नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा छुटेका विषय समेटिने प्रतिवद्धता जनाएका छन्। आठौं महाधिवेशनमा उनले राजनीतिक प्रतिवेदन पेश गरेकोमा कतिपय विषय छुटेको भन्दै महाधिवेशन प्रतिनिधिले प्रश्न उठाएका थिए।

आज प्रतिवेदनबारे स्पष्टीकरण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘चुच्चे नक्सा र जमिन फिर्ताबारे प्रतिवेदनमा छुटेछ, त्यसलाई राखिन्छ, कमरेडहरू चिन्ता नलिनुस्।’ प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २५ समूह बनाएर छलफल भएको थियो। ती छलफलबाट सुझावहरू आएका थिए।

प्रचण्डले प्रतिवेदनमा नसमेटिएका विषय समेट्ने पनि प्रतिवद्धता जनाएका थिए। अरू दललाई हेर्ने तथा छिमेकी देशहरूलाई हेर्ने दृष्टिकोणबारे प्रतिवेदन मौन रहेकोमा प्रश्न उठेको उल्लेख गर्दै उनले भने, ‘नजानेर होइन कतिपय विषयमा अहिले मौन बस्दा नै उपयुक्त हुन्छ भनेर हो।’

माओवादी छाडेर गएका नेताहरूबारे प्रचण्डले उनीहरू फर्केर आउन सक्ने पनि बताए। ‘गएका साथीहरू गए सिध्धिए। फेरि फर्किएर आएछन् भने पार्टीमा लिनुपर्ने होला,’ उनले भने, ‘उनीहरूको नाम नै उल्लेख नगरौं, परिपक्क होऔं न।’

प्रतिवेदनमा गफ छ भन्नेहरूलाई जवाफ- अँ, जनयुद्ध पनि गफ नै गरेर भएको हो

प्रतिवेदनमा ‘गफ’ छ भन्नेहरूलाई प्रचण्डले जनयुद्ध पनि गफ गरेरै भएको हो भन्ने प्रश्न गरेका छन्। ‘०५२ मा हामीले जनयुद्ध गर्‍यौं, पछि शान्ति प्रक्रिया, संविधान निर्माण भयो। अँ, संविधान र गणतन्त्र पनि गफ गरेरै ल्याइयो,’ उनले व्यंग गर्दै भने।

तपाईको प्रतिक्रिया

RELATED POSTS