काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज (ए३२०/३३० जहाजबाट परीक्षण उडान गरिने भएको छ । विमानस्थलको परीक्षण पूरा गरी व्यवसायिक सञ्चालनमा ल्याउने सन्दर्भमा सोमबार पर्यटन मन्त्रालयले प्राधिकरणसँग छलफल गरेको छ । सो क्रममा प्राधिकरणले प्रस्तुत गरेको योजना अनुसार परीक्षण उडानका लागि नेपाल एयरलाइन्सको ठूलो जहाज प्रयोग हुनेछ ।

प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन आजैबाट ‘मिसन भैरहवा विमानस्थल’ शुरु गरिएको छ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले पाएको छ । क्यालिब्रेसन फ्लाइटको जिम्मा पनि उसकै हो । उनका अनुसार एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।

यो काम पूरा गरेसँगै सोही कम्पनीबाट २४ जनवरीमा विशेषज्ञको टीम नेपाल आउँदैछ । सो टिमले २५ जनवरीबाट काम शुरु गर्नेछ । उक्त कम्पनीले दिएको अनुमानित मिति अनुसार १० फेब्रुअरी वा यस आसपासको दिनमा उपकरणजडित विशेष जहाज नेपाल ल्याइने छ । उक्त जहाजबाट यान्त्रिक उपकरणहरुले काम गरे–नगरेको अध्ययन गरिने छ । त्यसको एक/दुई दिनमै नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान गर्ने गरी कार्यतालिका बनेको ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।

‘हामी भैरहवा विमानस्थलको संचालनमा केन्द्रित भएका छौं,’ उनले भने, ‘त्यसकारण अब मिसन भैरहवा विमानस्थल नै नाम दिएर कामलाई तिब्रता दिन्छौं ।’क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने भएको छ । क्यालिब्रेसन फ्लाइटबाटै उपकरणहरुले काम गरे/नगरेको पत्ता लाग्ने ठाकुरले जानकारी दिए । क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका संचारदेखि उडान–अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे–नगरेको परीक्षण हुन्छ । यसअघि गत डिसेम्बरमै क्यालिब्रेसन उडानको तयारी गरिएको थियो । त्यसबेला प्राविधिक आएर अध्ययन गरेको र मौसम सफा भएपछि उडान गर्ने जानकारी पर्यटन मन्त्री प्रेम आलेले बताएका थिए ।

क्यालिब्रेसन र परीक्षण उडानपछि आन्तरिक उडान नयाँ धावनमार्गबाट

क्यालिब्रेसन उडान र परीक्षण उडानपछि यो विमानस्थल संचालनका लागि योग्य बन्ने छ । तर, तत्काल भने विदेशी उडान हुने छैन । अन्तर्राष्ट्रिय उडानमा जानु अगाडी कम्पनीहरुबाट ५६ दिनको समय राखेर प्रस्ताव आह्वान गर्नुपर्ने प्रावधान रहेको ठाकुरले जानकारी दिए । तर, परीक्षण सफल भएपछि आन्तरिक उडान भने नयाँ धावनमार्गबाटै गरिने छ ।

यस अवधिमा अध्यागमन, भन्सार, सेना, प्रहरी, ग्राउण्ड ह्याडिलिङसहित अन्य निकायले समेत आफ्नो संरचना तथा प्रविधि जडानको काम पुरा गरिसक्ने छन् । त्यसपछि भने गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा संचालन हुनेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले गरेको हो । आइसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो ।

७ वर्षपछि आयोजना पूरा हुने क्रममा

भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो । विमानस्थलको भौतिक संरचना निर्माणको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ । यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकले सहूलीयतपूर्ण ऋण सहयोग गरिरहेको छ ।

भैरहवामा ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तरराष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ ।

आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहेको छ । टर्मिनल भवन तथा आवश्यक टावरहरु निर्माणको काम सकिएको छ । अग्नी निवारण तथा जीवनोद्धार सेवाका लागि आधुनिक दमकल र एम्बुलेन्स सेवा खरीदको काम समेत पूरा भएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS