Baburam Bhattarai Nepali Politics

गोरखा — नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा सबै दलको साझा उम्मेदवार बनेर गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने चाहना रहेको बताएका छन् ।  गृहजिल्लामा शनिबार पत्रकारसँग कुराकानी गर्दै भट्टराईले पहिलेकै निर्वाचन क्षेत्र गोरखा २ बाट आगामी चुनावमा उम्मेदवार बन्ने घोषणा गरे ।

‘प्रत्येक दलको, व्यक्तिको आ–आफ्नो दाबी रहन्छ नै,’ उनले भने,‘गठबन्धन गरेर जाँदा अहिलेसम्मको हाम्रो बुझाई के हो भने जसले जहाँ जितेको हो, त्यस ठाउँबाट चुनाव लड्ने आन्तरिक अन्डरस्याट्न्डिङ छ, त्यसअन्तर्गत स्वत: २ नम्बर क्षेत्रबाट चुनाव लड्छु ।’ गठबन्धनबाट अन्तिम टुंगो लगाउन भने बाँकी रहेको उनले प्रस्ट्याए ।

गोरखालाई विकास र समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता भएकाले सबैको साथ सहयोग रहने भट्टराईले बताए । ‘देशलाई विकास र समृद्धिको दिशामा लैजाने अहिलेको आवश्यकता हो, गोरखालाई त्यसको मोडेल बनाएर जाने सोच छ,’ उनले भने,‘यसलाई हेर्दा पनि मेरो हैसियत, इतिहास, रुचीले पनि साझा उम्मेदवारको रुपमा अघि बढ्न चाहिरहेको छु, कांग्रेस, माओवादीको त अवश्य साथ रहन्छ, अन्य दलका साथीहरुले पनि एकपटक गोरखाको साझा प्रतिनिधिको रुपमा लिनुहुन्छ भन्ने विश्वास छ ।’

यस पटक दलविशेष, नेता विशेषको भन्दा पनि साझा ब्यक्तित्वको रुपमा प्रस्तुत हुने चाहना रहेको भट्टराईले सुनाए ।

सुशासन र समृद्धि थेगो जस्तो बनेकाले मार्गचित्र बनाएर अघि बढ्ने उनले बताए । ‘अर्थमन्त्री, प्रधानमन्त्री हुँदा केही काम गरेको छु, अवसर मिले अबको पाँच वर्ष देशलाई सुशासन र समृद्धिको मार्गचित्र बनाएर गोरखालाई मोडेलको रुपमा अघि सार्ने सोच छ,’ उनले भने,‘यही एजेन्डामा सबै दलले साझा उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुन्छ भन्ने विश्वास छ ।’ केही दिनमै गठबन्धन दलले तालमेलको टुंगो लगाउने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS