म्याग्दी — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता रहेको रियल इस्टेट्स कम्पनीअन्तर्गतका घरहरूको मूल्याङ्कन थालेको हो । सोही क्रममा विभागले गत साता तामाङसँग बयान पनि लिइसकेको छ ।

‘भ्यालुयटर्सहरूबाट हाउजिङका घरहरूको मूल्याङ्कन गर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो, ‘मूल्याङ्कनको काम सकिएपछि मुद्दा दर्ताको प्रक्रिया अघि बढ्छ ।’ तामाङ आवद्ध सिभिल सेभिङ्स एन्ड को-अपरेटिभ्सको विषय बढी संवेदनशील देखिएकाले सम्भव भएसम्म छिटो मुद्दाको प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतले बताएको छ ।

तामाङलाई मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धित कसुरमा मुद्दा दर्ता गर्ने तयारी विमागले गरेको छ । अनुसन्धानमा तामाङले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर प्रष्ट रुपमै खुलेकाले मुद्दा दर्ताको तयारी भएको विभागले बताएको छ । विभागले दुई वर्षअघिदेखि (२०७६ साल) नै तामाङ आवद्ध सिभिल सहकारी र उनी आवद्ध कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको छ । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरिएको छ ।

यस्तै, तामाङ र सिभिल सहकारीका अन्य कर्मचारीहरूको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । दुई साताअघि अदालतले थुनछेक आदेश गर्दै तामाङ र सिभिल सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अदालतले पक्राउ परेका १२ मध्ये अन्य ९ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो । उनीहरूबाट ५० हजारदेखि ५० लाख रुपैयाँसम्म धरौटी माग गरिएको छ । जिल्ला अदालतको आदेश चित्त नबुझेपछि यी दश जनालाई पनि मुद्दाको अन्तिम टुंगो नलागुन्जेसम्म थुनामै राख्नुपर्ने मागसहित आफूहरू उच्च अदालत जाने तयारीमा रहेको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ गतेमा तामाङलाई पक्राउ गरेको थियो । उनी आवद्ध सहकारीले दुई हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS