Baburam Bhattarai

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नेसपा)ले सत्तारुढ गठबन्धनभित्र अध्यक्ष बाबुराम भट्टराई गोरखा – २ र मानुषी यमी भट्टराई काठमाडौं -७ सहित प्रत्यक्षतर्फ ६ स्थानमा दाबी गर्ने भएको छ । नेपसा निकट स्रोतहरूका अनुसार अर्का अध्यक्ष महिन्द्र राय यादवले सर्लाही-२ मा दाबी गरेका छन् । ‘दुवै अध्यक्षहरूलाई उम्मेदवार बनाउने विषयमा गठबन्धनभित्र अघोषित सामझदारी नै छ,’ स्रोतले भन्यो। त्यसैगरी नेसपाले नवलपारसी २ बाट गोविन्द चौधरी साथै सह अध्यक्ष गंगानारायण श्रेष्ठका लागि सिन्धुली र विश्वद्वीप पाण्डेका लागि रुपन्देही जिल्लाबाट उम्मेदवार बनाउने गरी दाबी गरिने भएको छ ।

यसअघि नै नेसपाले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ लिएर चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । नेसपाका २ जना सांसद रहेका छन् ।

२०७४ सालमा भट्टराई नयाँ शक्ति पार्टीबाट गोरखा २ बाट निर्वाचित सांसद हुन्। त्यसबेला नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्दै भट्टराईले नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । आगामी चुनावमा राष्ट्रिय सभाका सांसद रहेका श्रेष्ठले पनि गोरखाबाट चुनाव लड्ने दाबी गर्दै आएका छन् ।

महिन्द्र राय यादव भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को उम्मेदवारको रुपमा सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यसबेला राजपाले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी समाजवादी फोरमसँग गठबन्धन गरेको थियो ।

यसैबीच, नेसपाले केन्द्रीय सदस्य रहेकी मानुषीका लागि काठमाडौं क्षेत्र नं ७ मा दाबी गरेको छ । जुन क्षेत्रबाट मानुषीकी आमा हिसिला यमीले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएको थिइन् । तर २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट हिसिला पराजित भएकी थिइन् । गत महिना मात्रै जसपाबाट विभाजित भइ नेसपा गठन गरेका नेता भट्टराई र यादव नेसपाको तर्फबाट पहिलो पटक निर्वाचनमा भाग लिँदे छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS