काठमाडौं । बेलायतका वैज्ञानिकलाई एउटा महत्वपूर्ण सफलता मिलेको छ । उनीहरुले एक्स-रे मेसिनमार्फत कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेका छन् । युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका वैज्ञानिकहरूले एक्स-रेको प्रयोग गरी कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेको डेली मेलले जनाएको छ । नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रोग्राम समेत भनिएको नयाँ परीक्षण विधिलाई सहजै पीसीआर उपलब्ध नभएको अवस्थामा प्रयोग गर्न सकिने छ ।

नयाँ परीक्षण विधिले पीसीआरभन्दा चाँडो भाइरस पत्ता लगाउन सक्ने समाचारमा उल्लेख छ । अर्थात् उक्त विधिमार्फत केही मिनेटमै कोभिड भए नभएको थाहा हुन्छ । त्यस्तै, यो विधि ९८ प्रतिशत सही रहेको पनि वैज्ञानिकहरूको भनाइ छ । ‘कोभिड-१९ लाई चाँडो र भरपर्दो तरिकाले पहिचान गर्न सक्ने मेसिनको खाँचो देखिँदै आएको छ,’ अनुसन्धानको नेतृत्व गरेका प्राध्यापक नईम रमजानले भने, ‘ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि यस्तो आवश्यकता झन महसुस गरिएको छ ।’

नयाँ प्रविधिबाट चाँडै नै कोरोना भाइरस पत्ता लगाउन सकिने भएपनि संक्रमणको शुरुआती चरणमा एक्स-रे मेसिनले कोभिड-१९ का लक्षण नदेखाउने हुँदा पीसीआर परीक्षण पूर्ण रुपमा विस्थापित गर्न नसक्ने पनि रमजानको भनाइ छ ।

‘संक्रमणको प्रारम्भिक चरणमा एक्स-रेमा कोभिड-१९ का लक्षण देखिँदैनन्,’ उनले भने, ‘यही भएर यो प्रविधिले पीसीआर परीक्षणलाई पूर्ण रुपमा प्रतिस्थापन गर्न सक्दैन भनेर बुझ्नुपर्छ ।’ ‘तर खासगरी पीसीआर सहजै उपलब्ध नभएको अवस्थामा यसले भाइरस नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ रमजानले थपे ।

तपाईको प्रतिक्रिया

RELATED POSTS