Kathmandu

काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि ठूला व्यापारिक भवनहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।

महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् । बानेश्वको उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ ।

३५ दिने सूचनाको म्याद सकिएपछि अन्डरग्राउन्डमा राखिएका पसलर र स्टोर हटाउन मेयर बालेन साह आफैं सक्रिय छन् । यसले गर्दा जुनसुकै बेला महानगरको टोली आएर सामान निकाल्न समेत समय नदिई अवैध संरचना हटाउन सक्ने देखिएपछि व्यवसायहरु आफैं सक्रिय हुन थालेको नगर प्रहरीका एक अधिकारीले बताए ।

‘बानेश्वर क्षेत्रमा व्यवसायी र घरधनी आफैंले पसल र सामान हटाउन सुरु गरेका छन्,’ उनले भने । आजबाट महानगरले शंखमुल क्षेत्रमा पनि व्यवसायीलाई भूमिगत पार्किङको पसल हटाउन अल्टिमेटम दिएको छ । नगर प्रहरीले बारम्बार पुगेर निर्देशनमा भइरहेको प्रगतिको ‘फलोअप’ गरिरहेको ती अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS