नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि विषयमा आफूले अब पदको गरिमालाई ख्याल गरेर बोल्नुपर्ने जनाएका छन् । आफूमा अन्य नागरिकसरह अभिव्यक्ति स्वतन्त्रता रहे पनि महामन्त्रीजस्तो जिम्मेवार पदमा रहेका कारण जुनसुकै विषयमा जहाँ पायो त्यहाँ प्रतिक्रिया जनाउन अब नमिल्ने प्रस्ट पारे । उनले पार्टीका अर्का महामन्त्री गगन थापासँग सहकार्य गरेरै अघि बढ्ने र पार्टीलाई नयाँ गति दिने सवालमा सभापति शेरबहादुर देउवालाई पनि खुलेर साथ दिने जनाए । महामन्त्री पदमा निर्वाचित भइसकेपछि उनका योजना, प्राथमिकता र दायित्वका सन्दर्भमा केन्द्रित रहेर रातोपाटीले विस्तृत वार्ता गरेको छ । प्रस्तुत छ,पार्टीको आगामी कार्यभार, सरकारको भूमिका लगायतका समसामयिक विषयमा महामन्त्री शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश–

महामन्त्रीमा निर्वाचित भएपछि प्रदेश १ सहित केही जिल्लामा भ्रमण गरेर फर्किनु भएको छ । कार्यकर्ताले तपाईंप्रति गरेको अपेक्षा र पार्टीमा चाहेको सुधार के हो ?

महामन्त्री भइसकेपछि दुई–तीन वटा प्रदेशमा कार्यक्रम भए । सुरुमा काभ्रेको कार्यक्रममा सहभागी भएँ । त्यसपछि कास्की जिल्ला कार्यसमितिले कार्यक्रममा गएँ । त्यसपछि झापा, इलाम, पाँचथर ताप्लेजुङ र मोरङ पुगेँ । कहीँ गाउँको कार्यक्रम, कहीँ जिल्लाको कार्यक्रम, केही अन्य खाालको भेटघाट गरेँ । सबैतिर नेपाली काँग्रेसलाई रुपान्तरित गर्नुपर्छ । नेपाली काँग्रेसलाई बदलिएको बनाउनुपर्छ । बलियो बनाउनुपर्छ भन्ने भावना छ । त्यो कार्य गर्नका लागि हामी साथीहरु साथमा छौं भन्ने खालको समर्थन र भावना पाएको छु ।

कार्यकर्ताको भावनालाई सम्बोधन गर्नेगरी वर्तमान कार्यससमिति अगाडि जान्छ ? नेतृत्व त पुरानै छ । कार्यकर्ताको आकांक्षामात्र फेरिएको हो । कार्यकर्ताको त्यो अपेक्षा यो नेतृत्वले पूरा गर्न सक्छ जस्तो लाग्छ तपार्ईलाई ?

पहिलो कुरा, यो केन्द्रीय कार्यसमिति बनेको दुई हप्ता भएको छ । ८ गते राति मतगणना सकियो । १० गते शपथ ग्रहण भएको हो । आज २९ गते भयो । यो १९ दिनको बीचमा दुई वटा बैठक भएको छ । १९ दिनकै बीचमा पाँच वर्षका लागि आएको कमिटीले सबै कुरा गर्छ भन्ने होइन । तर हामीले तत्कालीन विषयमा निर्णय गरेका छौं । पहिलो बैठकबाट दल दर्ताको विषयमा गयौं, आभार प्रकट ग¥यौं, धन्यवाद व्यक्त ग¥यौं ।

महाधिवेशनको स्प्रिट अनुसार पार्टीलाई अगाडि लान्छौं भन्ने कुरा भयो । दोस्रो बैठकबाट राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार चयन गर्दा त्यही दिनमात्र बाँकी थियो । बिहान गठबन्धनका दलको सिट बाँडफाँट भएको छ । त्यही दिन अपराह्न पार्टीले उम्मेदवार तय ग¥यो । पार्टी यो १९ दिनको बीचमा मुल विषयमा प्रवेश गरिसकेको छैन । तेस्रो, चौथो, पाँचौं बैठक आउँदा वृहत्तर विषयमा गम्भीर रुपमा प्रवेश गर्छौं । हामी आफ्नो कामलाई सुरु गर्छौं । केन्द्रीय कार्यसमितिले लामो यात्राको सन्दर्भमा काम सुरु गरिसकेको छैन ।

आगामी केन्द्रीय कार्यसमितिबाट पार्टी एउटा लयमा जान्छ भन्नुभयो । काँग्रेसमा बुढा पुस्ताबाट युवा पुस्ता असफल हुने खतरा पनि देखिन्छ । तपाईले कसरी हेर्नुभएको छ ?

कार्यसमिति भनेको कार्यसमिति हुन्छ । कार्यसमितिलाई पाकोको अनुभवबाट दीक्षित र युवाको स्प्रिटबाट गतिमा कसरी लिएर जाने भन्ने कुरा हुन्छ । को को अनुभवी, कसको उमेर कति हो भनेर कुरा आउँदैन । यहाँ जिम्मेवारीको कुरा आउँछ । जे जिम्मेवारी दिएको छ, त्यो अनुसारको काम गर्नुपर्छ ।

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मालाई महाधिवेशनमा प्रतिनिधिले एजेण्डा र उमेरलाई हेरेर छनोट गर्नुभएको देखिन्छ । पार्टी नयाँ ढंगले लैजान के के आधार तयार पार्नुभएको छ ?

समग्रमा केन्द्रीय कार्यसमिति नयाँ हो । यसअघि को के जिम्मेवारीमा हुनुहुन्थ्यो भन्ने कुरा १३ औं महाधिवेशनको विषय थियो । १४ औं महाधिवेशनले दिएको अभिभारा बमोजिमको के के र कस्तो कस्तो कर्म गर्न भन्ने कुरा पार्टीको नीति महाधिवेशनले प्रस्ट्याउँछ । ०४६ सालको परिवर्तनपछि नेपाली काँग्रेसमा नेतृत्व चयन र नीति निर्माणको कार्यक्रमको अधिवेशन एउटै हुन्थ्यो । त्यसमा नेतृत्व चयन प्रधान हुन्थ्यो । नीतिको विषय ओझेलमा पर्थ्यो । मैले १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य उम्मेदवार बन्दै काँग्रेसमा परिवर्तनको १५ औं प्रस्तावमा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक फकर हुनुपर्छ भनेर लेखेको थिएँ ।

केही साथीले पनि विभिन्न ठाउँमा बोल्दै आउनुभएको थियो । १४ औं महाधिवेशनमा नीति तथा कार्यक्रम नहुने निर्णय गर्नुभन्दा २–३ महिना अगाडि पनि टेलिभिजन कार्यक्रममा नेतृत्व र नीति महाधिवेशन छुट्टा छुट्टै हुनुपर्छ भनेर बोलेको थिएँ । त्यतिबेला हुन्छ भन्ने त थिएन । तर तत्कालीन महामन्त्री पूर्णबहादुर खड्काले नीति अधिवेशन पछि गरौं भनेर प्रस्ताव ल्याउनुभयो ।

पदाधिकारी तथा पूर्वपदाधिकारी र केन्द्रीय समितिबाट सर्वसम्मत पास भयो । त्यसकारण अहिलेको कमिटी १४ औं महाधिवेशनले नेतृत्व चयन गरेको हो । अब नीति, कार्यक्रम, विचारको कुरो आदि इत्यादि कुरा नीति अधिवेशनबाट टुंगो हुन्छ । अहिले बदलिएको समाज बमोजिम हामी एकताबद्ध भएर जान्छौं ।

काँग्रेसले त्यो नीति अधिवेशनचाहिँ कहिले गर्छ ?

स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन अगाडि नीति अधिवेशन गर्ने हाम्रो पूर्ववत् सल्लाह थियो । अब यो विषयमा छलफल गर्छौं । पार्टीका उपसभापति पूर्णबहादुर खड्का र हामी महामन्त्री छलफल गरौं । तर यो भन्दै गर्दा हामी निर्वाचनमै जाने कुरामा पनि राष्ट्रियसभा निर्वाचनमै जटिलता आउँछ भन्ने खतरा छ । १६ वटा जिल्ला अधिवेशनकै के हुन्छ भन्ने खतरा छ । बढिरहेको कोरोनाको प्रतिकूलतालाई मध्यनजर गरी जाँदै गर्दा हामीले नीति अधिवेशनबारे उपयुक्त निर्णय गर्न फेरि सोच्नुपर्ने हुनसक्छ । एकातर्फ नीति अधिवेशन चाँडै गर्नुपर्ने हाम्रो जिम्मेवारी हुन्छ । त्यसपछि हाम्रो धेरै कामको प्रक्रिया सुरु हुन्छ । साथै हामीले सँगैको प्रतिकूलतालाई उत्तिकै दृष्टिगत गर्नुपर्ने हुन्छ । यसबारेमा चाँडै निर्णय गर्छौं ।

महामन्त्री गगन थापा र तपाई नीति र व्यवहारिक विषयमाथि भगीरथ छलफलमा हुनुहुन्छ । पार्टी र राष्ट्रिय राजनीतिमा नीतिगत हस्ताक्षेप गर्नुपर्ने ठाउँ कहाँ कहाँ देख्नुभएको छ ?

हस्तक्षेपभन्दा पनि पार्टीको महामन्त्रीले नेतृत्व गर्ने कुरा हो । हस्तक्षेप भन्ने कुराले पुग्दैन । नेतृत्व नै गर्नुपर्छ । राष्ट्रिय राजनीति र पार्टीमा आन्तरिक सुधारका अनेकौं विषय छन् । महामन्त्री गगन थापा र म बसेर पुस २८ गते १४–१५ वटा विषय सुत्रबद्ध गरेका छौं । त्यसमा अनेक सन्दर्भ छ ।

ती के–के हुन्, भन्न मिल्छ ?

अहिले त्यसमा सबै भन्न नसकिएला । दुई जना महामन्त्री आन्तरिक र राष्ट्रिय राजनीतिका विषय सुत्रबद्ध गर्दै गरेका विषयमा सार्वजनिक रुपमा थाहा नै छन् । उखु किसानको विषयदेखि लिएर कोरोनाका कुरासम्म सुत्रबद्ध गरिरहेका छौं ।

प्रशासनभित्रका कतिपय काम गराएका ढिलासुस्ती, चिकित्सा शिक्षा, संविधानको अपनत्व, स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउने र त्यो निवर्तनमा हामी कसरी प्रस्तुत हुने थुप्रै विषय समेटेका छौं ।

यस्तै, संगठनको आन्तरिक व्यवस्थापनको विषय छ । यस विषयमा हामी पार्टी सभापति र केन्द्रीय कार्यसमितिका साथीहरुसँग छलफल गरौं । यी विषयमा हामी कहाँ हो ? यी विषय हाम्रो धारणा के हो ? यी विषयमा हामी नेतृत्व कसरी गर्दैछौं भन्ने कुरालाई पनि प्रस्ट गरेर जान्छौं । एउटा आन्तरिक घरेलु जीवनको प्रश्नमा नीति अधिवेशनको विषय छ ।

यस्तै भ्रातृ संस्थाहरु व्यवस्थित, विधानसम्मत विभाग बन्ने बनाउने र विधानले तोकेको विषयमा अन्य संरचनागत काम गर्ने आन्तरिक विषय छन् । सार्वजनिक राष्ट्रिय राजनीतिका विषय पनि छन् । हाम्रो काम गर्ने कार्यशैलीका विषयमा कसरी समझदारी बनाएर जाने भन्ने छ । काँग्रेस केन्द्रीय कार्यसमितिको पूर्णता हुँदै गर्दा केन्द्रीय कार्यसमितिभित्रै पर्नै पर्ने केही महत्वपूर्ण व्यक्तित्व छन् । हिजो महाधिवेशनबाट हामी आयौं । हामीभन्दा योग्य साथीहरु, उही पदमा प्रतिस्पर्धा गरेका साथीहरु जो छुट्नुभएको छ । उहाँहरुलाई कुन रुपमा सँगसँगै लिएर जाने भन्ने कुरामा सभापतिले के धारण बनाउनु भएको छ भन्ने विषय पनि छ । हामी यी समग्र विषयमा गहिरो छलफल गरिरहेका छौं ।

महामन्त्रीका रुपमा तपाईहरुले गर्ने काम त छँदैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यकर्तालाई कुन ढंगले बिजनेस दिन्छन् भन्ने कुरा पनि छ । त्यसका लागि के कस्तो रणनीति बनाइराख्नु भएको छ ?

हामी महामन्त्रीहरूले बिजनेस दिने भन्दा पनि संगठनको व्यवस्थापन र विचार निर्माणका सन्दर्भमा काम गर्छौं । त्यो काम गरिरहँदा सम्रगतामा पार्टी पंक्तिलाई परिचालित र प्रेरित गर्ने कुरामा केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर जान्छौं ।

काँग्रेसका करिब सबै भ्रातृ तथा शुभेच्छुक संस्था कोमामा पुगेको स्थिति छ । उनीहरुलाई पुनर्जागृत गर्न के गर्नुहुन्छ ? आगामी स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनअघि भ्रातृ तथा शुभेच्छुक संस्था पुनर्जागृत हुन्छ ?

भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाको एउटै खालको अवस्था होइन । जस्तै काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनले सबै जिल्ला अधिवेशन गरिसकेको छ । अधिवेशनको तयारी अवस्थामा छ । प्रेस युनियनका अध्यक्ष म अधिवेशन चाँडै गर्न चाहन्छु, पार्टीबाट केही कुरा आओस् भन्नुभएको छ । काँग्रेसका तीन –चार वटा भ्रातृ संस्थाको अधिवेशन प्रक्रिया पनि सुरु भएको छैन । जस्तै दलित संघ, महिला संघ, नेविसंघ, तरुण दल र मुस्लिम संघका राष्ट्रिय अध्यक्ष केन्द्रीय कार्यसमितिमा पुग्नु भएको छ । यी सबै विषय नेपाली काँग्रेसको रुपान्तरणका क्रममा पार्टीका भ्रातृ, शुभेच्छुक संस्थालाई व्यवस्थित गरेर जान्छौं । ०७४ को निर्वाचनमा जाँदै गर्दा हामीसँग पार्टीको प्रवक्तासमेत थिएन । त्यो खालको अवस्था यो निर्वाचनमा आउन दिँदैनौँ । त्यो अवस्था आउने छैन । यो विषयमा सभापतिसँग सल्लाह भएको छ । सभापति पनि यो विषयमा सकारात्मक हुनुहुन्छ ।

गगन थापा र तपाईंसँग एक खालको सहकार्य भइरहेको छ । गगन थापा र तपाईंलाई १५ औं महाधिवेशनमा सभापतिका रुपमा हेर्ने कार्यकर्ताको पंक्ति पनि बढ्दै गएको देखिन्छ । आगामी ५ वर्ष गगन थापासँग तपाईको संघर्ष मिश्रित सहकार्य हुन्छ वा विल्कुल सहकार्य मात्र ?

एउटै कक्षा कोठामा पढ्दै गरेका विद्यार्थीले सबभन्दा बढी के ध्यान दिनुपर्छ भने हामीलाई पढ्नका लागि कोर्स निर्धारित छ । पढ्ने कुरामा हामी कति गम्भीर भएर पढ्छौं ? परीक्षा हलमा एक्लाएक्लै परीक्षा दिइएला तर पढ्ने बेला विद्यार्थीले सँगसँगै सहकार्य गर्छन् । उसले उसलाई सिकाउने, उसले ऊबाट सिक्ने अवस्था हुन्छ । कक्षा कोठामा गुरुले पढाएको मात्रै सिक्ने होइन, सँगै पढिरहेको एउटै बेन्चका विद्यार्थीले पनि एकआपसमा पढिरहन्छन् । त्यसबेला समग्र विद्यार्थीको ध्यान केमा हुनुपर्छ भन्दा पढाइमा हो । त्यो पढाइका क्रममा तोकिएका जिम्मेवारीमा ।

हाम्रो राजनीतिमा एउटा खराबी के छ भने मान्छेको हातमा एउटा जिम्मेवारी दिइसकेपछि उसले त्यो जिम्मेवारीलाई गहिरोसँग सम्पादन गर्ने कुरामा ध्यान हुँदैन, बरु यसपछि म के बन्ने भन्ने हुन्छ । उसको शुभचिन्तकले पनि खादा माला लगाउँदै अब यो बन्नुपर्छ भन्छन् ।

मलाई खादा माला जतिले लगाइदिनुभयो होला, जतिले टेलिफोन गर्नुभयो होला, त्यसमध्ये ८० प्रतिशतले ‘लहै विश्वप्रकाश शर्मालाई १५ औं महाधिवेशनमा हामी नेपाली काँग्रेसको सभापतिमा भोट हाल्न चाहन्छौं, देख्न चाहन्छौं, समर्थन गर्न चाहन्छौं’ भन्नुभयो ।

म प्रवक्ता भएपछि अब के हुन्छौ तिमी भनेर सोध्दाखेरि मैले प्रत्येकलाई विनम्रतापूर्वक दुई हात जोडेर भन्थेँ– मलाई प्रवक्ता बनाउनुभएको छ, प्रवक्ताको काम गर्न दिनुस् । अहिले पनि मैले भन्ने त्यही हो । मलाई लाग्छ, गगन थापाले भन्ने पनि त्यही हो । हामीभन्दा एक से एक योग्य साथीहरु कार्यसमिति र बाहिर पनि हुनुहुन्छ । हामीलाई दिएको जिम्मेवारी जे छ, त्यसलाई गहिरोसँग बुझ्ने र त्यो कामलाई सम्पादन गर्नेतर्फ लाग्ने प्राथमिक कर्तव्य र प्रधान कर्तव्य हो । त्यसरी काम गर्दै जाँदा ठिक समयमा जब विषय आउँछ अनि त्यसमा प्रवेश गर्नुपर्छ ।

यसको अर्थ अबको ५ वर्षको अवधिमा दुई महामन्त्री मिलेरै जाने र अर्को महाधिवेशनको बीचमा मात्रै को कहाँ हुन्छ भन्ने हो ?

एउटाले अर्कोलाई बल दिने कुरा, एउटाले अर्कोलाई साथ दिने कुरा, एउटाले अर्कोलाई हात दिने कुरा र एउटाले अर्कोसँग कदममा कदम मिलाउने कुरा देशभरिका साथीहरुको अपेक्षा हो । त्यो अपेक्षालाई गहिरोसँग आत्मसात् गर्नु हाम्रो कर्तव्य हो । त्यो भन्नुको अर्थ विश्वप्रकाशले कुनैबेला कमजोरी ग¥यो भने गलत नऔंल्याउने र ? औंल्याउनुपर्छ । गगन थापाबाट कुनैबेला कमजोरी भयो भने विश्वप्रकाशले नऔंल्याउने र ? औंल्याउनुपर्छ । तर त्यसलाई कुन रुपमा बुझ्नुपर्छ भने हामी व्यक्तिमात्रै दुईवटा हो, महामन्त्री पद एउटै हो, जसमा दुई जना रहने व्यवस्था छ ।

सभापति एउटा पद हो, त्यहाँ एकजनाको मात्रै व्यवस्था छ । महामन्त्री पद एउटा हो, त्यसमा दुई जना रहने व्यवस्था छ । समग्रमा महामन्त्री भन्ने चरित्र, स्वरुप, अधिकार त एउटा हो नि ! संगठन विस्तारित र बृहत भयो र न दुईवटा महामन्त्रीको व्यवस्था गरिएको हो । तर सारमा संगठनको महामन्त्री जुन हो, त्यो एकीकृत रुपमा एकतावद्ध बुझ्नुपर्ने, काम गर्नुपर्ने विषय हो । यसलाई कसरी पनि बुझ्नुस्, विगतका कुनै कालखण्डमा काँग्रेस पार्टीभित्र दुईवटा नेतृत्व देखिँदै गर्दा त्यसको बीचमा द्वन्द्वमात्रै भइरहेको भन्ने कोणबाट हेरेर अब पनि द्वन्द्व होला भन्ने होइन । दुईटा नेतृत्व विकसित हँुदै गर्दा विकसित हुँदै गएको नेतृत्वले के बुझ्नुपर्छ भने हामीभन्दा सुयोग्य र हामीलाई नेतृत्व गर्नेहरु हाम्रै कार्यसमितिभित्र पनि हुनुहुन्छ र हामीभन्दा बाहिर पनि हुनुहुन्छ ।

दोस्रो कुरा, हामी अब के बन्ने भन्ने कुरा अहिले सोच्ने पनि होइन, अहिले काम गर्ने हो । हामीले अबको ५ बर्षको बीचमा सबैको नजरबाट परीक्षणको कारखानामा ठिक ढंगले खारिन्छौं कि खारिदैनौं भन्ने देशले हेर्न करेक्सन गर्न बाँकी छ ।

तेस्रो कुरा, नेतृत्वको द्वन्द्वबाट ग्रसितमात्रै होइन, नेतृत्वको एकताबाट विकसित भएको पनि उदाहरण छ । गगन र विश्वप्रकाशले नयाँ नमुना पेस गर्न सक्लान्, ल गगन अघि बढ विश्वप्रकाश साथमा छ भनेर भन्न सकिएला । ल विश्वप्रकाश अघि बढ म साथमा छु भनेर गगनले भन्न सक्ने अवस्था आउला । फरक फरक जिम्मेवारीमा जाने खालको सल्लाह हुनसक्ला । हामी दुवैले समर्थन गरेर अरुलाई अघि बढ भन्ने हुनसक्ला । यी सबै विषयका लागि ठिक समय आएपछि तय हुन्छ ।

महाधिवेशनको मुखमा तपाई एउटा अवधारणापत्र सार्वजनिक गरेर मतदाता बिचमा पुग्नुभएको थियो । महाधिवेशनमा लोकप्रिय मत ल्याएर निर्वाचित पनि हुनुभयो । ती जे अवधारणा सार्वजनिक गर्नुभएको थियो, त्यसलाई पार्टीको पुँजी बनाएर अघि बढ्ने तपाईको प्रयास पनि होला तर ती अवधारणालाई पार्टीले ग्रहण गर्ने अवस्था छ कि छैन ?

व्यक्ति व्यक्ति मिलेको एउटा संरचना हो पार्टी । त्यसकारण व्यक्तिगत रुपमा हिजो विश्वप्रकाशले राखेको विषय व्यक्ति विश्वप्रकाशको चिज थियो भन्ने एउटा पाटो भयो । अर्को विषय, उसले राखेको विषय नीति अधिवेशनमा गएर पास भएको अवस्था त होइन । तर सँगै के हो भने विश्वप्रकाश शर्मालाई महामन्त्री पदमा अनुमोदन गर्नु भनेको उसले राखेका दृष्टिकोणहरुलाई पनि कुनै न कुनै रुपमा समर्थन गर्नु पनि हो । त्यसकारण ती विषयमा विश्वप्रकाश शर्मा हिजो प्रस्ट थियो, आज प्रस्ट छ, भोलि प्रस्ट रहन्छ । र, त्यो विषयमा थप अन्य विषयहरु गाँसिन्छन् । किनभने नीति अधिवेशन र नेतृत्व अधिवेशन छुट्याउने भन्ने बित्तिकै मैले सामाजिक रुपान्तरण, सम्मृद्धिका अरु दुईवटा दस्तावेज त मैले ल्याइनँ । झापामा असोज ३ गते र चितवनमा मंसिर १ गते ल्याएँ, बाँकी दुईवटा ल्याउने तयारी थियो, पछि म त्यसमा गइनँ । मैले यस्ता दृष्टिकोण राखे पनि कोही साथीले मेरोभन्दा राम्रो दृष्टिकोण सोचिरहेको पनि हुनसक्छ ।

महामन्त्री हुँदै गर्दा हिजो मैले राखेको थिएँ, त्यो नै सर्वोसर्वा हो, त्यसैमा विद्वता छ, त्यसमै सबैभन्दा बढी, प्रकाश र ओज छ भनेर म भन्दिनँ । त्योभन्दा अझै राम्रा कुरा पनि साथीहरूबाट नीति अधिवेशनमा आउनेछन्, तिनलाई पनि गाँसेर साझा सम्पती बनाउने प्रयास हुनेछ । गगन थापाले मेरोभन्दा राम्रो ल्याउनुभएको होला, अरु साथीहरुले त्योभन्दा अझै राम्रो ल्याउनुभएको होला तर नोटिसमा नआइरहेको होला । या अर्को साथीले लेखेर तयारी गर्नुभएको होला या नीति अधिवेशन हुने भनेपछि लेख्नेक्रम सुरु गर्नुहोला । यी सबै कुरा नीति अधिवेशनमा इन्डोर्स गरिन्छ ।

अहिलेको काँग्रेस कार्यसमितिको बनोट हेर्दा तपाई अघि सारेका विषय कति प्रतिशत कार्यान्वयन हुने देख्नुहुन्छ ?

सकिने या नसकिने भन्नुभन्दा पनि सक्नुपर्छ भन्ने हो । मैले वान, टु, थ्री, फोर भनेँ । एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री चार पटक सांसद । कोही पनि मान्छे सांसद भएपछि २० वर्षमा के के हुन मन लाग्छ सबै होस् । तर त्योभन्दा बढी पाउँदैनौ भनेँ नि । त्यो त काँग्रेस पार्टीका लागिमात्रै होइन, त्यो कुराको बहस गरेर हामी जान्छौं भन्ने प्रस्ताव बन्छ भने अरु कसैले ‘होइन, त्योभन्दा बढी चाहन्छौं’ भन्ला ।

हिजो शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्नुभयो होला, मैले त विश्वप्रकाशको पुस्तालाई प्रस्ताव गरेको हो । विश्वप्रकाश शर्माहरु या त्योभन्दा पछाडि आउनेहरुले के फलो गर्नुप¥यो भने यो देशमा जतिसुकै योग्य होस्, जतिसुकै लोकप्रिय होस्, उसले दुई पटक प्रधानमन्त्री हुन पायो भने दुई पटकमा आफ्नो क्षमता देखाउनुपर्‍यो । त्यो त राष्ट्रकै लागि परिकल्पना गरेको हो मैले । राजनीतिमा मानिसलाई ‘एक्जिट पोलिसी’ भएन भने कहिलेसम्म बोकेर हिँड्ने ?

यिनलाई निकाल, ७० वर्ष पुगिसके भन्ने खालको आउनुभन्दा एक्जिट पोलिसी बन्यो भने दुई पटक बन्नुहुन्छ, जानुहुन्छ । यसो गर्दा झुक्नु पर्दैन । जसले पाएको जिम्मेवारीलाई ठिक समयमा सिस्टमले नै दिइसकेपछि सकिन्छ । ५६ वर्षको उमेरमा बाराक ओबामा कहाँ जानुभयो ? घर जानुभयो । सिस्टमले उहाँलाई लग्यो । उता ७८ वर्षको उमेरमा ह्वाइट हाउसमा जो बाइडेन पनि आउनुभयो । त्यसैले मैले वान, टु, थ्री, फोरको एजेण्डा ल्याएको हो । नेपालमा पनि त्यो खालको सिस्टम विस्तारै लिएर जान सकिन्छ । शेरबहादुर देउवा ५ चोटी हुनुभयो, विश्वप्रकाश किन ६ पटक हुन नपाउने ? भन्न थाल्यो भने त्यसले सिस्टम बनाउने कुरामा योगदान गर्न सक्दैन ।

आगामी चुनावमा काँग्रेसले शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अघि सार्छ ? यो विषयमा केही सोचिएको छ ?

कुनै पनि, कसैले पनि, कहीँबाट अघि सारिएको एजेण्डा जबसम्म राष्ट्रको बनिहाल्दैन, तबसम्म त्यो राष्ट्रको निश्चित संवैधानिक, कानुनी हैसियत त्यसले प्राप्त गर्दैन । प्राप्त गर्नुपूर्व नै त्यो नेपालमा लागू भइसकेको छ भन्न थाल्यो भने ! त्यसकारण जब विश्वप्रकाशले त्यो प्रस्ताव राख्यो भने अर्को प्रकाशले पनि अर्को प्रस्ताव राख्ला । अरु दलबाट अरु आउला । जब त्यो संसद, संविधान र कानुनको विषय बन्छ, बनिसकेको मितिबाटमात्रै त्यो लागु हुन्छ ।

अहिले काँग्रेसको महाधिवेशन सकिएर प्रमाणपत्र थापेको १९ दिन पुग्दै गर्दा र निर्वाचन के हो, कसो हो भन्ने टुंगो नभएको अवस्थामा मैले आगामी प्रधानमन्त्री फलानो हुनेछ भन्नु हलुका हुन्छ । समयभन्दा अगाडि ती विषयमा जानु हुँदैन । त्यसैले सामान्यतया आगामी निर्वाचन भन्ने होइन, आजको आजै कोरोनाको ग्राफ यत्रो बढेर गइरहेको छ, यसमा सरकारलाई सचेत गराउने काम होला । अन्य राष्ट्रिय राजनीतिको सन्दर्भ होला । कयौं विषय छन् ।

पार्टीगत संरचना हेर्ने हो भने शेरबहादुर देउवा शक्तिशाली ढंगले अगाडि आउनु भएको छ । जसरी पार्टीमा उहाँको पकड बलियो भयो, त्यसैगरी भोलि संसदमा पनि बलियो बनेर आउनु भयो भने उहाँको नेतृत्वलाई कसैले रोक्न सक्दैन । त्यो अवस्थामा छैटौं पटक उहाँलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने या अरु कसैले नेतृत्व गर्नु उचित हुन्छ ?

आगामी निर्वाचनभन्दा अगाडि अब विश्वप्रकाश शर्माले एउटा पनि अन्तरवार्ता दिँदैन भन्ने गरी अहिले नै सबै विषयमा बोल्नुपर्छ ? तर ठिक विषय ठिक समय नआइकन अहिले नेपाली काँग्रेसको महामन्त्रीले अनलाइनमा एउटा न्यूजको शीर्षक हुनेगरी मात्र बोलेर केही अर्थ हुँदैन । त्यसलाई अलि परिपक्व ढंगले राख्नु प¥यो ।

तपाईको प्रश्नमा जागरुकता हुने कुरा स्वाभाविक हो । तर पार्टीको महामन्त्रीको पदमा बसेर विश्वप्रकाश शर्माले यो बोल्ने भनेरमात्र हुँदैन । कुनै पनि त्यस्तो विषयमा बोल्नु हुँदैन, जुन विषयको बारेमा पार्टीभित्र गम्भीर विमर्श, परिपक्व ढंगले छलफल, ठीक समय भएको हुँदैन । पहिलाको पनि तपाईले सम्झनुभयो भने प्रवक्ता हुँदैगर्दा पनि म हतारिएर बोल्दैनथेँ । आवेगमा बोल्दैनथेँ । धेरै मान्छे खुशी बन्नुहोला, फेसबुकमा लाइक आउला भनेर म बोल्दैनथेँ ।

अहिले पनि मेरो कुरा के हो भने मैले मलाई दिइएको पदको गरिमालाई बुझ्नु पर्छ । त्यो बमोजिम ठीक विषयलाई ठीक ठाउँमा प्रवेश भएर त्यसबारेमा आफ्नो दृष्टिकोण तत्–तत् स्थानमा राखिसकेपछि बोल्ने हो । त्यसरी नराखेर सिधै रातोपाटीमा आफ्नो कुरा राख्ने हो भने भोलि केन्द्रीय समिति किन चाहियो ? कार्यसम्पादन समिति किन चाहियो ? संसदीय बोर्ड किन चाहियो ? त्यहाँ संसदीय बोर्डमा, कार्यसम्पादन समितिमा, केन्द्रीय समितिमा राख्नुपर्ने, छलफल गर्नुपर्ने, परिपक्व बनाउनुपर्ने विषयलाई त्यहाँ परिपक्व नबनाइ मैले मिडियामार्फत बोल्नु राम्रो हुँदैन ।

नयाँ कार्यसमिति आएको छोटो समयमै पार्टीमा एक किसिमको द्वन्द्वको स्थिति बनिसकेको छ, सभापति पदमा पराजित नेता शेखर कोइरालाले यस्तै ढंगले पार्टी अगाडि बढे दुर्घटना हुन्छ भन्नेखालको चेतावनी पनि दिनुभएको छ । त्यसको अर्थ के होला ? तपाईले कसरी लिनुभएको छ यसलाई ?

केन्द्रीय कार्यसमितिले काम सुरु नै नगरी, यात्रा सुरु गर्न गाडीको सिटमा बसेर चाबी घुमाउने बित्तिकै दुर्घटना हुन्छ भन्ने खालको कुरा उहाँले बोल्नुभयो होला भन्ने मलाई लाग्दैन । नेपाली काँग्रेस पार्टीलाई व्यवस्थित तरिकाले लिएर जाने सन्दर्भमा सभापतिले गम्भीरता राख्नुपर्छ, राख्नुहुनेछ । र, सभापतिका प्रतिस्पर्धीले म सभापति भइनँ, त्यसकारण म जिम्मेवारीमा छैन भन्ने सोच्नुहुँदैन । दुवैले मत प्राप्त गर्नुभएको छ । पहिलो चरणमा चार–पाँच जनाले मत पाउनुभयो, दोस्रो चरणमा त दुई जनाले मत पाउनुभएको छ नि । दुवैको मतलाई गाँसेर निर्वाचनमा हामी पहिलो हुनुछ ।

पार्टीलाई व्यवस्थित गरेर कसरी जाने भन्ने सन्दर्भमा सभापति र सभापतिका प्रत्यासी दुवैले नै संवाद गर्ने, एकतावद्ध ढंगले सोचेर जाने र केन्द्रीय कार्यसमितिमार्फत संगठनका बृहत कार्यक्रम बनाएर जाने कुरा नै परिपक्व हुन्छ । हामी त्यही विषयमा उहाँहरु दुबैलाई सुझाव पनि दिन्छौं ।

१४ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पार्टीका सबै पक्षको प्रतिनिधित्व गरेर अगाडि बढ्ने अपेक्षा गरिएको तर त्यो ढंगले सभापति देउवा अघि नबढेको उहाँहरुको आरोप छ, तपाई उहाँहरु दुबैको समूहभन्दा बाहिरबाट महामन्त्रीमा आउनु भएको हो । शेखर कोइरालाको उक्त भनाइलाई तपाई कसरी लिनुहुन्छ ?

सभापतिले १४ औं महाधिवेशनपछि गरेको निर्णय भनेकै मनोनयनको निर्णय हो । केन्द्रीय कार्यसमितिमा भएको मनोनयन बाहेक सभापतिबाट अरु कुनै निर्णय भएको छैन । निर्णय गर्दैगर्दा सभापतिज्यूले आफूसँग असहमत रहेका, विपक्षमा मत हालेका, आफ्नो विरुद्धमा उभिएका, आफूभन्दा फरक कित्ताबाट पदाधिकारीमा उम्मेदवारी दिएका साथीहरुलाई समेत समेटेर जाने कुरामा सभापतिज्यूले हेक्का पु¥याउनुपर्छ र पुर्‍याउनुहुन्छ ।

योबीचमा त्यस्तो हेक्का पुर्‍याउनु भएन भन्ने हो ?

त्यो त यसो हो, यतिमा चाहिँ घाम लागेको छ भन्दा बाँकीमा चाहिँ घाम लागेको छैन हो भन्ने विषयतिर किन जानु ? त्यतिमा घाम लागेको छ, त्यही घाम ताप्नुपर्छ भन्ने हो । मैले के हुनुपर्छ भन्नेबारे भन्न खोजेको हो । मेरो प्रयत्न जहिले पनि समाधान के हुनुपर्छ भन्नेमा नै रहन्छ ।

विश्वप्रकाश शर्मा नेतृत्व परिवर्तनका लागि उभिनुपर्थ्यो भन्ने अपेक्षा थियो । तर सभापति पदका लागि दोस्रो चरणमा निर्वाचन भइरहँदा तपाईले प्रकाशमान सिंहसँगै शेरबहादुर देउवालाई सघाउने निर्णय लिनुभयो । विवेक पुर्‍याएन भनेर तपाईको त्यो निर्णयको आलोचना पनि भयो । यी आलोचनालाई कसरी लिनुभएको छ ?

पहिलो चरणको निर्वाचनले परिणाम नदिइसकेपछि दोस्रो चरणमा जाँदैगर्दा कसले कसलाई समर्थन गर्ने भन्ने सन्दर्भमा सभापतिका उम्मेदवारहरूको निर्णायक भूमिका हुने हो । सभापतिका उम्मेदवारले पाएको मत हो नि त । सभापतिका उम्मेदवारले पाएको मतको एकलौटी ठेकेदार उहाँहरुको होइन तर उहाँहरुको समर्थन कहाँ हुने भन्ने कुरा स्वाभाविक रुपमा उहाँहरुले निर्णय गर्ने कुरा हो ।

विश्वप्रकाश शर्मा त सभापतिको उम्मेदवार थिएन नि । त्यसकारण त्यो अवस्थामा मेरो सभापतिको उम्मेदवार फलानो भनेर बोल्ने अवस्था रहँदैनथ्यो । सँगैमा अर्को सत्य के हुन्थ्यो भने प्रकाशमान सिंहले ३७१ मत पाउनुभएको छ, यो बडो दुःखी मत छ, त्यसकारण मैले उहाँलाई छोडेँ भनेर मैले घोषणा गर्न मिल्दैनथ्यो नि त । त्यहाँ नैतिक कुरा पनि हुन्छ । तपाईले समर्थन गरेको उम्मेदवारले धेरै भोट ल्याउनुभयो, त्यसकारण तपाई उभिनुभयो– त्यो नैतिक हुन्छ कि तपाईले समर्थन गरेको उम्मेदवारले साह्रै न्यून मत पाउनुभयो तर पनि तपाई म उहाँसँग उभिन्छु भन्नुचाहिँ नैतिक हुन्छ ? मैले प्रकाशमान सिंहसँग उभिनुलाई नैतिक ठानेँ ।

१३ औं महाधिवेशनपछि शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएर राष्ट्रिय राजनीतिमा आफ्नो सक्रियता र पहिचान बढाउने मौका दिएको तर १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रुपमा तपाईलाई सहयोग नगरे पनि तपाईले भने देउवालाई अघिल्लो कार्यकालमा आफूप्रति गरेको विश्वास र दिएको जिम्मेवारीको गुन तिर्न अहिले समर्थन गरेको हो भन्न मिल्छ ?

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा राम्रो मतका साथ निर्वाचित भएको केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई उहाँले प्रवक्ताका रुपमा मनोनयन गर्नुभयो । बिर्तामोडमा त्यत्तिकै सुस्तार हिँडिरहेको अवस्थामा विश्वप्रकाशलाई देखेर उहाँले टिपेर ल्याएर प्रवक्ता बनाएको होइन ।

काँग्रेसको विधानले के भन्छ भने केन्द्रीय कार्यसमिति सदस्यमध्येबाट प्रवक्ता बनाउन पाइन्छ । प्रवक्ता बनाउँदै गर्दा विश्वप्रकाश शर्मा मनोनित केन्द्रीय सदस्य पनि होइन, निर्वाचित हो । त्यसरी केन्द्रीय सदस्य भएको मान्छेलाई उहाँले जिम्मेवारी दिनुभएको हो । मलाई प्रवक्ता बनाउने कुरा सभापतिको अधिकारको कुरा हो ।

मैले काम गर्न सक्छु भन्ने उहाँले सोच्नुभयो होला । अथवा उहाँले प्रवक्ता बनाउने अधिकार जसरी सभापतिका रुपमा पाउनुभयो, त्यो अधिकार पाउने सभापति बनाउने प्रक्रियामा म सामेल भएँ होला । त्यो कुरालाई गाँसिरहेर अहिले के गर्ने भन्ने कुरामा जोड्नु हुँदैन । हिजो कहाँबाट एक बटुका चिनी लिएको थियो, त्यसपछि च्युरासमेत थपेर लियो भन्ने कुरा हुँदैन ।

एकापसमा सहकार्य, साथ हुन्छ । कुन बेला, कुन क्षणमा कुन निर्णय भन्ने कुरा हुन्छ र अहिले निर्णय गर्ने (सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा कसलाई सघाउने भन्नेबारे) भन्ने कुरा सभापतिको उम्मेदवारले निर्णय गर्ने कुरा हो ।

त्यसो भए प्रकाशमान सिंहले देउवालाई समर्थन गरेका कारण विश्वप्रकाश शर्माले नैतिक रुपमा प्रकाशमान सिंहको साथ छाड्न नसकेर देउवालाई समर्थन गरेको भन्न मिल्छ ?

त्यो पनि पर्दैन । प्रकाशमान सिंहले ३७१ मत ल्याउनु भयो भनेर विश्वप्रकाशले उहाँको साथ छोड्न मिल्दैनथ्यो । कुरा यत्ति हो । प्रकाशमान सिंहले कम मत ल्याउनु भयो, उहाँ तेस्रो, चौथो वा पाँचौं पोजिसनमा पुग्नुभयो, त्यसकारण विश्वप्रकाश शर्माले उहाँको साथ छोड्यो भन्नेकुरा मबाट हुँदैनथ्यो, भएन ।

मैले जसलाई समर्थन गरेर उभिनुपर्ने हुन्छ, आन्तरिक राजनीतिमा या राष्ट्रिय राजनीतिमा या घरायसी कुरामा– जस्तोसूकै अवस्थामा समर्थन हुन्छ । तपाईलाई समर्थन गरिरहेको मान्छे कुनैबेला बलियो हुन सक्छ, तपाईले त्यो बेला साथ नदिनुस्, तपाईले समर्थन गरिरहेको मान्छे कुनैबेला कमजोर हुन सक्छ, त्योबेला पनि तपाईले साथ दिनुभयो भने तपाईको परीक्षा हुन्छ नि त ।

जस्तो, झापा जिल्ला कार्यसमितिको सभापतिमा म १२ औं अधिवेशनमा लडेर आएको । तर १२ औं अधिवेशनमा मलाई केन्द्रीय सदस्य लड भनेर तत्कालीन कार्यवाहक सभापति सुशील कोइरालाले पनि भन्नुभयो ।

शेरबहादुर देउवाले भन्नुभयो ‘तपाई झापाको सभापतिमा लड्नु हुँदैनथ्यो, लडे पनि हार्नु हुँदैनथ्यो, हारे पनि तपाई केन्द्रीय सदस्यमा लड्न पाउनु हुन्छ, आउनुस् लड्नुस् ।’ यो कुरा सुशील कोइरालाले पनि भन्नुभयो । तर म लडिनँ । एक महिना अगाडि सभापतिमा चुनाव लड्ने र हात जोडेर हजुर सभापतिमा भोट दिनुस् भन्ने । फेरि एक महिनापछि केन्द्रीय सदस्यमा लडेर हात जोड्दै हजुर केन्द्रीय सदस्यमा लडेको छु, भोट दिनुस् भन्ने ? यस्तो हुनु हुँदैन । यसमा नैतिकताको कुरा आउँछ । पदमा जति पटक पनि जित्न सकिन्छ तर नैतिकता पटक पटक जित्न सकिँदैन । म जिल्ला सभापतिमा हारेपछि एक कार्यकाल केन्द्रीय सदस्य बन्दिनँ भनेँ, त्यो मेरो नैतिक जिम्मेवारी थियो ।

नेविसंघको सभापति दुई वर्षसम्म भएका थिएँ । ३६५ मा ३६५ दिनमात्र पदमा रहेँ, ३६६ दिन हुन दिइनँ । त्यो मेरो नैतिक जिम्मेवारी थियो । अरु कसले छाडे, कसले छाडेन त्यो मेरो सरोकारको कुरा होइन । मलाई जे जिम्मेवारी दिएको थियो, त्यसलाई अपनाउनु मेरो नैतिक जिम्मेवारीमा पर्छ । प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेको थिएँ । जितेपछि उहाँको साथ छाड्दैनथेँ, हारेपछि झन् साथ छाड्नु हुँदैन भन्ने पक्षमा म हुँ ।

देउवा नेतृत्व सरकारको ६ महिना पुगिसकेको छ, सरकारको अवधिलाई तपाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

सरकारसँग नागरिकको अपेक्षा एउटा कुरामा मात्र होइन, धेरै कुरामा हुन्छ । कोरोना महामारीको दुई अढाई वर्षको अवधिमा संसारभरिकै सरकारबारे सडकमा, बिजुलीमा, यातायातमा के ग¥यो, त्यसमा त्यति कुरा उठ्दैन, मुख्य कुरा कोरोना महामारीमा त्यो देशको सरकारले जनताको जीवन रक्षाका लागि प्राथमिकताको विषय बनायो कि बनाएन । हाँछ्युँ गरेर कोरोना भगाउने भन्ने, त्यसमा १० जना मान्छे मरे भने के गर्ने ? के त्यो जिम्मेवार कुरा थियो । बुझिने भाषामा कमरेड केपी ओलीले हल्दी भनेको बुझियो । बुझिने भाषामा अम्बाको पत्ता भनेको बुझियो । बुझिने भाषा हाँछ्युँ भनेको बुझियो । तर नबुझिने भाषामा ‘खोप खोज’ पनि भनेका होलान् तर त्यो बुझिएन होला ।

अहिलेको प्रधानमन्त्री अर्थात् अहिलेको सरकारले पहिलो निर्णय खोपको बारेमा गर्‍यो । पाँच अर्ब रुपैयाँ निकासा पनि ग¥यो । संसारमा खोपको आविष्कार केपी ओलीको पालामा भयो । केपी ओलीकै पालामा पहिलो खोप पनि आयो । केपी ओलीको पालामा खोप आएको थिएन भनेर भन्दिनँ म । तर प्राथमिकतामा थिएन । थोरै आएको थियो ।

हामी माग्दै हिँडिरहेका थियौं । तर अहिले माग्ने काम पनि भयो र सरकारले खोपका लागि पैसा पनि निकासा ग¥यो । आज लगभग ३७–३८ प्रतिशत मान्छेले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । अहिले थुप्रै खोप मौज्दात पनि छ । खोप लगाउने काम तीव्र गतिमा भइरहेको छ । कोरोना बिरामीका लागि राख्ने आइसोलेशन भएन भने हामी त्यहाँ प्रश्न उठाउँछौँ । क्वारेन्टिन भएन भने हामी प्रश्न गर्छौं । होल्डिङ्ग सेन्टर भएन भने हामी त्यहाँ प्रश्न गर्छौं । फ्रन्टलाइनरहरुलाई सामग्री पुगेन भने हामी त्यहाँ प्रश्न गर्छौं । अहिले ६ महिनाको अवस्था हेर्दा खोपको जुन विस्तार भएको छ, त्यसलाई अहिलेको सरकारको सफलताको रुपमा हेर्नुपर्छ । बिजुली, बाटो पुगेन, त्यसमा पनि ध्यान दिनुपर्छ तर अहिलेको प्राथमिकता कोरोना महामारी नै हुनुपर्छ । ट्रम्पले अमेरिकामा धेरै ठूला ठूला कुरा गर्नुभएको थियो तर सकेण्ड टर्ममा किन आउनु भएन भने उहाँले कोरोना महामारीलाई प्राथमिकतामा राख्नु भएको थिएन । संसारभरिको सरकारको जनताले मूल्यांकन गर्ने कोरोनामै हो । यही सरकारको ६ महिनामा अन्य कुरा खोज्दै जाँदा धेरै कुरामा प्रश्न उठाउन सकिन्छ । तर कोरोना महामारीको क्षेत्रमा अघिल्लो सरकारको तुलनामा राम्रो भएको छ तर धेरै राम्रो भएको छ भनेर पनि भन्दिनँ अहिले । तर सरकारको प्राथमिकतामा खोप परेको हुनाले त्यो कुराका लागि उचित मान्नु पर्छ ।

तपाईहरुले केपी शर्मा ओलीलाई तानाशाहको रुपमा लिनु भएको थियो । उहाँले जुन जुन निकाय आफ्नो हातमा लिएर तानाशाह हुनुभएको थियो, अहिले पनि ती निकायहरु प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो मातहतमा राखिरहनु भएको छ, ती निकायहरु पूर्ववत् अवस्थामा किन फर्किएनन् ?

केपी शर्मा ओली कर्ममा तानाशाही हुनुहुन्थ्यो । उहाँले कर्मले देशलाई निरकुंशतातर्फ लग्नु भएको थियो । प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो । अहिले संसदलाई अवरोध गरेर राखिएको छ । केपी अ‍ोली सत्तामा हुँदा पनि संसद चल्न दिनु भएन, सत्ता बाहिर हुँदा पनि चल्न दिनुभएको छैन । त्यो अधिनायकवादी प्रवृत्ति हो । उहाँ सरकारमा हुँदा पनि अधिनायकवादी प्रवृत्ति देखाइरहनु भएको थियो भने अहिले सरकार बाहिर हुँदा पनि अधिनायकवादी प्रवृत्ति नै देखाइरहनु भएको छ ।

केपी ओलीको सरकार हुँदा काँग्रेसले शक्ति विकेन्द्रीकरणको कुरा खूब उठाएको थियो तर अहिले काँग्रेसको नेतृत्वमा सरकार हुँदा शक्ति विकेन्द्रीकरणको कुरा किन लागू भएन ?

त्यो त एउटा पाटो भयो । सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान जस्ता निकाय प्रधानमन्त्री कार्यालय मातहतमा थियो, त्यो बाहिर आउनुपर्छ भन्ने नेपाली काँग्रेसको मान्यता अहिले पनि हो । तर अहिले सम्पत्ति शुद्धीकरण त्यहाँ छ कि यहाँ छ भन्दा पनि सरकारको कोरोनामा अल्झेको छ नि । हाम्रो प्राथमिकता त्यहाँ छ । केपी ओलीलाई भेट्न जाँदा हाम्रो प्रधानमन्त्रीले संसद अवरोध भएपछि कोरोनासँग सम्बन्धित निर्णयहरु पनि अवरुद्ध भएको छ भनि कुरा उठाउनु भएको थियो ।

शक्ति विकेन्द्रीकरणको कुरा उठाउनु भएको छ, त्यो ठिक छ । प्रश्न उठ्नुपर्छ तर हामीले शक्तिशाली बन्नु पर्छ भनेर ती निकाय राखेको होइन । तपाईले उठाएको कुरा हामी प्रधानमन्त्री समक्ष राख्छौँ । अहिलेसम्म सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान किन त्यही छ भनि हामी प्रधानमन्त्रीलाई भन्छौ तर प्राथमिकतामा कोरोना नै हुन्छ । कोरोनासँग सम्बन्धित कानुनहरु पनि संसदमा अड्केको होला, त्यससँग सम्बन्धित अन्य विधेयकहरु होला । त्यसलाई पनि अगाडि बढाउन हामी प्राथमिकताका साथ भन्छौं ।

राष्ट्रियताका सवालमा नेपाली काँग्रेस यति निम्छरो किन ? भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक हुँदै सडक बनाउने अभिव्यक्ति दिँदा काँग्रेस पार्टी र त्यसको नेतृत्वमा रहेको सरकार किन मौन छ ?

लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको जब चुच्चे नक्सा सार्वजनिक भयो, राष्ट्र एक ठाउँ उभिएको थियो । त्यो नक्सा पास भएपछिको एक हप्तापछि आएको एउटा विधेयकले देश खण्डित भयो । तत्कालीन सरकार र तत्कालीन प्रतिपक्ष दलले एकवद्ध भए पनि के कुरामा हेक्का भएन भने यो विधेयक संसदबाट पास गराएरमात्र पुग्दैन, उच्चस्तरीय राजनीतिक पहल गरेर किनारामा पुर्‍याउनु पर्थ्यो । तर त्यो कुरामा गम्भीरता पुगेन । तर त्यही बेला नागरिकता विधेयक ल्यायो । देशलाई खण्डित गर्ने गरी त्यो विधेयक आएको थियो । त्यसपछि त्यो विषय किनारातिर लाग्दै गयो ।

केपी ओलीले त्यसलाई किनारा लगाउँदै गर्दा त्यसलाई काँग्रेसले बाहिर ल्याउनुपर्थ्यो, त्यो किन गरेन ? कसले रोक्यो ?

अहिले नेपाली काँग्रेसले त्यो बेला राखेका दृष्टिकोणमा कुनै बदलाव आएको छैन । पार्टीको केन्द्रीय समिति, संसदमा, सर्वदलीय बैठकमा हाम्रो सभापतिले राख्नु भएको दृष्टिकोण नै अहिले पनि हाम्रो दृष्टिकोण हो । अहिले सरकारले त्यही बाटोमा संवाद मार्फत त्यो समास्याको समाधान गर्नुपर्छ । अहिले यो सरकार बनेको समय अवधिका बीचमा यसलाई सर्वदलीय ढंगले राखेर जाने कुरा थियो । तर सत्ता र प्रतिपक्षी एक ठाउँमा बसेर सामान्य विषयमा पनि सहमतिको वातावरण नबनेको यथार्थ त हो नि ।

त्यसैले हामीले लोकप्रियताका लागि मात्र उठाउने भनेर उठाइदिएको र काँग्रेसले गरिरहेको छ भन्ने खालको खपतमात्र गर्ने कुराभन्दा हामी गहिरो आन्तरिक छलफल गरिरहेका छौं । पछिल्लो समय भारतीय प्रधानमन्त्रीले बोल्नु भएको विषयलाई पनि हामीले आन्तरिक रुपमा हेरिरहेका छौं । बोल्नका लागि मात्र विश्वप्रकाशले ट्वीट गरिदिँदा, गगन थापाले ट्वीट गरिदिँदा रिट्वीट हुन्थ्यो होला । हाम्रो हाइ–हाइ हुन्थ्यो होला । तर त्योभन्दा पनि यसलाई माथिल्लो तहमा पार्टी नेतृत्व, सरकार नेतृत्व, प्रतिपक्षीको माथिल्लो नेतृत्वमा संवाद गरेर राष्ट्रिय रुपमा एउटा दृष्टिकोण बनाएर जानुपर्छ भनेर आन्तरिक कसरत गरिरहेका छौं ।

एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विज्ञप्ति निकाल्दा काँग्रेसको महामन्त्री सानेपामा हुनुहुन्छ । यो सानेपालाई एउटा विज्ञप्ति जारी गर्न केले रोक्यो भन्ने प्रश्न उठिरहेको छ नि ?

विज्ञप्तिमात्रले पुग्दैन भन्ने कारणले त आन्तरिक कसरतमा छौं भनेको त । विपक्षमा हुँदा विज्ञप्तिमात्र निकालेर पुग्ने हुन्छ कुनै बेलामा । हामीले विज्ञप्ति जारी गरेको भए पनि ‘सत्ता पक्षले विज्ञप्तिमात्र दिएरमात्र पुग्छ ?’ भनेर तपाईले नै प्रश्न गर्नुहुन्थ्यो । त्यस कारण विज्ञप्तिको कुरामात्र होइन, यसलाई निर्णायक बन्ने बनाउने विषयमा आन्तरिक पहलकदमी भइरहेको छ । त्यो पहल कदमीले चाँडै नै परिणाम दिन्छ ।

राष्ट्रिय मुद्दालाई दिशा दिने कुरामा काँग्रेस नेतृत्व अलमलमा छ । संसद, अदालत र एमसीसीको विषयमा किन निकास दिन सकिरहेको छैन ?

केपी ओली प्रधानमन्त्री छँदा प्रतिपक्षी र उहाँको बीचमा द्वन्द्व थियो कि थिएन ? तर संवैधानिक परिषदको एउटा बैठकमा बाहिरी जिल्ला जानु परेको बाहेक संवैधानिक परिषदको बैठकमा हाम्रो सभापति गइराख्नु भएको थियो । सर्वदलीय बैठकमा पनि नियमित गइराख्नु भयो । कुनै बेला एक्लै प्रतिपक्षी दलको नेतालाई भेट्न बोलाउँदै गर्दा किन गए शेरबहादुर देउवा भनेर आलोचना भयो । हामी त्यो ढंगको लचकता राख्छौं । अहिले जति राष्ट्रिय विषय भन्नु भएको छ । यी समग्र विषयमा जानका लागि सत्ता र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्छ । किन काँग्रेसको सभापति तथा सम्माननीय प्रधानमन्त्री बालकोट जानु भयो त ? किनभन्दा कमरेड केपी ओली बालकोटमा घुर्की लगाएर बसिरहनुभयो । हामी लचक भएर गयौं । उहाँ सर्वदलीय बैठकमा नआउने, एक्लै बोलाउँदा पनि नआउने, घरमा जाँदै गर्दा पनि हात मिलाउन हिच्किचाउने प्रवृत्तिले राष्ट्रिय राजनीतिलाई निकास दिँदैन । कुनै पनि विषयमा पक्ष र विपक्ष हुन सकिएला । तर छलफल त हुन सक्छ नि ! प्रतिपक्षले संवादहीनता राख्न खोजेको छ । मैले दुई चोटी भंग गरेको संसदलाई चल्नै दिन्न, यो चल्दै चल्दैन भन्ने खालको मानसिकता राख्ने कुराले यो ‘डेडलक’ भएको हो । राष्ट्रिय राजनीतिका सन्दर्भमा सत्ता पक्षले पहल गर्न खोजेन भन्ने होइन । तपाईले भनेका यही हरेक विषयमा पहल गर्न खोजेको छ । विपक्षी संसद खोलेर कुनै पनि विषय पक्ष र विपक्षमा उभिने कुरामा तयार नहुँदा राष्ट्रिय राजनीतिले निकास पाउन सकेको छैन । कमरेड केपी ओलीले दुई वटा कुरालाई स्मरण गरिदिए हुन्थ्यो । एउटा कुरा उहाँको कार्यकक्षमा सहिष्णुता कोमामा सुतिरहेको छ । त्यसलाई ब्युँझाइदिए हुन्थ्यो । देशको प्रधानमन्त्री भएको सहिष्णुतालाई आफ्नो कार्यकक्षमा सुताइदिएको सुहाएको छैन । दोस्रो कुरा, कुनै पनि विषयमा शक्ति पृथकीकरण सिद्धान्तले भनेको कुरा हामीले मानौं । संवैधानिक इजलासले संविधानको धारा ७६ को ५ लाई कार्यान्वयनमा लैजान परमादेश दिन्छ । उसले भनेको नमान्ने भए संवैधानिक इजलास किन बनाएको धारा ७६ को ५ किन लेखेको त्यसलाई पालना नगर्ने भए ? सभामुखलाई त्यो अधिकार किन दिएको, त्यो निर्णय नमान्ने भए ? विधि भित्रबाट भएको निर्णयलाई मान्ने विवेक र कोमामा सुताइएको सहिष्णुता दुई वटा कुरालाई ब्युँताइयो भने राजनीतिका सबै समस्या हल भएर जान्छ ।

काँग्रेसभित्र आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा मत विभाजित छ । काँग्रेसको संस्थापन पक्षका नेताहरु सत्ता गठबन्धनलाई चुनावसम्मै लिएर जान्छौं भनिराख्नु भएको छ । तर इतर पक्षका नेता काँग्रेस एक्लै चुनावमा जान्छ भनिराख्नु भएको छ । आगामी निर्वाचनमा काँग्रेस कसरी जान्छ ?

अहिले तत्काल राष्ट्रियसभाको निर्वाचन छ । हामी गठबन्धन गरेर गएका छौं । अहिले जहाँसम्मको विषय छ, त्यहीँसम्मको चर्चा गर्नुपर्छ । त्यो निर्वाचन कहिले हुनेछ र त्यो निर्वाचनमा हामी कसरी जाने छौं भन्ने कुराको सन्दर्भमा दृष्टिकोणहरु बन्न सक्छन्, निर्णय एउटा होला । तर मैले एउटा पोजिसन लिन राम्रो हुन्छ भन्ने विश्वप्रकाशले मान्यता राख्दैन । हामीभित्र एक्लै लडेर जानुपर्छ भन्ने जबरजस्त एउटा मत छ । सँगैमा हामी के कुराको हेक्का राख्दछौं भने अहिलेको गठबन्धन बन्दै गर्दा सहयात्री दलहरूको हितानुकुल आगामी निर्वाचनमा सँगसँगै जानुपर्छ भन्ने मत पनि जबरजस्त छ । काँग्रेसको कोणबाट मात्र सोच्ने होइन । सहयात्रा गर्छौं भन्नेहरूको विषयलाई पनि सम्बोधन गरौं भन्न सकिएला । अथवा हामी एक्लै लडेर बहुमत ल्याएर आउन सक्छौं भन्ने आकांक्षा छ । त्यसलाई कसरी सम्बोधन गर्ने सकिएला भन्ने विषयमा काँग्रेसले सार्वजनिक मञ्चमा टिप्पणी गर्नुभन्दा एउटा कोठामा काँग्रेसी बसेर छलफल गरौं । विश्वप्रकाश शर्माको मनमा के होला ? अर्को साथीको मनमा के होला । त्यसैका लागि त पार्टी छ । पार्टीको फोरम, केन्द्रीय कार्यसमिति संसदीय बोर्ड, कार्यसम्पादन त्यही छलफल गर्नका लागि न हो । पहिले पार्टीभित्र घनिभूत रुपमा छलफल गरेर साझा दृष्टिकोण आओस् भन्ने पार्टी पंक्तिको अपेक्षा छ ।

सभापति शेरबहादुर देउवाले बहुमतबाट भए पनि गठबन्धनसहित चुनावमा जाने खतरा देखेर नै पार्टीभित्रका अन्य नेताहरुले गठबन्धनको विपक्षमा बाहिरबाट जनमत निर्माण गर्न खोज्नु भएको हो कि ?

के भनेर बोल्नु भएको भन्ने कुरा भएन । बोल्ने कुरा स्वाभाविक छ । भित्र बोलेर साझा धारणा बनाएर जाँदा उचित हो भन्ने मैले सोचेँ । यो मेरो बुझाइ नै उचित हो भन्ने होइन नि । कुनै साथीलाई त्योभन्दा अगाडि नै बोल्नु उचित हो भन्ने लाग्ला ।

साथीको त्यो सोचलाई मैले उत्तिकै सम्मान गर्नुपर्छ । के कुरामा प्रस्ट हौं भने पार्टीमा सभापतिको दुई तिहाइ छ । अरु केही होइन भन्ने होइन । त्यो दुई तिहाइ सभापतिको मात्र हो, अरुको होइन भन्ने पनि होइन । कार्यसमिति भन्ने हुन्छ, संस्था भन्ने हुन्छ । संस्थागत निर्णय हुनुपूर्व सबैले सार्वजनिक रुपमा बोल्नु होला, कसैले नबोल्नु होला । तर पार्टीले ठीक समयमा ठीक निर्णय लिन्छ । रातोपाटी बाट 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS