KP Oli

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले एमालेका कार्यकर्तालाई गँड्यौला जस्तो नभएर दुईवटा दाँत भएको जस्तो बनेर धाँधलीविरुद्ध उत्रन निर्देशन दिएका छन् ।

शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताएका थिए ।

यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्रमा ‘प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर’ हार घोषणा गराइएको नेता ओलीको आरोप थियो ।

‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईँहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईँहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु,’ अध्यक्ष ओलीले भने ।

यस्तै उनले नेकपा एमाले गँड्यौलाजस्तो नभएको तर दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताएका थिए । आगामी चुनावपछि नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यकता रहेको पनि उनको जिकिर थियो । आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘एमालेका नेता र कार्यकर्ता गँड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ । कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न । मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ ।’

सर्पलाई लक्षित गर्दै उनले दुईवटा दाँत भएको जस्तो बनेर डस्न तयार हुनुपर्ने बताएका हुन् । नेता ओली यसअघि पनि आफ्ना कार्यकर्तालाई अरिंगाल बन्नुपर्ने भन्दै निर्देशन दिएपछि विवादित बनेका थिए । एक साताअघि मात्रै ओली निकट नेताको रुपमा चिनिने महेश बस्नेतले पनि सशस्त्र रुपमा प्रतिवादमा उत्रन कार्यकर्तालाई उत्रन निर्देशन दिएका थिए । त्यसको परिणाम पार्टीले बेहोर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS