काठमाडौं महानगरपालिका–६ कपन, फैकास्थित ठुलीआमाको घरको कोठामा लिभिङ टुगेदर बसेका अनिश जिमी र युसिना राईको मृत्युमा बाहिरी मानिसको प्रवेश नभएको प्रहरीको निष्कर्ष छ । बिहीबार मध्यराती खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएकी थिइन् । उनका प्रेमी संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमीलाई आफन्त र छिमेकीले ढोका फुटाएर अस्पताल लगे तर, अस्पताल पुग्नासाथ उनको मृत्यु भएको थियो ।

कोठाभित्र मदिरा र चुरोट पिउँदै पब्जी खेलिरहेकी युसिनाको शरिमा १४ ठाउँमा छुरीले प्रहार गरेको डोबहरु भेटिएको छ । अनिशको छातिमुनी र नाइटोभन्दा तल छुरीले रोपिएको छ । अनिशको घाँटी चुप्पीले सेरिएको अवस्थामा भेटिएको मध्यराति घटनास्थलमा पुगेका महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

मदिरा पिएर पब्जी खेल्दै गर्दा उनीहरु आसपमा झगडा गरेको र अनिशले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । महाशाखाका एसएसपी खापुङ भन्छन्– ‘प्रारम्भिक अनुसन्धानबाट घटनास्थलमा बाहिरी मान्छेको प्रवेश देखिँदैन, हामी थप अनुसन्धान गर्दैछौं ।’

घरधनी राधा खतिवडाकाअनुसार ठुलो स्वरमा घ्यार घ्यार गरेको आवाज सुनेपछि छिमेकी कोठामा बस्नेहरूले अनिशलाई बोलाएका थिए । अटोलक र भित्रबाट चुकुल लगाउन मिल्ने ढोका नखुलेपछि बाहिरबाट प्रेसर दिँदा ढोका नजिकै आइपुगेका अनिश ढलेका हुन् । अस्पताल पुग्नासाथ उनको मृत्यु भयो । अनिशसँग २२ दिन अघिदेखि लिभिङ टुगेदरमा रहेकी युसिना नांगो अवस्थामा ओछ्यानमा ढलेकी थिइन् ।

चुप्पीको खोल बेडको सिरानी माथि र घटनामा प्रयोग भएको चुप्पी टेवलमुनि फेला परेको छ । दुवैजनाको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । खोटाङबाट युवतीको आमा–बुवा आएपछि पोष्टमार्टम गराउने प्रहरीको तयारी छ ।

पब्जीले जोडेको साइनो

अनिश र युसिनाको चिनजान पब्जी खेल्दा भएको थियो । अनलाइन पब्जी खेल्दा चिनजान भएपछि उनी अनिशको ठुलीआमाको घरमा लिभिङ टुगेदरमा बस्न थालिन् । ठुलीआमाले सोध्दा उनी भन्थिन्– ‘मैले अनिशसँगै जीवन बिताउने निर्णय गरेको छु ।’

जिमीले १२ कक्षासम्म पढेका थिए । क्रिस्चियन धर्म मान्ने गरेका अनिश भन्थे– ‘प्रेमिकालाई लिएर विदेश जान्छु ।’ बिहीबार राति उनीहरुले मासु र चिउरासँगै गोल्डेन ओएक नामको मदिरा पिएका हुन् । कोठामा रक्सीको बोतल र चुरोटको बट्टा भेटिएको छ । जिमीको बुवा मलेशियामा छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS