विधान बनाएका छौं। राष्ट्रिय सम्मेलनबाट त्यसलाई पारित गरेर संगठनात्मक स्थायित्व दिन्छौं।

– पदाधिकारी र स्थायी कमिटीबाटै उत्तराधिकारी निर्माण हुन्छ। महासचिव त तेस्रो वरियतामा पर्छ। अध्यक्षात्मक प्रणालीमा अध्यक्ष र उपाध्यक्ष हुन्छ, त्यसपछि महासचिव हुन्छ।

– कमिटीमा निर्वाचित व्यक्तिबाट पदाधिकारी बन्ने हो। म अहिले संगठन विभाग प्रमुख भएकाले अर्को कार्यकारी भूमिका पाए हुन्थ्यो भन्ने मेरो चाहना होला तर मेरो चाहनाले मात्रै हुदैन। यो कार्यकर्ताको प्रतिनिधिको चाहनाले निर्धारण गर्छ।आउने प्रतिनिधिहरू निर्वाचित केन्द्रीय कमिटीले जहाँ राख्छन्, त्यहीँ बस्ने हो। सेतोपाटी बाट

 

तपाईको प्रतिक्रिया

RELATED POSTS