काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजातन्त्रको निर्दलीय पञ्चायत र गणतन्त्रणकालमा कम्युनिस्ट शासन एउटौ भएको आरोप लगाएका छन् । सरकारको विरोधमा काँग्रेसले काठमाडौंमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली जनता जागरणको अवस्थामा पुगेका भन्दै अब कम्युनिस्ट शासन समाप्त हुने दाबी गरे ।

‘राजाको निर्दलीय पञ्चायतको समयमा रुख रोप्दा हाम्रो टाउको फुटेको थियो,’ पौडेलले भने, ‘अहिले गणतन्त्रणकालमा कम्युनिस्टले शासन चलिहरँदा पुल बनाउँदा हाम्रो करङ भाँचिएका छन्।’

कम्युनिस्ट सरकारले सत्ताको घोर दुरुपयोग गरेको आरोप उनले लगाए। यस्तै भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको र केहीलाई खतमाफ दिने अड्डा बनेको पौडेलको आरोप छ ।

‘जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयंम अगाडि सरेर यो मन्त्री त चोखै छन्, मन्त्री त निर्दोष छन् । यो मन्त्रीलाई केही हुँदैन भनेर अख्तियातिर इसारा गर्छन् । अनि अख्तियार त्यो केसलाई मुल्तबीमा राख्छ । सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?,’ पौडेलको प्रश्न छ ।

पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि सबै निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेको बताए । ‘गोकर्ण, यति, वाइडवडीदेखि ओम्नीसम्मका भ्रष्टाचारका कुरा आएका छन,’ पौडेलले भने, ‘कम्युनिस्ट पार्टीका बहुमत नेताले यो सरकार भ्रष्टाचारी भनिसकेको छन्। अब हामीले आरोप लगाउन पर्दैन, उनीहरुकै सचिवालयको बहुमत सदस्यले यही भनेका छन्।’

ट्रान्परेन्सी इन्टरनेसनले पनि यसलाई पुष्टि गरेको उनले आरोप लगाए। आफूहरु दूधले नुहाएको छौं नभन्ने भन्दै उनले आफैंले अख्तियारको कानुन प्रस्ताव पेस गरेर त्यही कानुनअनुसार हत्कडी लगाएको दृष्टान्त पेस गरे । पौडेलले भने, ‘हामी पनि दूधले नुहाएको छैनौँ तर कानुन बनाएर हाम्रा पनि मन्त्री भइसकेका नेता जेल गएका छन्। जुन मन्त्रीका तर्फबाट अख्तियारको कानुन पेस भयो सोही मन्त्री भ्रष्टाचारमा नेपाली काँग्रेसकै नेता गए।’

प्रधानमन्त्रीले सबै मन्त्रीको बचाउ गर्ने गरेको पनि भन्दै उनले आलोचना गरेका थिए। ‘मन्त्रीले भ्रष्टाचार गरेको कुरा आउँछ अनि प्रधानमन्त्री आफै अगाडि आएर केही गरेको छैन भन्छन्। अनि अख्तियारले तामेलीमा राख्छ,’ पौडलले भने, ‘अनि कसरी न्याय र संवैधानिक निकायको धज्जी उठाइँदैछ। कम्युनिस्टको एउटा वर्ग छ जसलाई कानुन लाग्दैन यो अवस्था अहिले निर्माण भएको छ।’

कार्यक्रममा केन्द्रीय सदस्य नविन्द्रराज जोशी डा. डिला संग्रौला, सांसद भीमसेनदास प्रधानलगायतले पनि सरकारको चर्को आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया

RELATED POSTS