काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी भइरहेका बेला नयाँदिल्ली पुगेकी श्रीमती आरजु राणाले राजनीतिक भेटघाट थालेकी छन् । उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आइतबार भेटवार्ता गरेकी हुन् ।प्रधानमन्त्री देउवाको आउँदो पुस २५ गते देखि २७ सम्म भारत भ्रमण गर्ने कार्यक्रम छ । राणाका भाइ भूषणको स्वास्थ्य उपचारको गर्न पुस ११ गते दिल्ली गएकी थिइन् । भाइको उपचार सकिएलगतै आरजुले राजनीतिक भेटवार्ता थालेकी हुन् ।

प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन जान लागेका हुन् । यस विषयमा दुवै सरकारले आधिकारिक रुपमा सूचना बाहिर ल्याउन भने बाँकी छ । तर नेपाल सरकारले देउवाको भारत भ्रमणको गृहकार्य गरिरहेको छ । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ गुजरातको गान्धिनगरमा पुस २६ देखि २८ सम्म हुँदैछ । त्यही दौरानमा देउवाले मोदीसँग नयाँदिल्लीमा द्वीपक्षीय भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको भ्रमण अघि दिल्ली पुगेकी आरजुले राजनीतिक भेटवार्ता थालेसँगै भ्रमणको पूर्व तयारीको रुपमा हेरिएको हो । प्रधानमन्त्रीको भ्रमण अघि कि परराष्ट्रमन्त्री वा प्रधानमन्त्री निकट व्यक्तिलाई सम्बन्धित मुलुकमा पूर्व तयारीका लागि पठाउने चलन छ । आरजुले दिल्लीमा थालेको राजनीतिक भेटवार्ता त्यसैको संकेत हो ।

भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेले आरजुसँगको भेटवार्तापछि ट्वीट गर्दै लेखेका छन्, ‘व्यक्तिगत भ्रमणमा नयाँ दिल्ली भ्रमणमा रहेकी डा. आरजु देउवा राणासँग मेरो सौहार्दपूर्ण भेटवार्ता भयो ।’ आरजु र चौथाइवालेबीच विशेष सम्बन्ध छ । गत रक्षबन्धनको दिन चौथाइवाले नेपालको भ्रमण गर्दा आरजुले प्रधानमन्त्री निवास बालुवाटारमै चौथाइवालेलाई ‘राखी’ लगाइदिएकी थिइन् ।

आरजुले नयाँ दिल्ली पुग्ने बित्तिकै यो विशुद्ध व्यक्तिगत भ्रमण गरेको उल्लेख गरेकी थिइन् । तर आइतबार उनले राजनीतिक भेटवार्ता गरिन् । उनले अझै को–कोसँग भेटवार्ता गर्ने भन्ने बारेमा खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS