biggest_stars_of_Bollywood

भर्खरै बलिउड स्टार आमिर खानको फिल्म लालसिंह चड्ढा नराम्ररी असफल भयो । यस फिल्मबाट धेरै अपेक्षा थियो । तर, नतिजा निराशाजनक आयो । यो आमिरको लगातार दोस्रो फ्लप फिल्म हो । पछिल्लो पटक ठग्स अफ हिन्दुस्तान फ्लप भएको थियो । आमिर खानको सन् २०१७ मा आएको फिल्म सेक्रेट सुपरस्टारमा उनी चरित्र भूमिकामा थिए । दंगल उनको अन्तिम ब्लकबस्टर हिट थियो । आमिर खानमात्र होइनन् अहिले बलिउडका अन्य ठूला स्टारहरु सलमान खान, शाहरुख खान र अक्षय कुमारजस्ता कलाकारका फिल्म पनि हिट हुने निश्चित हुन छाडेको छ ।

१९९० को दशक देखिका यी हिट अभिनेताको स्टारडम घटेको हो कि भन्ने प्रश्न उठेको छ ।

ठूला स्टारले अमिताभ बच्चनको बाटो पछ्याउलान् ?

सन् १९९९ मा अमिताभ बच्चन अभिनित तीन फिल्म कोहराम, लाल बादशाह र सूर्यवंशम नराम्ररी फ्लप भए । यी तीनवटै फिल्ममा उनी मुख्य भूमिकामा थिए । एकवर्ष पछि, सन् २००० मा अमिताभ फिल्म मोहब्बतें मा एक चरित्र भूमिकामा देखिए । फिल्म ब्लकबस्टर हिट भयो । त्यसपछि उनका कभी खुशी कभी गम, आंखे, कान्टेजस्ता फिल्महरू आए । ती सबैमा उनी चरित्र भूमिका थिए र फिल्मले राम्रो व्यापार गरे ।

अहिलेका ठूला स्टारको मुख्य भूमिका रहेका फिल्महरु चल्न छाडे भने के तिनले पनि बच्चनले जस्तै चरित्र भूमिका गर्न थाल्लान् ?

अहिलेका ठूला बलिउड स्टारले समय समयमा चरित्र भूमिका पनि निभाउने गरेका छन् । सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म सेक्रेट सुपरस्टार हिट भयो । यस फिल्ममा आमिर मुख्य भूमिकामा नभई क्यारेक्टर रोलमा थिए भने जायरा वसीम मुख्य भूमिकामा थिइन् ।

सन् २०१६ मा प्रदर्शनमा आएका डियर जिंदगीमा शाहरुखको चरित्र भूमिका पनि धेरै रुचाइएको थियो । अघिल्लो वर्ष प्रदर्शनमा आएको अतरगी रेमा अक्षयकुमार सहायक भूमिका मै देखिएका छन् ।

बलिउड स्टारका आगामी फिल्म

यो वर्ष सलमान खानको फिल्म कभी ईद कभी दीवाली प्रदर्शनमा आउँदैछ भने अर्को वर्ष उनको चर्चित फिल्म श्रृङ्खला टाइगरको तेस्रो भागमा देखिँदैछन् । शाहरुख खानको यो वर्ष कुनै फिल्म रिलिज हुने छैन तर अर्को वर्ष तीन फिल्म आउँदैछ । सन् २०१८ पछि पाँच वर्षसम्म प्रमुख भूमिकामा नदेखिएका शाहरुख खानको अर्को वर्ष भने जवान, पठान र डंकी एकैवर्ष रिलिज हुँदैछ । त्यस्तै हरेक वर्ष धेरै फिल्ममा देखिने अक्षय कुमारको अर्को वर्ष पनि तीन फिल्म रिलिज हुने समय तालिका छ । त्यसमा रामसेतुबाहेक आय माय गड २ र हेरा फेरि ३ उनका अघिल्ला सफल फिल्मका सिक्वेल हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS