पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओली मिलेर एक वर्षमा दुई-दुई पटक संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् । चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैंले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरूलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए ।

पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको भन्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दललाई एक ठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने सुझाव दिए।  ‘यो संविधानमाथि बारम्बार आक्रमण भइरहेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २/२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे । पोलिटिकल पार्टी कहाँ–कहाँ गए ? के–के भयो ? त्यो विषय होइन । म भन्न चाहन्छु–जुन समस्या खडा गरेका छौं । ती संस्थालाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीनवटा संस्था, जुन पिलर हुन्छ । त्यसमा बारम्बार प्रहार गरियो ।

पाँच वटा पार्टीले, नागरिक समाजले, बुद्धिजीविले, नेपाली जनताले, अदालतले त्यसलाई कुनै न कुनै प्रकारले बचायो । र अहिले त्यही न्यायपालिकाको यस्तो स्थिति छ । सदनको त्यो स्थिति छ । पोलिटिकल पार्टीले संविधान, विधान अनुसार अधिवेशन गर्दैआए, त्यो सुःखद् कुरो हो । तर यो व्यवस्थालाई बचाएर हामीले नेपाललाई अगाडि लग्ने कि नलग्ने ? यहाँ राष्ट्रपतिको के कर्तव्य छ ? सरकार प्रमुखको दायित्व छ– पोलिटिकल पार्टीहरूलाई एक ठाउँमा राखेर छलफल गरेर कसरी अदालत चलाउने ? प्रतिनिधिसभा राष्ट्रको सम्पूर्ण समस्याको समाधान गर्ने थलो हो । त्यसलाई बन्धक बनाएर राखिएको छ । त्यसका लागि राष्ट्रपतिको कर्तव्य के हो ? सरकार प्रमुखको कर्तव्य के छ ? नागरिक समाजको कर्तव्य के छ ? त्यो कर्तव्य निर्वाह गर्ने कि नगर्ने ? यो व्यवस्थालाई जोगाएर उन्नत समाज निर्माणका लागि समाजवाद तर्फ जान कोसिस गर्ने कि नगर्ने ? मेरो चिन्ता त्यहाँ छ,’ पूर्वराष्ट्रपति यादवले भने ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने थलो संसद्‍ भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति आक्रोश पोखेका थिए । उनले राजनीतिक दलहरूलाई मिलेर संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुटन पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया

RELATED POSTS