चितवन — भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने प्रतिवद्धता व्यक्त गरेकी छन् । मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी छन् ।

दाहालका अनुसार धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुरुप सहयोग प्राप्त नभएपछि महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । मेयर दाहालले भने सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन् ।

मेयर दाहालले भनेकी छन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौं । हुन त हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस-सुन्तली फाउण्डेशनको हो । महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौं । राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो । लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो ।’

रंगशाला निर्माणका लागि महानगरले विभिन्न माध्यमबाट स्रोत उपलब्ध गराएको पनि मेयर दाहालको भनाइ छ । यसअघि नै फाउन्डेशनलाई महानगरले आर्थिक सहयोग जुटाउने काम गरेको मेयर दाहालले बताइन् । तैपनि फाउन्डेशनले ऋण बढी भएर थप श्रोत जुटाउन नसक्ने भनेपछि यसको स्वामित्व लिन महानगर तयार भएको मेयर दाहालले बताइन् । केन्द्र र प्रदेश सरकारसँग पनि यसबारे समन्वय गरेर काम अगाडि बढाउने उनले बताएकी छन् ।

‘महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौं। १८/२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराइएको हो । १७ करोड ऋण लागिसकेपछि उहाँहरूले गर्नसक्ने स्थिति भएन । ऋण लगाएर गर्ने कुरा पनि भएन । उहाँहरूले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरूले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेस गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं । सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ । सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौं,’ मेयर दाहालले भनिन् ।

मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वका कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको बताएकी थिइन् । साथै चितवन जिल्ला हाल दुग्ध उत्पादन, माछा, केराखेतीसहित कृषि क्षेत्रमा आत्मनिर्भर रहेको बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS