काठमाडौं । कोभिड-१९ को प्रभाव कम भएपछि मेला-महोत्सव तथा स्टेज कार्यक्रमले लय समात्दै गएको छ । करिब दुई वर्षपछि देशका विभिन्न जिल्लामा मेला-महोत्सव तथा स्टेज कार्यक्रमहरु भइरहेका छन् । त्यस्ता कार्यक्रमका कारण चर्चित कलाकारहरुको व्यस्ता निक्कै बढेको देखिन्छ । मेला-महोत्सव र स्टेज कार्यक्रममा व्यस्त हुनेमध्येमा पर्छिन् पछिल्लो पुस्ताकी गायिका एलिना चौहान । ‘के माया लाग्छ र’, ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘मेरो परान’ जस्ता थुप्रै गीतबाट स्रोता-दर्शकको मन जितेकी गायिका चौहानसँग अनलाइनखबरले ‘स्टेज वार्ता’ गरेको छ ।

स्टेज कार्यक्रममा कत्तिको व्यस्त हुनुहुन्छ ?

व्यस्त नै छु ।

पछिल्लो समय कति ठाउँ पुग्नुभयो ? जानुपर्ने ठाउँ कति छन् ?

महिनामा १० देखि १५ वटासम्म स्टेज कार्यक्रममा पुगिरहेकी छु । धेरै ठाउँ पुगिसके । झापा, मोरङ, चितवन, जनकपुर, कावासोती, वीरगञ्जदेखि सुदूरपश्चिमको बझाङसम्म पुगें । अब, जानुपर्ने कार्यक्रमका सेड्युलहरु पनि धेरै छन् ।

कोभिड-१९ को प्रभाव घटेसँगै स्टेज कार्यक्रमको माहोल फर्किएको हो ?

म त स्टेजमा व्यस्त बनेको यो नै पहिलो वर्ष हो । अहिले भइरहेका स्टेज कार्यक्रम हेर्दा माहोल फर्किएको हो भनेर मान्न सकिन्छ ।

स्टेजमा पहिलो वर्ष यसरी व्यस्त भइरहनुभएको छ । स्टेजमा पुगेर दर्शकसामु प्रस्तुति दिँदाको अनुभव कस्तो हुँदोरहेछ ?

आफूलाई, आफ्ना गीतहरुलाई माया गर्ने फ्यान, स्रोता-दर्शकहरुलाई प्रत्यक्ष भेट्न पाउँदा निकै आनन्द लाग्छ । आफूलाई कत्तिको माया गर्नुहुँदोरहेछ भन्ने कुरा स्टेज कार्यक्रममा जाँदै गर्दा देख्न पाइन्छ ।

अरुबेला कमेन्ट लेख्ने फ्यान मात्र देखिएको हुन्थ्यो, स्टेजमा कोही रुने फ्यान भेटिनुहुन्छ्, कोही फोटो खिच्नका लागि मात्र आउनुभएको हुन्छ । अनि कोही हेर्नका लागि मात्रै पनि आइरहनुभएको हुन्छ, त्यस्तो देख्दा एकदमै धेरै खुशी लाग्छ ।

स्टेज कार्यक्रममा दर्शकहरुको भीडभाड कत्तिको हुन्छ ?

समय हेरेर हुन्छ । शनिबार परेको छ भने एकदमै भीडभाड हुन्छ । केही स्पेशल दिन छ भने पनि भीडभाड हुन्छ । अन्य बार पनि राम्रै उपस्थिति हुन्छ ।

स्टेजमा कुन-कुन गीत गाउनुहुन्छ ?

यही गीत गाउँछु भनेर स्टेज चढ्दिन । त्यहाँको माहोल कस्तो छ, त्यो हेरेर गीत गाउँछु । त्यहाँ कस्तो खालको गीत सुन्ने अडियन्स हुनुहुन्छ त्यो बुझ्छु । ठाउँ हेरेर पनि हुन्छ, दोहोरी चल्ने ठाउँमा दोहोरी खालकै गीत गाउनुपर्‍यो । ‘मिनरल वाटर’, ‘के माया लाग्छ र ?’, ‘कुरा काटने मान्छेले काटुन’ जस्ता गीत प्रायः सबै ठाउँमा सुन्नुभएको हुन्छ । ती गीतहरु प्रायः स्टेजमा गाउँछु ।

गाइरहँदा सबैभन्दा बढी हुटिङ कुन गीतमा आउँछ ?

डान्सिङ गीतहरुमा बढी आउँछ । ‘मिनरल वाटर’, ‘ओखल ढिकीमा’ जस्ता नाच्ने गीतमा बढी हुटिङ आउँछ ।

स्टेजमा एउटै गीत बढीमा कति पटकसम्म गाउनु परेको छ ?

प्रायः एकपटक मात्र गाउँछु । कुनै-कुनै दुईपटक गाउँछु । ‘मिनरल वाटर’ दुई पटक गाएकी छु ।

स्टेजमा कति समय गाउनुहुन्छ ?

त्यो आफ्नो प्रस्तुतिमा दर्शकले कत्तिको ‘इन्जोय’ गरिरहनुभएको छ भन्ने माहोल हेरेर हुन्छ । प्रायः एक घण्टाजति गाउँछु ।

गएकामध्ये कुन स्टेज कार्यक्रम बढी सम्झनुहुन्छ ?

कोरोना महामारी आउनुअगाडि दिल्ली गएकी थिएँ । शुरुआती दिन थियो । टाढा पनि भयो, नर्भस पनि थिएँ । त्यहाँ कलाकारहरुलाई हेर्ने दृष्टिकोण, सम्मान एकदमै फरक पाएकी थिएँ । त्यो कार्यक्रम एकदमै सम्झँन्छु ।

कार्यक्रममा पुगेर गीत नगाइ फर्किनुभएको कुनै क्षण छ ?

पानी परेर एउटा कार्यक्रम ‘क्यान्सिल’ भएको छ । तर, कार्यक्रम भएर नगाइकन फर्किएको क्षण चाहिं छैन ।

देशभित्र कार्यक्रमका लागि जान मन लागेको तर माहोल नमिलेको कुनै ठाउँ छ ?

म पूर्वको भएर होला पश्चिम, सुदूरपश्चिमतिर जान एकदमै मन थियो । अस्ति सुदूरपश्चिम पुगिहालें, बझाङ पुगेर प्रस्तुति दिएर फर्किएँ । अझै पनि पश्चिम, सुदूरपश्चिमतिर जान मन छ । अन्य नपुगेका स्थानमा पनि जान मन छ ।

पहिलोपटक कति वर्षको उमेरमा स्टेज चढनुभएको थियो ?

१४ वर्षको उमेरमा स्कुलको कार्यक्रममा चढेकी थिएँ । त्यतिबेला एकदमै डर लागेको थियो । हातखुट्टा काँपेको थियो । अनलाईनखबर बाट

तपाईको प्रतिक्रिया

RELATED POSTS