काठमाडौं । वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी एक जना महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् ।

आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर, अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत चिकित्सकले नै लापरवाही नगरेको र अप्रेशन गर्दा आइपर्ने जोखिम कम गर्न खोज्दा यस्तो घटना भएको बताउँछन् ।

पित्तथैलीमा परेको पत्थरी शल्यक्रिया गरेर निकालिसकेको र अब दाँतको पनि उपचार गरिदिने वीर अस्पताल प्रशासनले जनाएको छ ।
भएको के हो ? नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिइन् ।

चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा छिराएको थियो । तर, शल्यक्रिया गरेर फर्किंदा ओझाका अघिल्लो पंक्तिका तीनवटा दाँत थिएनन् ।

‘पित्तथैलीको अप्रेसन गर्दा बेहोस बनाउने क्रममा इन्टुबेसन (मुखबाट श्वासनलीमा पाइप राखी भेन्टिलेटरबाट कृत्रिम सास फेराउने प्रक्रिया) गर्नुपर्ने हुन्छ,’ डा. बस्नेतले अनलाइखबरसँग भने, ‘त्यसका लागि घाँटीबाट पाइप हाल्नुपर्छ । बिरामीको घाँटीको बनावट असहज भएकाले पाइप हाल्ने क्रममा यस्तो घटना भएको हो ।’

डा. बस्नेतले यो घटनालाई ‘डिफिकल्टी इन्टुबेसन’ भएको बताए । ‘इन्टुबेसन’ गर्नका लागि ‘ल्यारिङोस्कोपी’ गर्नुपर्ने हुन्छ । त्यो छिराउने क्रममा दाँत खुस्किएको रहेछ,’ डा. बस्नेतले थपे ।
‘कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने अन्य बिरामीलाई पनि थप जटिलताबाट जोगाउन खोज्दा यस्ता दुर्घटना हुन्छन् । ल्यारिङोस्कोपी नगरेको भए बिरामीको ज्यान जान सक्थो’ डा. बस्नेतले भने, ‘जुनसुकै काम गर्दा जटिलता आउने अवस्था हुन्छ । यसलाई ठूलो इस्यू बनाएर सर्वसाधारणमा भ्रम छर्ने काम भयो ।’

वीर अस्पताललाई बदनाम गर्न र बिरामीलाई निजीमा लैजान पल्केका केही मान्छेले यो सामान्य घटनालाई अनावश्यक उचालेको डा. बस्नेतको भनाइ छ । ‘बिरामीको ज्यान त गएको छैन नि । अप्रेशन बिगि्रएको छैन नि ?’ डा. बस्नेत प्रश्न गर्छन्, ‘तर, वीरलाई बदनाम गर्न बिरामी पक्षलाई उल्चाने काम भयो ।’

यस विषयमा आइतबार उपचारमा संलग्न चिकित्सकसँग थप छलफल गर्ने डा. बस्नेतले बताए । बिरामीको पत्थरी झिकिसकिएको र अब दाँतको पनि उपचार गरिदिने अस्पताल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS