Mahesh Basnet

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए ।

उनले केही मानिसले साथ दिए भन्दै कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिए । उनले भने, ‘नक्शापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौं भित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन । बस्न नालायक ठाउँ हुन्छ । भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ । मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ । मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस् ।’

नेता बस्नेतले संविधानमा दुईपटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग गरे। उनले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक हुने भन्ने नीति नै निर्माण गरेर जान आह्वान गरे । नेता बस्नेतले समानुपातिक तर्फ अनिश्चितकालसम्म अवसर दिने कुरा राम्रो नभएको जिकिर गरे । नेता बस्नेतले संक्रमणकालिन न्यायसम्बन्धी विधेयक पीडकमैत्री बनाउन खोजिएको आरोप लगाए । उनले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले भन्दै निर्वाचनमा प्रत्यक्षतर्फ नै ७० भन्दा बढी सिट जित्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया

RELATED POSTS