संसद विघटन प्रकरणपछि नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले अत्यन्तै गम्भीर मोड लिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच सोमबार साँझ छलफल भएको छ । प्रधानमन्त्री र गृहमन्त्रीबीच करिब साढे २ घण्टा छलफल भएको गृहमन्त्री बादलको सचिवालयले पुष्टि गरेको छ । बादल ओलीलाई भेट्न साँझ ६ बजे पुगेका थिए भने राति साढे ८ बजेतिर फर्किएका थिए ।

नेकपा विभाजनकै निकट पुगेको बेला ओली र बादलबीच के छलफल भयो भन्नेबारे स्पष्ट नखुलेपनि उनलाई आफूतिर तान्न ओलीले प्रयास गरेको बुझिएको छ । पूर्वमाओवादी निकट बादल पछिल्लो समय ओलीनिकट भएको बताइँदै आएपनि आज बिहान ओलीले निवर्तमान सांसदहरुको भेलामा सहभागी भएका थिएनन् । अर्का मन्त्री तथा नेकपा नेता लेखराज भट्ट भने ओलीले बोलाएको बैठकमा सहभागी भएका थिए । भट्टपनि पूर्वमाओवादी खेमाबाट टाढिएर ओलीतिर लागेका हुन् । उसो त ओलीकाे कदमको विरोध गर्दै प्रचण्ड-माधव नेपाल समूहका ७ मन्त्रीले आइतबार राजीनामा दिँदा बादल र भट्टले भने दिएका छैनन् ।

बादल अन्तिममा कोतिर लाग्लान् भन्नेमा चासो बढ्दै गर्दा मोहन वैद्यबाट विद्रोह गरेर तत्कालीन माओवादीमा आउने उनी निकटका नेताहरुले प्रचण्ड समूहतिरै रहेका छन् । सो समूहका नेताहरुले बादललाई ओलीतिर नलाग्न दवाव दिँदै आएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS