काठमाडौँ — कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको निर्वाचनपछिका तीन वटै निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् । महामन्त्री थापाले शुक्रबार गोरखामा कांग्रेसले गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनमा कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूले रुख चिन्हमा मात्रै मतदान गरे पुग्ने बताए । ‘हामीले अब अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्नुपर्दैन । यसपटक भोट हाल्ने रुख चिन्हमा मात्रै हो,’ उनले भने ।

गत आमनिर्वाचनमा कांग्रेसले गोरखामा नयाँ शक्ति पार्टीसँग गठबन्धन गर्दा गोरखा–२ मा कांग्रेसले बाबुराम भट्टराईलाई मतदान गरेको थियो । भट्टराईप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘गोरखा–२ मा यसपालि कांग्रेसले सानदार ढंगले जित्ने हो, तपाईँहरू ढुक्क हुनुस्, हाम्रो पार्टीलाई संग्रहालयमा पुर्‍याइदिन्छु भनेको हामीले बिर्सिएका छैनौँ, तपाईँहरूलाई म आश्वास्त पार्न चाहन्छु, यसपालि तपाईँले रुख बाहेक अरु चुनाव चिन्हमा भोट हाल्नुपर्दैन ।’

महामन्त्री थापाले आफूलाई देशभरका कार्यकर्ताले पार्टी महामन्त्रीको जिम्मेवारी दिएको भन्दै अगाडिको बाटो सजिलो नभएको सुनाए । ‘पार्टीभित्र कहिलेकाँही तितोमिठो हुन्छ, घर्षण हुन्छ, संघर्ष हुन्छ, तर यो चार वर्ष पार्टी विधानसम्मत् ढङ्गबाट चल्छ, र आदरणीय पार्टी सभापतिज्यूको नेतृत्वमा हामी पार्टीलाई बृहत्तर एकता गराएर अघि बढ्छौँ,’ थापाले भने ।

उनले पार्टी संगठनमा कार्यकर्ताहरूले चिन्ता गर्नुपर्ने अवस्था आउन नदिने बताए । कार्यकर्ताहरूले माथिको चिन्ता गर्नु नपर्ने अवस्था ल्याउने उनले बताए । ‘हामी विधानसम्मत् पार्टी चलाउनका लागि संघर्ष गर्छौँ, छलफल गर्छौ, कहिलेकाँही तितोमिठो हुनसक्छ । तर म महामन्त्रीको रुपमा यति मात्रै भन्छु कि पार्टीका तल्लो संगठनका साथीहरूले माथिको धेरै चिन्ता गर्नुपर्ने अवस्था आउन दिनेछैनौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया

RELATED POSTS