Jacqeline

२०० करोड भारुको मनी लन्ड्रिङ केसको आरोपपत्रमा प्रवर्तन निर्देशनालय (इडी) ले ठूलो खुलासा गरेको छ । मुख्य आरोपी सुकेश चन्द्रशेखरले नायिका ज्याकलिन फर्नान्डिसलाई घोडा, बिरालो र गहना मात्रै नभई नायिकाका लागि श्रीलङ्कामा एउटा घर पनि किनेको खुलासा भएको छ । यसका साथै, बहराइन र मुम्बईमा पनि एउटा–एउटा घर किन्नका लागि एड्भान्स दिइसकेका थिए । बहराइनमा ज्याकलिनका आमाबुवा बस्छन् ।

ईडीले आफ्नो आरोपपत्रमा ज्याकलिनलाई सुकेश ठग भएको कुरा थाहा थियो भनी दाबी गरेको छ । उनीविरुद्ध मुद्दा चलिरहेको छ । ज्याकलिनले श्रीलङ्कामा घर किन्ने कुरा सुकेशले बताएको स्वीकार गरिन् । तर, उनी त्यो घरमा कहिल्यै गइनन् । यो सम्पत्ति श्रीलङ्काको वेलिगामा रहेको बताइएको छ । यो श्रीलङ्काको प्रसिद्ध पर्यटकीय गन्तव्य हो ।

यसबाहेक जुहूमा बंगला पनि बुक गरिएको थियो । यति मात्र होइन, उनले ज्याकलिनका अभिभावकलाई बहराइनमा एउटा घर उपहार दिएका थिए । सुकेशले आफ्ना सहकर्मी पिंकी इरानीलाई यी सम्पत्ति खरिद गरेको जानकारी दिएका थिए । पिंकीलाई सुकेश र ज्याकलिनबीच मित्रता गराइदिने काम सुम्पिइएको थियो । यसको बदलामा पिंकीलाई करोडौं रुपैयाँ पनि दिइएको थियो ।

ईडीले भन्यो – ज्याकलिनले सबै कुरा थाहा पाएर पनि उपहार लिइन्

तर, यसअघि ज्याकलिनले अदालतलाई सुकेशको वास्तविक पहिचानबारे थाहा नभएको बताएकी थिइन् । उनले सुकेशलाई शेखरको नामबाट चिनेको र उनी एक चर्चित राजनीतिक परिवारका सदस्यको रुपमा चिनेको बताएकी थिइन् । तर इडीले ज्याकलिनले एक महिनाभित्र विभिन्न समाचारमार्फत् उनको वास्तविक नाम सुकेश चन्दं्रशेखर भएको र उनी एक ठग भएको थाहा पाएकी थिइन् तर पनि उनले उनीबाट महँगो उपचार लिइरहेको आरोप लगाएको छ ।

अगस्ट १७ मा पटियाला अदालतमा दायर गरिएको आरोपपत्रमा ज्याकलिनमाथि सुकेशबाट ५.७१ करोड भारु लिएको आरोप छ । इडीले दिएको जानकारी अनुसार सुकेशबाट उपहार लिने मामिलामा ज्याकलिन आफूलाई एक पीडितको रुपमा प्रस्तुत गरिरहेकी छिन् जबकी उनलाई सुकेशको कामबारे सबै थाहा थियो । इडीले ज्याकलिनलाई पनि यसमा सह–आरोपी बनाएको छ ।

उजुरीपत्रका अनुसार सुकेशले ज्याकलिनलाई मात्रै होइन उनका भाइ र बहिनीको भ्रमणमा पनि आर्थिक सहयोग गरेका थिए । इडीका अनुसार सुकेशले ज्याकलिनकी बहिनीलाई १ लाख अमेरिकी डलर र भाइलाई २,६७,४० अष्ट्रेलियन डलर उपहार गरेका थिए । यसबाहेक उनले नायिकालाई ५.७१ करोड भारुको उपहार दिएका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS