राप्रपाका पूर्व अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पुनः कटाक्ष गरेका छन्। आफूलाई पार्टी अध्यक्षमा पराजित गर्न निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र) नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै थापाले ज्ञानेन्द्र शाह राजनीतिभन्दा माथि बस्न नचाहेको आरोप लगाएका छन्।
‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र ‘सिनो’ बोकेर हिँड्ने भनेर मलाई सत्तोसराप गर्नेहरु नै अहिले मैले राजा राजनीतिभन्दा माथि रहनुपर्छ, पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा मेरो खेदो खनिरहेका छन्। हाँसो र उदेक लाग्छ। त्यो राजतन्त्रप्रति विकसित नयाँ मोह हो वा मेरो चरित्रहत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा नांगो हस्तक्षेप गरेको आरोप लगाउँदै थापाले आफू निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको दाबी गरेका छन्। ‘राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा (पूर्वराजा ज्ञानेन्द्र) निष्पक्ष अभिभावक र राजनीति भन्दा माथि बस्न नचाहने स्पष्ट संकेत मिलेको छ,’ उनले लेखेका छन्, ‘मेरो समस्या र पीडा त्यहीँ हो। यो प्रसंगलाई हारजितसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।’

उनले आफू राप्रपा विभाजनको पक्षमा नरहेको पनि स्पष्ट पारेका छन्। ‘स्पष्ट होस्- विचार मिलेन भने पार्टीबाट कुनै दिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन,’ थापाले भनेका छन्।

यसअघिनै अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले राजतन्त्रको एजेन्डा छोड्ने संकेत गरेका थिए। आगामी पुस २७ गतेबाट ‘नयाँ अभियान’ सुरू गर्दै उनले राजतन्त्रको एजेन्डा छाड्ने तयारी गरेको बताएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि राख्दै आएका छन्। उनले पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न लिङ्देनलाई लिखित रूपमै पत्र दिएका छन्। उनले मंसिर २७ मै पठाएको उक्त चिठीबारे लिङ्देनले अहिलेसम्म कुनै निर्णय दिएका छैनन्। लिङ्देन थापाको चिठीमाथि कारबाही गर्ने पक्षमा छैनन्।

थापा लिङ्देनले के गर्लान् भनी पर्खेर बसिरहेका छन्। लिङ्देनको कदम आफ्नो पक्षमा नचल्ने चाल पाइसकेका थापा हिन्दु राष्ट्रको अभियानको तयारीमा लागेका हुन्।

थापाले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘२०६३ को जनआन्दोलनपछि देशमा राजसंस्थालाई निषेध गरियो, अपमान र तिरस्कार गरिएको थियो, त्यो मुद्दालाई आजसम्म शिरमा कफन बाँधेर मैले छलफल र बहसमा ल्याएको थिएँ। आज कम्तीमा राजसंस्थालाई तिरस्कार र अपमान गर्ने गरिएको छैन। तर, आज त्यही संस्थाले मेरो पार्टीको आन्तरिक चुनावमा हस्तक्षेप गरी मेरो राजनीतिक भविष्य समाप्त पार्न खोज्छ भने मैले नैतिक रूपमा त्यो मुद्दा बोकेर हिँड्न सक्दिनँ।’

तर, आफूले उठाउँदै आएकोमध्ये हिन्दु राष्ट्रको मुद्दा भने नछोड्ने उनले टेलिभिजन अन्तर्वार्तामा बताएका थिए। ‘पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर म अभियान चलाउँदैछु,’ उनले भनेका थिए। थापा पक्षले लिङ्देनलाई त्यो पत्रबारे छानबिन समिति गठन गर्न नै दबाब दिइरहेका छन्।

‘हामीले जुन माग उठाएका छौं, त्यसमा छानबिन भएन भने परिस्थिति अर्कै हुन्छ,’ थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘पूर्वअध्यक्षज्यूले अभियान चलाउँदै हुनुहुन्छ, त्यो अभियान कस्तो हुन्छ हामी विस्तारै बाहिर ल्याउँछौं।’

थापा निर्वाचनमा पराजयपछि पार्टी कार्यालय गएका छैनन्। आफूले पठाएको पत्रबारे कारबाही नभएसम्म पार्टी कार्यालय नजाने पनि उनले बताएका छन्।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्थापनाको माग गर्दै राजनीति गरिरहेको पार्टी हो। तर, उसले भनेको राजसंस्था कस्तो हो भन्ने यकिन छैन।

थापा पञ्चायतकालपछि राप्रपाको राजनीतिमा सक्रिय थिए। बहुदल आएपछि पञ्चायतका हस्ती सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले पार्टी स्थापना गरेपछि थापा राप्रपामा छन्।

पार्टीमा लामो उतारचढाव आयो, थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरे। त्यसयता उनी राप्रपाको नेतृत्वमा १५ वर्ष थिए।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS