बुटवल । पाल्पाको लघुवामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाध्ये ५ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१७ का २७ वर्षीय पशुपति रसाइली (बिक), बुटवल–१७ कै ४० वर्षीय खुमबहादुर राना, बुटवल–११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी गाउँपालिका–२ का २८ वर्षीय भोजेन्द्र विक, सोही ठाउँका २६ वर्षीय शंकर विक रहेका छन् ।

शनिबार मृत्यु भएका बुटवल–११ बुद्धनगरका ७० वर्षका बीरबहादुर विकको अन्तेष्टीका लागि रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकमध्ये पशुपति रसाइली बीरबहादुर विकका छोरा हुन् । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातिले जानकारी दिए । दुर्घटनामा घाइते १५ जनामध्ये ९ जना लुम्बिनी मेडिकल कलेज प्रभासमा र ६ जनाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

मिसन अस्पतालका घाइतेहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत एकजनाको अवस्था गम्भीर रहेको सो अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS