काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरीनमाथि त्यहाँका प्रतिपक्षी दलका नेताहरूले लागुऔषध लिएको आरोप लगाएका छन् । रक्सी पिएर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विपक्षी दलबाट लागु औषध सेवन गरेको आरोप लागेको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो भिडियोलाई लिएर फिनल्याण्डमा विवाद सुरु भएको छ ।
विपक्षी नेताहरूले प्रधानमन्त्री सान्ना मारिनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको आरोप लगाउँदै परीक्षणको माग गरेका छन् । तर, मरीनले पार्टीमा मदिरा मात्र पिएको स्पष्ट पारेकी छिन् । साना मरीनले लागुऔषध सेवन गरेको कुरा अफवाह भएको बताइन् । उनले आफू परीक्षणका लागि तयार भएको प्रतिक्रिया पनि दिएकी छिन् । ‘म मेरा साथीहरूसँग थिएँ। हाम्रो पार्टी थियो,’ उनले भनिन्, ‘मैले नाचगान गरे पनि ड्रग्स कहिल्यै लिएको छैन। मसँग लुकाउन केही छैन। यो एक निजी भिडियो थियो। यसरी सार्वजनिक गर्नु हुँदैनथ्यो ।’
![](http://localhost/recentnews/wp-content/uploads/2020/06/GET-YOUR-SITE-LIVE-1.png)
आफ्नो भिडियो सार्वजनिक भएकोमा साना मरीन दुःख व्यक्त गरेकी छिन् । पहिलोपटक इन्स्टाग्राममा पोस्ट गरिएको उक्त भिडियोमा मानिसहरूले तीब्र प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यसलाई सामान्य भनेका छन् भने कतिपयले साना मरीन फिनल्याण्डको प्रधानमन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका छन् ।
एक प्रयोगकर्ताले भिडियोमा मरीनको समर्थनमा लेखेका छन्, ‘काम गरेपछि उनले पार्टी गर्न किन सक्दिनन् ? के तिनीहरू मानव होइनन् ?’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘प्रधानमन्त्रीको यस्तो व्यवहार स्वीकार्य छ ? मलाई लाग्छ- छैन ।’
यसअघि सन् २०२१ मा कोभिड महाव्याधिको बेला पार्टी गरिरहेको तस्बिर भाइरल भए पछि उनी विवादमा तानिएकी थिइन् । उक्त घटनामा मरीनले माफी समेत मागेकी थिइन् ।
हेर्नुहोस् भिडियो-