Ang Sang Suki

काठमाडौँ — म्यानमारकी नेता आङ सान सुचीलाई यहाँको जुन्ता सरकारले थप ६ वर्षको कैद सजाय तोकेको छ । यसपटक उनलाई भ्रष्टाचार आरोपमा अदालतले दोषी ठहर गरेको हो । यससँगै अब सुचीको जेल अवधि १७ वर्ष पुगेको छ । सुचीले आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर घर बनाएको भन्दै आरोप लागेको थियो । उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुचीले आफूमाथि लागेका सबै आरोपको अस्वीकार गर्दै आएकी छन् ।

७७ वर्षीया नेता सुचीमाथि अदालतले सेनाविरुद्ध हिंसा भड्काएको र कोरोना विरुद्धको नियम उल्लंघन गरेको लगायतका मुद्दामा दोषी ठहर गरेको थियो । म्यानमामा २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि सुचीलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो ।

उनलाई देशद्रोह, भ्रष्टाचारसहितका मुद्दामा पनि दोषी ठहर गरिएको छ । यससँगै उनका सहयोगीमाथि पनि विभिन्न मुद्दा लगाइएको छ । म्यानमारमा २०२० को आम निर्वाचनमा सुचीको पार्टी ‘नेसनल लिग फर डेमोक्रेटिक’ ले वहुमत प्राप्त गरी सरकार बनाएको थियो । सुचीको पार्टीको जितसँगै सैन्य शासन अन्त्य भए पनि २०२१ मा फेरि सेनाले सत्ता कब्जा गरेको हो । यस क्रममा उक्त पार्टीका अधिकांश नेताहरूलाई पक्राउ गरिएको थियो ।

यसबीचमा म्यानमारमा सैन्य सरकारको विरोधमा विशाल प्रदर्शन भएका छन् । जहाँ सुरक्षाकर्मीको दमनको क्रममा २ हजारभन्दा धेरै मानिस मारिएको बताइएको छ । साथै १७ हजार मानिस पक्राउ परिसकेका छन् ।

गत महिना मात्रै जुन्ता सरकारले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का पूर्व सांसद फ्यो जेया थाउलाई आतंकवाद विरोधी कानुन अन्तर्गत अपराधका लागि मृत्युदण्ड दिएपछि म्यानमारको सैन्य शासनको चौतर्फी विरोध र आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS