काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावको परिणाम आफूहरूका लागि प्रतिकूल आउनसक्ने बताएका छन् । शुक्रबार ६१ जिल्लाका अधिवेशन उद्घाटन गर्ने क्रममा अध्यक्ष ओलीले माघ १२ गते हुने चुनाव एमालेको पक्षमा नआउने सम्भावना रहेको बताएका हुन् ।

राष्ट्रिय सभा चुनावमा अहिलेको जनमत प्रतिनिधित्व नहुने भन्दै उनले अगाडि भने, ‘राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन । त्यो यथार्थ जनमत होइन ।’ आजभन्दा ४ वर्षअघि व्यवस्थापनका नाममा विभिन्न पक्षमा सिट बाँडफाँड गरेकाले आफ्ना निम्ति अनुकूल नतिजा नआउने ओलीले बताएका हुन् ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।

उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

गठबन्धन आफ्नो सिट यथावत् राख्दै एमालेले यसअघि जितेका आठवटा सिटमा पनि भागबन्डा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । चुनावमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता छन् । प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८ हुन्छ ।

सत्ता गठबन्धनले भागबण्डा गरेर प्रतिस्पर्धामा उत्रिएकाले एमालेलाई यस पटकको चुनावमा धक्का लाग्न सक्ने देखिन्छ । एमालेको पक्कड राम्रो भएको प्रदेश १ मा पनि अर्को पक्षको भोट तान्न नसके एमालेले तीनै सिट गुमाउने सम्भावना छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS