Putin

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले बताएको छ । मंगलबार ९१ वर्षको उमेरमा निधन भएका गोर्बाचेभको अन्त्येष्टि राजकीय सम्मानका साथ नगरिने पनि क्रेमलिनका प्रवक्ताले सङ्केत गरे । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका दिमित्री पेस्कोभका अनुसार पुटिनको व्यस्त कार्यसूचीका कारण उनी हाउस अफ युनियनमा हुने बिदाई समारोह तथा शनिबार नोभोडेभिची चिहानमा हुने अन्त्येष्टिमा भाग लिने छैनन् ।

‘दुर्भाग्यवश, राष्ट्रपतिको कार्यतालिकाले उनी अन्तिम संस्कारमा सहभागी हुने छैनन्,’ पेस्कोभले भने । पुटिनले यसअघि बिहीबार बिहान मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालको शोक हलमा गोर्बाचेभको पार्थिव शरीरमा फूल अर्पण गर्दै सोभियत नेतालाई श्रद्धाञ्जली दिएका थिए ।

सरकारी टेलिभिजनमा देखाइएको भिडियो फुटेजमा राष्ट्रपतिले गोर्बाचेभको शव राखिएको खुला कफिनमा रातो गुलाबको गुच्छा राखेको देखिन्छ । त्यसका साथै पुटिनले क्रसको चिन्ह बनाउँदै धेरै पटक झुकेका पनि छन् । सो फुटेजमा पहिलो पटक गोर्बाचेभको शव सार्वजनिक भएको छ ।

पेस्कोभका अनुसार पुटिन बिहीबार नै युरोपमा रहेको रुसी हिस्सा कालिनिनग्राद जाँदैछन् । त्यही अवसरमा उनले गोर्बाचेभको बिदाइ समारोहमा ‘गार्ड अफ अनर’ जस्ता राजकीय अन्त्येष्टिमा दिइने सम्मान नहुने बताए । पुटिनको शासनकालमा बितेका अर्का रुसी राष्ट्रपति बोरिस येल्तसिनलाई विशेष सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टिलाई राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिएको थियो ।

त्यसबेला प्रधानमन्त्री रहेका पुटिनले येल्तसिनको मृत्युको दिनलाई राष्ट्रिय शोकको घोषणा गरेका थिए । गोर्बाचेभले विभिन्न समयमा पुटिनले प्रजातान्त्रिक सुधार उल्ट्याएको र दमन गरेको भन्दै उनको कार्यशैलीको विरोध जनाउँथे गरेको उनको पुटिनसँग तनावपूर्ण सम्बन्ध थियो । पुटिनले पनि गोर्बाचेभका नीतिका कारण विघटित सोभियत संघको पतनलाई ‘शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप’ भन्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS