Janardan Sharma

काठमाडौँ — नेकपा माओवादी केन्द्रको महासचिव दाबी गर्दै आएका नेता जनार्दन शर्माले बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा आफू संगठन विभाग प्रमुखको हैसियतमा सहभागी भएको बताएका छन् । यो भनाइपछि उनले अध्यक्ष पुष्पकमल दाहाललाई मन्चबाटै कटाक्ष गरेका थिए । बुधबार अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै पार्टीमा धेरैजना उपमहासचिव रहेको र आफू कार्यक्रममा संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित रहेको बताएका थिए । यो अभिव्यक्तिसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहालले तोकेको जिम्मेवारीलाई उनले स्वीकार नगरेको जस्तो देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भदौ ४ गते देव गुरुङलाई महासचिव घोषणा गर्दै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादवलाई उपमहासचिव घोषणा गरेका थिए । पार्टीमा महासचिव पदको दाबी गरिरहेका शर्माले अध्यक्ष दाहालको उक्त निर्णयमा चित्त नबुझेको भन्दै फरक मतसमेत राखेका थिए ।

कार्यक्रमका सञ्चालन गरेका अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले उपमहासचिव तथा अर्थमन्त्रीको हैसियतमा शर्मालाई सम्बोधन गर्न ड्यासमा बोलाएका थिए । ताली बजाएर उनको स्वागत गरेका सहभागीलाई रोक्दै शर्माले ताली मलाई तालीदेखि डर लाग्छ भन्दै कार्यक्रममा सम्बोधन सुरु गरेका थिए । ‘नगर मलाई गाली, गालीले मलाई दु:ख लाग्छ । सक्छौ भने आलोचना गर त्यसले मलाई रक्षा गर्छ,’ शर्माले भने ।

‘नेपालमा संघीय गणतन्त्रका क्रान्तिका नायक अध्यक्ष कमरेड प्रचण्ड तथा हाम्रा पार्टीका आदरणीय छैठौं ६ जना मध्येका एकजना उपमहासचिवज्यू म संगठन विभागका प्रमुखका रुपमा सम्बोधन गरिरहेको कुरा पनि जानकारी गराउन चाहन्छु,’ उनले भने । त्यसपछि उनले कार्यक्रमका अध्यक्ष तथा पार्टी अध्यक्षलाई सम्बोधन गरेका थिए । उनले भने ‘म संगठन विभागको प्रमुखको हैसियतले सम्बोधन गर्दै गरेको जानकारी गराउन चाहन्छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विद्यार्थी संगठन एजेन्डाविहीन भएको बताएका थिए । ‘विद्यार्थी संगठनको आजको सन्दर्भमा हाम्रो एजेन्डा के हो ? एजेन्डाविहीन अवस्थामा छन् आज क्रान्तिकारीहरु,’ शर्माले भने । शर्माले केही समयअघि पार्टीको महाधिवेशन भएको त्यसमा पार्टीकै समग्र एजेन्डामा छलफल भए पनि आफूले त्यो सबै अहिले बिर्सिसकेको भन्दै अध्यक्षलाई कटाक्ष गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS