शाकाहारी हुनुका थुप्रै फाइदा हुनसक्छन् तर जब हड्डी र मांसपेशीको घनत्वको कुरा आउँछ तब शाकाहारीभन्दा मांसाहारी नै ठिक हुन्छ । हालै गरिएको एक अनुसन्धानका अनुसार मांसाहारीको तुलनामा शाकाहारी महिलामा हिप फ्र्याक्चरको खतरा ३३ प्रतिशतभन्दा बढी हुन्छ । बीएमसी मेडिसिन जर्नलमा प्रकाशित एक शोधमा शाकाहारी भोजन गर्ने महिलामा हिप फ्र्याक्चरको जोखिमसँग जोडिएका सम्भावनाबारे बताइएको छ ।
शोधका मुख्य लेखक तथा लिड्स युनिभर्सिटीमा स्कुल अफ फूड साइन्स एन्ड न्युट्रिशनका डक्टरेट अनुसन्धानकर्ता जेम्स वेबस्टरले यो अनुसन्धानले शाकाहारी हुन छोड्नुपर्ने तर्क नदिएको स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘कुनै पनि आहारसँग व्यक्तिगत परिस्थितिलाई बुझ्न आवश्यक छ । साथै, सन्तुलित स्वस्थ जीवनशैलीका लागि कस्ता पोषक तत्वको आवश्यक पर्छ भनेर पनि थाहा पाउनुपर्छ । जसरी मांसाहारले भिन्न भिन्न व्यक्तिलाई फाइदा वा हानी पुर्याउँछ, त्यसै गरी शाकाहार पनि भिन्न भिन्न व्यक्तिको हिसाबले राम्रो वा नराम्रो दुबै हुनसक्छ ।’

हड्डीलाई बलियो बनाउने पोषक तत्व शाकाहारी खानामा कम हुन्छ
अनुुसन्धानकर्ताका अनुसार बोटबिरुवामा आधारित खानालाई हड्डीको खराब स्वास्थ्यसँग जोडिएको छ । तर हालसम्म हिप फ्र्याक्चरको जोखिमसँग सम्बन्धित प्रमाण कम नै रहेको छ । यो शोध प्लान्ट बेस्ड डाइटका कारण हुने सम्भावित जोखिमलाई बुझ्न निकै महत्वपूर्ण छ । साथै यसमा खतरालाई कम गर्नका लागि के गर्न सकिन्छ भनेर पनि जानकारी दिइएको छ ।
यो शोधमा २० वर्षका बेला २६,३१८ महिलामाथि केन्द्रीत गरिएको छ । यी महिलालाई तीनवटा समूहमा बाँडिएको थियो – मासु खाने, माछा खाने र शाकाहारी । यी २० वर्षमा अनुसन्धानकर्ताले सहभागी यी महिलामध्ये तीन प्रतिशत महिलामा हिप फ्र्याक्चर भएको पाए अर्थात् ८२२ महिलाको हिप फ्र्याक्चर भयो । अनुसन्धानमा के तथ्य थाहा भयो भने सबैभन्दा बढी फ्र्याक्चर शाकाहारी महिलामा भएको थियो ।
Vegetarian Women Have 33 Percent Higher Hip Fracture Risk, 20-Year Study Findshttps://t.co/uqyH70nAKr pic.twitter.com/t25syGDFXW
— IFLScience (@IFLScience) August 12, 2022
यस्तो कसरी भयो ? शोधकर्ताका अनुसार शाकाहारी भोजनमा धेरैजसो प्रोटिन, क्याल्सियम र हड्डी र मांसपेशीलाई फाइदा पुर्याउने पोषक तत्व निकै कम मात्रामा पाइन्छ । मासु खानेहरुको तुलनामा शाकाहरीको औसत बीएमआई कम हुन्छ र यसै कारण उनीहरुमा हिप फ्र्याक्चरको जोखिम बढ्ने गर्छ ।
हाल यो अध्ययन महिलामा मात्रै गरिएको छ । पुरुषमा पनि यस्तै हुन्छ, यो थाहा पाउनका लागि अर्को एउटा शोधको आवश्यकता हुनेछ ।