Prachanda

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकमात्र सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार पार्ने रहेको बताएका छन् । विद्यार्थी स्वयंसेवक राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई बुधबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनतादेखि आर्थिक समृद्धिको उचाइमा पुर्याउन माओवादी केन्द्र आगामी चुनावमा बलियो बनेर आउन जरुरी रहेको पनि बताए ।

‘अब आउने निर्वाचनमा यो देशको राजनीतिलाई यो देशको क्रान्तिकारी आन्दोलनलाई देश र जनताको आवस्यकता राष्ट्रिय स्वाधीनतादेखि आर्थिक समृद्धिको कुरालाई नयाँ उचाइमा पुर्याउनु छ’, प्रचण्डले भने, ‘त्यो नयाँ उचाइमा जबसम्म माओवादी केन्द्र बलियो भएर आउँदैन तवसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहिरहन्छ ।’ प्रचण्डले माओवादी आन्दोलनलाई बलियो बनाउन युवा विद्यार्थीहरुलाई विशेष अपिल पनि गरे । कार्यक्रममा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्माले नीति र नेतृत्वको रक्षाको कुरा उठाएको भन्दै भने, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’

प्रचण्डले शर्माका रक्षा र विकास गर्ने कुरामा आफ्नो ठुलो भूमिका रहेको बताए । सम्वोधनको अन्त्यमा भावुक बनेका प्रचण्डले भने, भ ‘म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, संविधान र गणतन्त्रको पनि नेतृत्व गरेँ । अब मेरो सपना के हो त भने राम्रो उत्तराधिकारी तयार हुन् । तिनले पार्टीलाई एकतावद्ध गरेर लैजाऊन् । तिनले तमाम क्रान्तिकारीलाई सहि स्कुलिङ गरुन् र हाम्रो क्रान्तिकारी विरासत र परम्परालाई अगाडि बढाउन ।’

प्रचण्डले नेता कार्यकर्तालाई उदारताका साथ ठुलो छाती लिएर अघि बढन आग्रह समेत गरे । ‘हजारौ र लाखौं उत्तराधिकारी तयार हुन् यही मेरो सपना छ’, प्रचण्डको भनाइ छ । कार्यक्रममा प्रचण्ड अघि बोलेका जनार्दन शर्माले आफु नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे भएको बताएका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु । तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो’, शर्माले अध्यक्ष प्रचण्डलाई भनेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS